शुक्रबार, ८ चैत, २०७५ Friday, 22 March, 2019

केदारनाथको शिर डोलेश्वर मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो

प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको छ ।
महाशिवरात्री पर्वको अवसरमा भक्तपुरको ढोलेश्वर मन्दिर परिसरमा भक्तजन । तस्वीर : रोशन सापकोटा,रासस

भादगाउँ । महाशिवरात्रीको पर्वको अवसरमा आज भक्तपुरको सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीको ठूलो घुइँचो लागेको छ । 

प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा यहाँ भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको छ । महाशिवरात्रीको अवसर पारेर आज भक्तजनका लागि दर्शन गराउन मन्दिरको चारै ढोका बिहान ४ बजेदेखि खुला गरिएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ । 

आजको दिन बिहानै नुहाइधुवाई गरी चोखो लुगा लगाएर महादेवलाई तामाको लोटाबाट गङ्गाजल, गाईको दूध र सख्खरले स्नान गराइ फलफूल, मिठाइ, धतुरो र बेलपत्र चढाउने परम्परा छ । महाशिवरात्रिको दिन महादेवलाई पूजा गर्नाले घरमा सुख, शान्ति र पारिवारिक समृद्धि बढ्ने भन्ने धार्मिक विश्वास छ । 

त्यसैगरी अविवाहित महिलाले महादेवको पूजा गर्नाले राम्रो वर पाउने धार्मिक विश्वास छ । महाशिवरात्रिको अवसरमा आज विहानैदेखि डोलेश्वर मन्दिरलगायत भक्तपुरको आशापुरी महादेव, यातु महादेव, अन्नतलिङ्गश्वर, मङ्गलेश्वर र दत्तात्रय मन्दिरमा समेत दर्शनार्थीको ठूलो घुइँचो लागेको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा