शुक्रबार, ८ चैत, २०७५ Friday, 22 March, 2019

महोत्सवमा एकै दिन पाँच लाखको टिकट बिक्री

नेपाल चेम्वर अफ कमर्शले जिल्लाको दिपायलमा आयोजना गरेको प्रादेशिक महोत्सवमा एकै दिनमा रु पाँच लाखभन्दा बढीको टिकट बिक्री भएको छ ।
फाइल फोटो / वेब

डोटी । नेपाल चेम्वर अफ कमर्शले जिल्लाको दिपायलमा आयोजना गरेको प्रादेशिक महोत्सवमा एकै दिनमा रु पाँच लाखभन्दा बढीको टिकट बिक्री भएको छ । 

यही फागुन १७ गतेदेखि शुरु भएको उक्त महोत्सवमा शनिबार एकै दिनमा महोत्सवस्थल भरिभराउ भएपछि आयोजकले केही समयका लागि टिकट बिक्रीमा समेत रोक लगाएको थियो । महोत्सवको आकर्षणका रुपमा रहेका रमेशराज भट्टराईलाई हेर्न हजारौँ दर्शक महोत्सवस्थल पुगेका थिए । भट्टराईले ‘बेहुला बनाउँथे भन्थी बहुँला बनाएर गई’ भन्ने बोलको गीत गाउँदा महोत्सवस्थल पूरै रमेको थियो । त्यस्तै नेपाली हास्य टेलिशृङ्खलाका कलाकार जिग्री र पाण्डे पनि अतिथि कालाकारका रुपमा कर्यक्रममा सहभागी भएका थिए । जिग्री र पाडेले दर्शकलाई हसाउनुका साथै नचाएका पनि थिए । महोत्सव आयोजकका अनुसार आठ दिनमै करीब रु १५ लाखको टिकट बिक्री भएको छ । 

उक्त महोत्सव क्षेत्रमा आयोजकले सञ्चालन गरेको निःशुल्क आँखा तथा स्वास्थ्य शिविरबाट हालसम्म ५०० भन्दा बढी बिरामीले सेवा लिएका र ८० भन्दा बढीले निःशुल्क चश्मा पाएको आयोजक चेम्बरका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिनुभयो । उहाँका अनुसार आँखाका ३० भन्दा बढी बिरामीको शल्यक्रियाका लागि जिल्ला बाहिर सिफारिश गरिएको छ । 

त्यस्तै सीतारम कट्टेल र कुञ्जना घिमिरेको धुर्मुस सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्न लागेको गौतमबुद्ध अन्तराष्ट्रिय खेलमैदानका लागि करीब रु १३ हजारसमेत सङ्कलन भएको उक्त संस्थाका कार्यालय प्रमुख गौतम रोकायाले जानकारी दिए । 

महोत्सव यही फागुन २७ गतेसम्म सञ्चालन हुनेछ । महोत्सव अवलोकनका लागि छिमेकी जिल्ला कैलाली, कञ्चनपुर, डडेल्धुरा, अछाम, बझाङ, बाजुरा तथा बैतडीका बासिन्दा पनि आएको चेम्बरका प्रेस सल्लाहकार रोजेन्द्र जोशीले बताए । 

ठेकेदारले उखेले दिपायलका सौर्यबत्ती 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायलमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले उखेल्न थालेका छन् । आफूहरुसँग गरिएको सम्झौताअनुसार रकम नदिएको भन्दै सरकारी अनुदानमा दिपायलको पिपल्ला बजारमा जडान गरिएका सौर्यबत्ती ठेकेदारले उखेल्न शुरु गरेका हुन् । 

पिपल्ला बजारमा जडान भएका ३० सौर्यबत्तीमध्ये सात बत्ती झिक्न लागेको मनिङसन कम्पनीका ठेकेदार वेदप्रकाश कठायतले बताए । उनले भने, “दिपायल सिलगढी नगरपालिकाले हामीले जडान गरेका सात बत्तीको रु सात लाख लामो समय बित्दा पनि नदिएपछि झिक्न थालेका हौँ ।” 

दिपायल सिलगढी नगरपालिकाका कार्यालयका तत्कालीन प्रमुख तुलसीप्रसाद आचार्यले उक्त कम्पनीसँग सम्झौता गरेको र त्यतिबेला रकम भुक्तानी नभएको र उनी सरुवा भएर अन्यत्र गइसकेपछि पुरानो रकम भुक्तानी गर्न कठिन भएकाले रकम नदिएको नगरप्रमुख मञ्जु मलासीले बताए । उनले भने, “समयमै काम सम्पन्न नगरी बिल भरपाई नदिएकाले त्यो बेला भुक्तानी दिइएनन्, अहिले हामीसँग रकम छैन, कहाँबाट दिने ।” जिल्ला उद्योग वाणिज्य सङ्घसँग २०७३ फागुन १७ मा नगरपालिकाले रु ३० लाखमा ३० पोलमा सौर्यबत्ती जडानका लागि कार्यादेश दिएको थियो । त्यसपछि सङ्घले उक्त काम २०७३ फागुन ६ गते मनिङसन नेपाल कम्पनीलाई जडानका लागि ठेक्का दिएको थियो । 

कम्पनीले काम गरेवापत दुई पटकको किस्ता गरी रु २३ लाख भुक्तानी पाइसकेपछि अन्य रकम उद्योग वाणिज्य सङ्घलाई नै नगरपालिकाले नदिँदा ठेकेदारलाई दिन नसकिएको सङ्घका पूर्वअध्यक्ष नरेन्द्र खड्काले बताए । ठेकेदारले बत्ती भिक्न लागेपछि बजार अन्धकार हुने भन्दै दिपायलका बासिन्दा दुःखी हुन थालेका स्थानीयवासी रामबहादुर विष्टले बताएका थिए । उनले भने, “बत्तीले बजार उज्यालो भइरहेको थियो, अब उखेलेपछि अन्धकार हुने भयो ।” 

निमित्त प्रमुख जिल्ला अधिकारी टेकनारायण पौड्यालले ठेकेदारलाई तत्काल बजारमा भएका सौर्यबत्ती नउखेल्न आग्रह गरिएको जानकारी दिए । उनले भने, “नागरिकलाई समस्या पर्ने भएकाले बत्ती नउखेल्न आग्रह गरेको छु, ठेकेदारले पाउनुपर्ने नियमसङ्गतको रकम भुक्तानीका लागि सम्बन्धित निकायमा पहल गर्नेछौँ ।” सौर्यबत्तीका कारण रातिको समयमा झिलिमिली हुने प्रमुख व्यापारिक केन्द्र पिपल्लाबजार अब अन्धकार हुने भएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा