बिहीबार, ९ जेठ, २०७६ Thursday, 23 May, 2019

घरमै थन्किए करौडौँको अलैँची, निराश बन्दै कृषक 

“विगतमा राम्रो आम्दानी हुनेजस्तो देखिएपछि गाउँका अन्य साथीलाई अलैँची लगाउने सल्लाह दिएँ तर अहिले तिम्रो कारण भात खाने खेत मासियो, आम्दानी छैन भनेर गाली गर्न थालेका छन् ।”

– युवराज विष्ट,

भोजपुर । अलैँचीको मूल्यमा भारी ह्रास आएसँगै जिल्लाका अलैँची कृषक निराश बन्दै गएका छन् ।

मूल्यमा गिरावट आएपछि किसानका अलैँची अहिले घरमै थन्किएको छ । आम्दानीको मुख्य आधार बनाउँदै आएका अलैँची कृषकले विगतको तुलनामा ७० प्रतिशतभन्दा बढीले मूल्यमा गिरावट आएको बताएका छन् । 

मूल्य घटेपछि अहिले ठेकेदारले प्रतिमन रु २० देखि २५ हजारमा अलैँची माग्ने गरेकाले आफूले अहिलेसम्म पनि अलैँची बिक्री नगरेको टेम्केमैयुङ गाउँपालिका–४ नागीका कृषक जयकुमार राईले बताए । उनले भने, “अलैँचीबाट विगतमा राम्रो मूल्य पाएपछि हौसिएर धान खेतमा अलैँची लगाएँ तर अहिले बजारमा मूल्य छैन भन्दै ठेकेदारले प्रतिमन २० देखि २५ हजारमा माग्छन्, अब त्यही मूल्यमा दिने हो भने आफ्नो परिश्रम नै उठ्दैन, त्यही भएर मजस्ता यस ठाउँका धेरै कृषकले अहिले पनि अलैँची बिक्री गरेका छैनन् ।” 

गाउँका धरै कृषकले आफ्नो सल्लाहानुसार अलैँची लगाएको बताउँदै उनले भने, “विगतमा राम्रो आम्दानी हुनेजस्तो देखिएपछि गाउँका अन्य साथीलाई अलैँची लगाउने सल्लाह दिएँ तर अहिले तिम्रो कारण भात खाने खेत मासियो, आम्दानी छैन भनेर गाली गर्न थालेका छन् ।”

राईले तीन बगानमा गरी करीब १५० रोपनीमा अलैँची लगाउनुभएको छ । उनले भने, “साविकको जिल्ला कृषि विकास कार्यालय (हाल कृषि ज्ञान केन्द्र) ले हामीलाई धेरै सहयोग गरेको छ, त्यसको कारणले पनि यसको खेतीमा लागियो तर मूल्य नपाउँदा असाध्यै गाह्रो भएको छ । यसका लागि सरकारले पनि ध्यान दिनुपर्‍यो ।” 

टेम्केमैयुङ–५ खावा चोलन्तीका कृषक चक्रबहादुर विष्टका अनुसार सो क्षेत्रका १०० भन्दा बढी कृषकले अहिले पनि अलैँची बिक्री गर्न सकेका छैनन् । विष्टले भने, “गत वर्ष हामीले प्रतिमन ३४ हजार ५०० मा बेच्याैँ तर यो साल २० देखि २५ हजारमा माग्छन्, त्यही भएर हाम्रो क्षेत्रमा उत्पादन भएको १५० मन बढी अलैँची बिक्री भएको छैन ।” अहिले मूल्यको कारण अलैँची कृषक निराश बनेको बताउँदै उनले भने, “यसको खेतीमा दिनानुदिन कृषकको सङ्ख्या बढिरहेको छ तर के गर्नु यस्तै मूल्य हो भने आफ्नो श्रम पनि उठ्दैन ।” अधिकांश कृषकले धानखेती हटाएर अलैँची लगाएका छन् । 

स्थानीय व्यापारी दिनेशकुमार राईले भने, “अलैँचीको उत्पादनमा वृद्धि भए पनि मूल्य नपाउँदा हामीलाई पनि समस्या छ, गाउँगाउँमा गएर संकलन गर्‍यो, बजारमा मूल्य छैन, मसँग पोहोरकै अलैँची अहिलेसम्म पनि स्टक छ ।” वर्षेनी मूल्यमा गिरावट आएका कारण कृषकसँगै व्यापारी पनि मारमा परेको राईले बताए । ‘‘भोजपुरमा सङ्कलन गरेको अलैँचीको बजार भनेको झापाको बिर्तामोड हो, त्यहाँभन्दा बाहिर हाम्रो पहुँच पुग्दैन, मूल्यमा घटबढ भएका कारण कुनै बेला किनेकै मूल्य पनि दिनुपर्ने अवस्था छ”, उनले भने ।

कृषि ज्ञान केन्द्रका अनुसार गत वर्षको तुलनामा यस वर्ष अलैँचीको उत्पादनमा आठ मेट्रिकटनले वृद्धि भएको छ । गत वर्ष १९२ मेट्रिकटन अलैँची उत्पादन भएकामा यस वर्ष वृद्धि भएर २०० मेट्रिकटन पुगेको कृषि ज्ञान केन्द्र कार्यालयका कृषि प्राविधिक युगमणि भट्टराईले जानकारी दिए । उनले भने, “यस जिल्ला अलैँची उत्पादन वर्षेनी बढिरहेको छ भने क्षेत्र पनि विस्तार भएको छ तर मूल्यको कारण किसान निराश छन्, जिल्ला धेरै कृषकले अहिलेसम्म पनि अलैँची बिक्री गर्न सकेका छैनन् ।” 

 जिल्लामा अहिले ६५० हेक्टर क्षेत्रमा अलैँची खेती भइरहेको र अझै करीब एक हजार हेक्टर क्षेत्रफलमा विस्तार हुने चरण रहेको प्राविधिक भट्टराईले जानकारी दिए । उनका अनुसार जिल्लामा अलैँचीको विस्तारका लागि छ पकेट, दुई ब्लक र छ स्थानीय तहको ३० वडामा अलैँची क्षेत्र कार्यक्रम सञ्चालन भइरहेको छ । 

जिल्लामा राम शाही, गोल शाही, डम्बर शाहीले जिर्मले जातको अलैँची हुने खेती गरेका छन् । भोजपुरका दोभाने, कुदाककाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ वासिङ्गथर्पु, तिम्मा हेलौछा, गुप्तेश्वरलगायत १७ भन्दा बढी ठाउँमा मुख्य रूपमा अलैँची उत्पादन हुन्छ । 

ज्ञान केन्द्रको तथ्याङ्कानुसार मुख्य क्षेत्रका एक कृषकले वार्षिक १५/१६ मनभन्दा बढी अलैँची उत्पादन गर्छन् । पहिलेको मूल्यानुसार तुलना गर्ने हो भने एक कृषकले अलैँची बेचेरै रु २० लाखभन्दा बढी आम्दानी गर्थे । हाल चलेको मूल्यअनुसार भने एक कृषकलाई रु दुई/चार लाख लिन पनि गाह्रो रहेको छ । 

चार वडा चिराइतो मुख्य क्षेत्र 
जिल्लाका दुई स्थानीय तहका चार वटा वडालाई चिराइतो मुख्य क्षेत्र बनाइने भएको छ । जडीबुटी खेतीका लागि राम्र्रो क्षेत्र मानिएका टेम्केमैयुङ्ग –१ तिम्मा, ५ खावा र भोजपुर नगरपालिका ३ गुप्तेश्वर र ४ सिद्धेश्वरलाई चिराइतो मुख्य क्षेत्र बनाइँदैछ ।

चालु आवको सबैभन्दा बढी लगानी जडीबुटीमा खर्च गर्ने योजना बनाएर काम थालिएको डिभिजनल वन अधिकृत हेमन्तप्रसाद साहले जानकारी दिए । जिल्ला जडीबुटी फोकल समितिको निर्णयानुसार आम्चोक र हतुवागढी क्षेत्रमा टिम्बुर खेतीका लागि मुख्य क्षेत्र बनाइएको छ ।

यसका लागि चिराइतो, सतुवा, तेजपात, लोठ सल्ला, खिरौला, टिमुरलगायत जडीबुटीमा बढी लगानी गर्न लागिएको कार्यालयले जनाएको छ । स्थानीय तहमा रहेका सामुदायिक, कबुलियती र साझेदारी वनलाई लक्ष्य गरेर खेती गर्न लागिएको साहले बताए ।

कार्यालयले जडीबुटीको बिरुवा उत्पादन, भण्डारण र बजारीकरणका लागि अनुदान सहयोग दिने जनाएको छ । कृषकको माग र आवश्यकताका आधारमा अनुदान दिन लागिएको हो । साथै, सहकारीसँंगको सहकार्यमा जडीबुटी सङ्कलन केन्द्र समेत स्थापना गरिने भएको छ । यस वर्ष भोजपुरबाट ५७ हजार केजी चिराइतो निकासी भएको छ ।

त्यस्तै, सतुवा तीन हजार ५०० र अर्घेली १० हजार केजी निकासी भएको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ । मूल्यमा उत्तरचढाव आए पनि यसको खेतीमा भने वृद्धि नै हुँदै आएको वन कार्यालयले जनाएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा