बुधबार, ११ बैशाख, २०७६ Wednesday, 24 April, 2019

सुख, शान्ति र आपसी सद्भावको प्रतीक होली पर्व

आपसी वैमन्स्यतालाई बिर्सेर एक अर्कासँग खुशी साटासाट गर्दै एकापसमा मिलेर सुख शान्तिको कामना गरी मनाउनु नै यो पर्वको मुख्य विशेषता हो ।
प्रतिनिधिमुलक फाइल फोटो : मार्टीन ब्राउन

–प्रभाषचन्द्र झा,     
पोखरा । असत्यमाथि सत्यको जित, आपसी सद्भाव र सामाजिक एकताको सन्देश पस्किने पर्व होली समस्त हिन्दूधर्मालम्बी उत्साहका साथ मनाउन जुटेको छ । 

आपसी वैमन्स्यतालाई बिर्सेर एक अर्कासँग खुशी साटासाट गर्दै एकापसमा मिलेर सुख शान्तिको कामना गरी मनाउनु नै यो पर्वको मुख्य विशेषता हो । होली पर्वको मुख्य उद्देश्य सुख, शान्ति र आपसी सद्भाव हो ।

यस उद्देश्यलाई आम नेपालीले पर्वमै सीमित नराखी आफ्नो जीवनशैलीमा उतार्न सक्यो भने नेपालले देखेको सुन्दर, शान्तको सपना पूरा हुनुका साथै पर्वको सार्थकता पनि प्रमाणित हुन्थ्यो । तर, पर्वको आपसी सद्भावको सन्देशलाई नेपालीले कहिले आफ्नो जीवनको मूलमन्त्रको रुपमा ग्रहण गर्नेछ भन्ने विषय अनुत्तरित छ ।

यस पर्वमा ‘होलिका’को दहन हुन्छ । होलिका को थिइन् ? यसको दहन किन गरिन्छ ? प्रत्येक वर्ष होलिकाको प्रतिमूर्ति दहनको माध्यमबाट समाजलाई पर्वले के सन्देश दिन खोजिएको हो । यस विषयमा गहिरिएर विचार नगरी मात्र मीठो खाने, रङ्ग खेल्ने र गीत गाएर मनोरञ्जन मै सीमित रह्यो भने पर्वको मूल उद्देश्यमाथि नै चोट पर्छ ।

दैत्यराज हिरण्यकश्यपकी बहिनी होलिकालाई आगोमा नजल्ने बरदान ब्रह्माबाट प्राप्त भएको थियो । बरदानको सदुपयोग गर्नुका सट्टा कसैलाई जिउँदै जलाएर मार्नका लागि उनले बरदानको दुरुपयोग गरेको थियो ।

शक्तिको दुरुपयोग गर्ने, हिंसा गर्ने, अर्कालाई कष्ट पु¥याउनेजस्ता गलत क्रियाकलापलाई अन्त्य गर, अर्थात आफ्नाभित्र रहेका ‘होलिका’ मानसिकतालाई जलाएर अन्त्य गर्नु र अवदेखि असल मानव बन्नुनै उद्देश्य राखेर प्रत्येक वर्ष फागुन पूर्णिमाका दिन होलिका दहन गर्ने गरिएको हो ।

हामी समस्त नेपालीले एक अर्काको मान सम्मानको आदर गर्ने र मुलुकमा सुख, शान्ति र समृद्धिका लागि दृढसङ्कल्पित हुने बचनवद्धता प्रकट गर्नसक्यो भने होलीलगायत विभिन्न धर्म र समुदायले समाजको हितका लागि मनाउने गरेका पर्वका उद्देश्य सफलिभूत हुनुका साथै असल र सभ्य समाजको निर्माण हुनेछ ।

परापूर्वकालदेखि पर्वको माध्यमबाट प्राप्त शान्तिको सन्देशलाई सकारात्मक सोचाइका साथ राष्ट्र निर्माणमा लगाउन सक्यो भने पर्वको वास्तविक पहिचान स्थापित हुन्छ ।

जनताका चाहनालाई परिपूर्ति गर्नका लागि अब सुख, शान्ति, विकास र सुशासनतर्फ अग्रसर हुनुपर्ने समय हो । अब अधिकारको नाममा हिंसा, हत्या, लुटपाटबाट राष्ट्रलाई मुक्त गरी होली पर्वको सन्देशलाई सार्थक बनाउनुपर्ने आजको आवश्यकता हो ।

राष्ट्रिय एकता र मुलुकको विकासका लागि सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यलाई पूरा गर्नमा पनि होली पर्वको सन्देशले महत्वपूर्ण भूमिका खेल्न सकिन्छ । समाजका प्रत्येक वर्ग एकापसमा मिलेर होली पर्व मनाइन्छ, त्यसरीनै सबैलाई विकास निर्माणको कार्यमा एकजुट हुनुपर्दछ ।

होली पर्व 
विधिवत् रुपमा होली पर्व नेपालमा दुई दिन मनाउने गरिन्छ । फागुपूर्णिमाको दिन पहाडमा होली पर्व खेलेर बेलुकी होलिका दहन गरी पर्वको समापन गरिन्छ भने तराईमा फागुन पूर्णिमाको दिन बेलुकी होलीका दहनपछि बिहान रङ्ग अबिर खेलेर पर्व मनाइन्छ । आ–आफ्ना रीतिरिवाज अनुसार पर्व मनाइने भए पनि पर्वको मुख्य उद्देश्य एक समान छ ।

पर्यटकीय नगरी पोखरामा पनि धुमधामका साथ उत्साहमय वातावरणमा होली पर्व मनाउने गरिएको हो । पर्यटकीय नगरी पोखराको लेकसाइडमा विदेशी पर्यटक पनि पर्व मनाउन उत्साहका साथ सरिक हुने गरिएको छ । भोलि होली पर्व धुमधामका साथ मनाउन पोखरामा साङ्गीतिक कार्यक्रमको तयारी पनि व्यापक रुपमा गरिएको छ ।

यस पर्वमा मीठो परिकार बनाउने गरिन्छ । खासगरी, मालपुवा अनिवार्य रुपमा पकाइन्छ । सबैभन्दा पहिले पकाइएका परिकार घरको देवीदेउतालाई चढाइन्छ, त्यसपछि मात्र खाने गरिन्छ । अचेल मासु पनि खाने गरिएको छ । कतिपयले नशालु पदार्थमा भाङगाजा र रक्सी खाने गर्छन् । पर्वमा देखिएका यस्ता विकृतिलाई अन्त्य गर्न समाज अग्रसर हुनुपर्ने आवश्यकता देखिएको छ ।

यो पर्व किन मनाइन्छ ? 
वसन्त ऋतुअन्तर्गत फागुन पूर्णिमाको दिन यो पर्व मनाइने गरिन्छ । विष्णुपुराणमा उल्लेख गरिएनुसार, दैत्यराज हिरण्यकश्यपकी बहिनी होलिका नाममा यो पर्वको नामाकरण भएको हो । होलिकाको दहन भएको खुशीमा प्रत्येक वर्ष हिन्दू धर्मावलम्बीले यो पर्व मनाइने गर्छन् । 

हिरण्यकश्यपले आफ्नो राज्यमा भगवान विष्णुको पूजापाठमा प्रतिबन्ध लगाएर स्वयंलाई भगवान घोषित गरी प्रजालाई ‘मेरो पूजा गर्नु’ भनेर कडा निर्देशन जारी गरेको थियो । तर, उनको आफ्नै छोरा प्रह्लादले पिताको निर्देशनलाई अवज्ञा गर्दै भगवान विष्णुको पूजा गर्दै रहे । छोरा प्रह्लादले पिताको आज्ञा नमानेपछि होलिकाको माध्यमबाट जलाएर मार्ने प्रयास गरेको थियो ।

ब्रह्माबाट आगोमा नजल्ने बरदान पाएकी होलीकाले प्रह्लादलाई काँखमा राखेर चारैतिर पराललगायत जल्ने बस्तुको घेरा बनाउन लगाएको र त्यसमा आगो लगाउन भनिएको थियो । उल्टै आगोमा होलिकानै जलेर भष्म भइन् । असत्यको बाटो अपनाएको कारणले बरदान फलिफाप भएन । असत्यमाथि सत्यको विजय भयो । त्यसपछि, सोही तीथिमा यो पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख छ । रासस

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा