सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

पत्रकार खड्काको खोजी गर्न टोली गठन

गत भदौ १० गते बाजुराको बुढीनन्दा मेलाबाट रिपोर्टिङ गरेर फर्किने क्रममा सम्पर्कविहीन भएका खड्का अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।
फाइल फाेटाे / वेब

डोटी । नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका साधारण सदस्य तथा पत्रकार तेजबहादुर खड्का(तेजु)को खोजीका लागि टोली गठन गरिएको छ ।

खड्का बेपत्ता भएको करीब आठ महीना पुग्नै लाग्दा पनि उनको अवस्था कसैले पत्ता लगाउन नसकेपछि महासङ्घ जिल्ला शाखाले एक टोली गठन गरी घटनाको अध्ययन गर्ने तयारी गरेको हो ।

महासङ्घका अध्यक्ष योगेन्द्र बलायरको संयोजकत्वमा गठित उक्त खोजी टोलीमा प्रेस चौतारीका अध्यक्ष झलक पाली, प्रेस युनियनका अध्यक्ष प्रकाश बम, प्रेस सेन्टरका कार्यवाहक अध्यक्ष कर्ण चन्द र पत्रकार महासङ्घका कोषाध्यक्ष अरुण बम रहेका छन् । 

टोलीले बेपत्ता भएका पत्रकार खड्काका घरपरिवार, आफन्तजन र बाजुरा जिल्लामा गएर सरोकारवालासँगको समन्वय र घटनास्थलको स्थलगत अध्ययन पश्चात प्रतिवेदन तयार गरी नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति, प्रदेश समिति र सरकारका सम्बन्धित निकायमा पेश गर्ने अध्यक्ष बलायरले बताए । 

उनले भने, “पत्रकार खड्का हराएको लामो समय भैइसकेको र अहिलेसम्म पनि कही कतैबाट कुनै कुरा पत्ता नलागेका पछि हामी आफ्नै पहलमा खोजी कार्य गर्दैछौँ ।” गत भदौ १० गते बाजुराको बुढीनन्दा मेलाबाट रिपोर्टिङ गरेर फर्किने क्रममा सम्पर्कविहीन भएका खड्का अहिलेसम्म सम्पर्कमा आएका छैनन् ।

दिपायल सिलगढी नगरपालिका–१ तिखा घर भएका पत्रकार खड्का प्रेस युनियनका संस्थापक अध्यक्ष हुँदै रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र दिपायल र केन्द्रीय प्रसारणमा समेत काम गरेर पछिल्लो समयमा बाजुराको रेडियो बुढीनन्दामा कार्यरत थिए ।

पत्रकार खड्का हराए लगत्तै स्थानीयस्तरमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले खोजी गरेता पनि फेला पारेको थिएन । आफ्नो घरको सदस्य हराएको लामो समय भई सक्दासमेत कुनै आधिकारिक खबर नआउदा घरपरिवार निकै तनाबमा परेको उनका दाजु तथा काङ्ग्रेस नेता जितबहादुर खड्काले बताए । रासस

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा