सोमबार, ६ श्रावण, २०७६ Monday, 22 July, 2019

मारवाडी महिलाले सामूहिक रूपमा मनाए गणगौर पर्व

आस्था, प्रेम र पारिवारिक सौहार्दको सबैभन्दा ठूलो उत्सवका रूपमा मारवाडी महिलाले मनाउने गणगौर पर्व राजविराजमा बुधबार सामूहिक रूपमा मनाइएको छ ।
फाइल फोटो / वेब

सप्तरी । आस्था, प्रेम र पारिवारिक सौहार्दको सबैभन्दा ठूलो उत्सवका रूपमा मारवाडी महिलाले मनाउने गणगौर पर्व राजविराजमा बुधबार सामूहिक रूपमा मनाइएको छ ।

भगवान शङ्कर र पार्वतीलाई आदर्श दम्पती मानिने पौराणिक कथामा आधारित गणगौर पर्व नाचगान, सांस्कृतिक कार्यक्रमका साथ राजविराजमा मनाइएको हो । गणगौर पर्वमा राजविराजसहित सप्तरीको हनुमाननगर, कञ्चनपुर कल्याणपुरका मारवाडी महिला सहभागी थिए ।

होलीको समापनसँगै चैत शुक्ल तृतीयाका दिन शङ्कर–पार्वतीलाई नयाँ पोशाक लगाई विभिन्न पूजा सामग्री भएको कलशका साथ जलाशय किनारमा प्रतिमाको विर्सजन गरेपछि पर्वको समापन गरिन्छ । मैदा, घिउ र चीनीले बनाइने फूलझैँ आकारको मिठाइ घेवर बाँड्नुका साथै हातभरि मेहन्दी र इन्द्रधनुषी पहिरनमा सजिएका महिलाले यो अवसरमा लोकनृत्य र गीत गाएर मनाएका छन् ।

होलिका दहनको भोलिपल्ट चैत्र कृष्ण प्रतिपदादेखि चैत्र शुक्ल तृतीयासम्म ९१६ दिन० शङ्कर–पार्वती रूपी प्रतिमाको पूजा गरिने यो वर्षको गणगौर पर्व समापन भएको अवसरमा महोत्सव मनाइएको मारवाडी महिला मञ्चकी अध्यक्ष अनुराधा जोशीले बताए । माता गौरी होलीको भोलिपल्ट माइत जाने र आठ दिनपछि भगवान् शिव लिन आएपछि चैत्र शुक्ल तृतीयाका दिन उनीहरुको बिदाइ गरिने कथामा आधारित पर्वको बुधबार समापन गरिएको हो । यो पर्वसँगै यो वर्षका लागि मारवाडी महिलाको सम्पूर्ण पर्व सकिन्छ ।

गणगौर पूजामा अविवाहिता कन्याले असल पतिका लागि र महिलाले अखण्ड सौभाग्य, घरपरिवारको सुख, समृद्धिका लागि मनाउने चलन रहेको अञ्जना पेडिवालले बताएका थिए । गणगौर पर्व समापनसँगै मारवाडी महिलाले हरेक वर्ष पुनः आउन आग्रह गर्छन् ।

महिला मञ्चकी पूर्वअध्यक्ष कमला भन्सालीका अनुसार उमङ्ग, उत्साह र मस्तीको पर्वका रूपमा मनाइने पर्वमा एक छाक खाएर उपवास गर्ने महिला रङ्गीचङ्गी पोशाकमा बगैँचा पुगेर दुवो ल्याई गीत गाउँदै दुबोको सहयोगले दूधको अघ्र्य दिँदै गणगौरको पूजा गर्छन् । कडा धार्मिक अनुशासनको रूपमा मनाइने यो पर्वमा पूजाका लागि छुट्याइएको कोठामा सूर्यको प्रकाश पर्न दिनुहुँदैन भने श्रीमान्लाई समेत अन्तिम पूजाका दिन मात्र प्रवेशको अनुमति दिइन्छ ।

सबैभन्दा ठूलो शक्ति महिला भएको र उनीहरुकै उपासनाले घरपरिवारको संरक्षण हुने गरेको नागरिक समाजका अध्यक्ष तथा मारवाडी समुदायका अगुवा थानसिंह भन्साली बताउछन् । नवविवाहिताले विवाहको पहिलो वर्ष अनिवार्यरूपमा मनाउनुपर्ने यो पर्वको अवसरमा आमाबुबाले छोरीलाई गच्छेअनुसारको कपडा र मिठाइ उपहार दिन्छन् ।

चैतीछठको रौनक

परिवारको सुख, शान्ति, समृद्धि र दीघार्युको कामना गर्दै तराईका जिल्लामा मनाइने सूर्य आराधनाको पर्व चैतीछठको रौनक यहाँ बढेको छ ।

रोगबाट मुक्ति तथा पारिवारिक सुख, शान्ति, कल्याणको मनोकामना पूरा हुने विश्वासका साथ कात्तिक महीनामा पर्ने छठ पर्व मुख्यरूपमा मनाइए पनि यहाँ केही वर्षदेखि चैतीछठ मान्ने व्रतालुको सङ्ख्या बढदै गएकाले रौनक बढेको पुजारी रमाकान्त मिश्रले बताए ।

मङ्गलबारदेखि धार्मिक विधिपूर्वक शुरु भएको चैतीछठ पर्वका व्रतालुले हिजो शुद्ध चोखो भई प्रसाद ग्रहण गरेका छन् । व्रतालुले आज अस्ताउँदो सूर्यलाई तथा भोलि (शुक्रबार) बिहान उदाउँदो सूर्यलाई विभिन्न परिकार र फलको अघ्र्य दिएपछि चैतीछठ सम्पन्न हुन्छ ।

सूर्य देवताको समेत स्थापना गरी राजविराजस्थित विभिन्न पोखरीका साथै विभिन्न गाउँमा रहेको पोखरीमा पनि चैतीछठ भव्यताका साथ मनाइने राजविराजकी रञ्जना साहले बताएका थिए । भाकल गरेकाहरुले भिक्षा मागेर पनि पर्व मनाउने गरेकाले केही वर्षयता तराईमा चैतीछठ पर्व मनाउनेको सङ्ख्या बढदै गएको छ ।

सप्तरीलगायत जनकपुर, महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट र राजधानी काठमाडौंमा समेत चैतीछठ मनाइन्छ । लामो समयदेखि पहाडी समुदायले पनि विधि र श्रद्धापूर्वक मान्न थालेको छठ पर्व मधेशी र पहाडी समुदायको धर्म, संस्कृति, चाडपर्व, रहनसहनलाई जोड्ने, सम्मान र श्रद्धा गर्ने सेतु तथा समावेशी पर्वका रूपमा स्थापित बन्दै गएको छ ।

चैतीछठ पर्वको अन्तिम तयारीमा रहेका व्रतालु तथा भक्तजन छठ पूजाका लागि विभिन्न सामग्री किन्न र पुजाघाट सजाउन व्यस्त भएका छन् । चैतीछठ पर्वका कारण फलफूलका सामग्रीको मूल्य आकाशिएको छ । छठको व्रत लिँदा चर्म रोग निको हुने, पुत्रलाभ हुने, सौभाग्य वृद्धि हुने, परिवारमा सुख शान्ति आउने र सम्भावित दुर्घटनाबाट जोगिने धार्मिक विश्वास छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा