सगरमाथा आधारशिविर आरोही समुहले भरिभराउ, ६९२ ले पाए अनुमति 

हिमाल आरोहणको अनुमति जारीभएसंगै विभिन्न हिमालका आधारशिविर भरिभराउ हुनथालेको छ ।
भोजराज कार्की

सोलुखुम्बु । हिमाल आरोहणको अनुमति जारीभएसंगै विभिन्न हिमालका आधारशिविर भरिभराउ हुनथालेको छ । पर्यटन विभागबाट अनुमति लिने आरोही र उनका सहयोगी आरोहणका लागि गनतव्य तर्फ प्रस्थान गर्न थालेसंगै आधारशिविर भरिभराउ भएको हो ।

सगरमाथा आधारशिविरमा आरोही र उनका सदस्यले भरिभराउ भएको छ । सगरमाथा आरोहणमा आउने आरोहीको बन्दोबस्ती मिलाउन आएका सहयोगीले आवश्यक तयारी गरिहेको आधारशिविरबाट आईसफल डक्टर संयोजक आङकामे शेर्पाले जानकारी दिए ।

“करिब ४ सय जना जती आधारशिविरमा बसेका छन् ।” शेर्पाले भने,“बाटो बनाउँन हामी आउँदा सुनसान थियो, अहिले टनाटन छ ।”

७८ समूहका ६ सय ९२ जनाले आरोहण अनुमति 

हिमाल आरोहणको मौसम सुरु भएपछि सोमबार सम्म ७८ समूहका ६ सय ९२ जनाले आरोहण अनुमति लिएका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा सहित देशका २० हिमाल आरोहणका लागि उक्त आरोहीले अनुमति पाएको पर्यटन विभागले जनाएको छ ।

हिमाल आरोहणको बसन्त ऋतु सुरु भएसँगै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सोमबार सम्म ३ सय ६० जनाले अनुमति पाएको पर्यटन विभाग पर्वतारोहण शाखाका नायव सुब्बा रामेश्वर निरौलाले जानकारी दिए । उनका अनुसार सगरमाथाको शिखर चढ्नको लागि ४६ देशका ३ सय ६० जनाले अनुमति पाएका हुन् ।

अनुमति पाउनेमा २ सय ९० जना पुरुष र ७० जना महिला छन् । सगरमाथाको आरोहण अनुमति लिनेमा सबैभन्दा बढी भारतका ६७ जना पुरुष र १६ महिला सहित ८३ जना आरोही रहेका छन् ।

त्यस्तै अमेरिककाका ६७ जना रहेका छन् भने चिनका ५९ र बेलायतका ४० जना पर्वतारोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ । सगरमाथा आरोहणका लागि नेपाली १२ जना रहेका छन् जसमा ६ महिला र ६ पुरुष छन् ।

सोलुखुम्बु जिल्लामै पर्ने अर्को आमादब्लम हिमाल आरोहणका लागि ५ समूहका ४९ जनाले अनुमति लिएका छन । त्यस्तै लोत्से हिमाल आरोहणका लागि ६ समूहका ६६ जना र नुप्त्से हिमाल आरोहणका लागि २ समूहका २७ जनाले अनुमति लिएको पर्यटन विभागका पर्वतारोहण शाखाका नायव सुब्बा रामेश्वर निरौलाले जानकारी दिए ।

उनका अनुसार अन्नपुर्ण हिमाल आरोहणका लागि ३ समुहका २३ जना, मकालु हिमाल आरोणका लागि ४ समुहका ५३ जना, कञ्जनजंगा हिमाल आरोहणका लागि ४ समुहका ३२ जना, पुमरी हिमाल आरोणका लागि एक समुहका ११ जना आरोहीले अनुमति लिएका छन् ।

करिब रु.४७ करोड राजश्व संकलन 

आरोहणको नयाँ सिजन सुरु भएसँगै विभिन्न हिमाल आरोहीबाट रु.४६ करोड ५९ लाख ७० हजार २ सय ५० रुपैँया राजस्व संकलन भएको छ । देशका २० वटा हिमाल आरोहणका लागि अनुमित लिने आरोहीबाट उक्त राजस्व संकलन भएको हो ।

सोलुखुम्बुको विभिन्न हिमाल आरोहण गर्ने आरोहीबाट मात्रै रु.४३ करोड ७३ लाख ६६ हजार ३७२ राजश्व संकलन भएको छ ।  पर्यटन विभागले उपलब्ध गराएको सोमबार सम्मको तथ्याङ्क अनुसार सगरमाथा आरोहीबाट रु.४२ करोड २ लाख ७५ हजार ७ सय ६२ रुपैँया राजस्व संकलन भएको हो ।

आमादब्लम हिमाल आरोहीबाट रु.२१ लाख ६३ हजार ३०० लोत्से हिमाल आरोहीबाट रु.१ करोड ३१ लाख ३९ हजार ६४० राजस्व संकलन भएको पर्यटन विभागका पर्वतारोहण शाखाले जनाएको छ ।

यस्तै सोलुखुम्बुमै रहेको अर्को नुत्प्से हिमाल आरोही २ समूहका २७ जनाबाट रु.१७ लाख ८७ हजार ६ सय ७० रुपैँया राजस्व संकलन भएको नायव सुब्बा निरौलाको भनाई छ ।

आधारशिविर दुई पुगे आरोही समहका सदस्य 

आईसफल डक्टरको टोलिले क्याम्प २ सम्म बाटो खोलेसंगै आरोहीका सहयोगी समेत क्याम्प एक र दुईमा टेन टागीसेको गरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी)का कार्यक्रम अधिकृत कपिन्द्र राईले जानकारी दिए । (एसपीसीसी) का कार्यक्रम अधिकृत राईका अनुसार आरोही धामाधम आधारशिविर प्रस्थान गरिरहेका छन् ।

“अधिकांश आरोहीका सहयोगी आईरहेका छन् ।” अधिकृत राईले भने, “सहयोगीले आवश्यक बन्दोबस्ती मिलाउँछन् अनी मात्र आरोही आउने हुन्छ, अहिले एक्कीन विवरण त भन्न सक्ने अवस्था छैन, तर अब त अधिकांश आरोहीका सहयोगी आधारशिविर पुगेका छन्, आरोही पनि आउँदैछन् ।”

सगरमाथा आधार शिविरनै तीन हिमालको आधार शिविर हो । लोत्से, नुप्त्से हिमाल आरोण गर्ने आरोही समेत सगरमाथाको बाटो हुदै जाने गर्छन् । उनीहरु क्याम्प २ सम्म सगै जाने गर्छन् । आरोहीका अनुसार केही क्याम्प २ बाटै छुट्टिछन् भने केही आरोही क्याम्प ३ बाट छुट्टिने गरिन्छ ।

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा