सोमबार, ६ जेठ, २०७६ Monday, 20 May, 2019

शैक्षिक गुणस्तर बढाउन शिक्षक र विद्यार्थीलाई मोवाईल प्रयोगमा प्रतिबन्ध

सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाले आफ्नो गाउँपालिकाको क्षेत्रभित्र रहेका विद्यालयमा शिक्षक तथा विद्यार्थीलाई मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।
फाइल फोटो / वेब

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदूधकोशी गाउँपालिकाले आफ्नो गाउँपालिकाको क्षेत्रभित्र रहेका विद्यालयमा शिक्षक तथा विद्यार्थीलाई मोबाइल फोन प्रयोगमा प्रतिबन्ध लगाउने भएको छ ।

गाउँपालिकामा बसेको शिक्षा समितिको बैठकले शैक्षिक गुणस्तर बढाउनका लागि विद्यालय हाताभित्र विद्यालय समयमा मोबाइल फोन प्रयोगमा बन्देज लगाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

भर्खरै शुरु भएको नयाँ शैक्षिक सत्रबाटनै लागू हुने गरी भएको निर्णय कार्यान्वयनका लागि सबै विद्यालयमा पत्राचार गरिएको छ । शिक्षा समितिका अध्यक्ष समेत रहेका गाउँपालिका अध्यक्ष राईकाअनुसार मोबाइल प्रयोगले पछिल्लो समय पठनपाठनमा प्रभाव पारेको गुनासो आएपछि यस्तो निर्णय गर्नु परेको हो । ५२ वटा विद्यलाय रहेको गाउँपालिकामा सम्पर्कका लागि अफिसियल फोनको व्यवस्था गर्ने गाउँपालिकाले जनाएको छ ।

समुदायिक विद्यालयलाई प्रविधिमैत्रि बनाईने 

गाउँपालिकाले जिल्लामानै पहिलोपटक कक्षा आठको नतिजा वेबसाइटमा राखेको छ । प्रविधिको जमानामा संसारको कुनै कुनामा बसेर आफ्ना बालबालिकाको नतिजा सजिलै थाहा पाउन सकुन् भन्नका लागि प्रविधिको प्रयोगमा जोड दिएको अध्यक्ष राईले बताए ।

यस शैक्षिक सत्रबाट सबै विद्यालयमा शिक्षक तथा विद्यार्थीलाई पोशाक अनिवार्य गरिएको छ । पोशाक एकैनासको नहुँदा धनी र गरिब विद्यार्थीमा असमानता देखिने भएकाले विद्यार्थीलाई पनि अनिवार्य गरिएको बताइएको छ । सरकारले केही वर्षयता शिक्षकलाई पोशाक भत्ता उपलब्ध गराउँदै आएको भए पनि कतिपय शिक्षकहरुले पोशाक लगाएका छैनन् ।

शिक्षा समितिले ‘हाम्रो शहर, हाम्रो गाउँ, सम्पूर्ण बालबालिका विद्यलाय पुर्‍याउँ’ भन्ने सरकारको नारालाई आत्मासाथ गर्दै विद्यार्थी भर्ना अभियानलाई सफल पार्न सम्पुर्ण संयन्त्र परिचालन गरिने  गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिएका थिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा