मंगलबार, ३ असार, २०७६ Tuesday, 18 June, 2019

चलचित्र समीक्षा : सुन लुकाउने चक्करमा ‘जात्रैजात्रा’

चलचित्रले तस्करीको जालो र योजनाको बारेमा केही बताउन खोजेको पाइन्छ । तस्करीका भित्री रहस्यहरु खुलाइएको छैन ।

– अर्जुन भुसाल (रासस),

काठमाडौं । नेपाली चलचित्र ‘जात्रैजात्रा’ अहिले देश विदेशका विभिन्न हलमा प्रदर्शन भइरहेको छ ।

कालाकारहरु नायक विपिन कार्की (फणिन्द्र) नायिका वर्षा राउत (सम्पदा) रविन्द्र सिंह बानियाँ (जोयस), रविन्द्र झा (मुन्ना) दह्याङ राई (दावा) राजाराम पौडेल (पण्डित), बाल कलाकार प्रवीण खड्का (इमान) कालु राना (दलजित) चलचित्रको मुख्य भूमिकामा छन् । 

प्रदीप भट्टराईको लखन निर्देशनमा निर्माण भएको जात्रैजात्राले राम्रो व्यापार गरिरहेको छ । भट्टराइको यो तेस्रो चलचित्र हो । ‘जात्रा’ र ‘शत्रुगते’मा अपेक्षित सफलता हासिल गरेपछि उनले तेस्रो चलचित्रको रुपमा जात्रैजात्रा निर्माण गरेका हुन् ।

एकपछि अर्को सफल चलचित्र पस्कदै जानुभएका भट्टराई चलचित्र जगतमा स्थापित निर्देशक बनिसकेका छन् । ‘जात्रा’ पछिको ‘जात्रैजात्रा’मा पुरानै कलाकारहरु भएको हुँदा जात्राको झल्को मिल्छ । ‘जात्रा’मा फणिन्द्र, जोयस र मुन्ना नक्कली नोट कारोवारमा जेल परेपछि चलचित्र सकिन्छ ।

‘जात्रा’मा अचानक रु तीन करोड हात परेपछि जेल परेका फणिन्द्र मुन्ना र जोयसको रोचक कथाको मोड कता जान्छ भनेर पनि दर्शकले ‘जात्रैजात्रा’लाई  हेर्न रुचाएको देखिन्छ । यो चलचित्रको कहानी पनि उस्तैउस्तै छ । उनीहरु जेलबाट छुटेपछि चलचित्र सुरु हुन्छ । 

‘जात्रा’मा नगदको लोभमा फस्छन् भने ‘जात्रैजात्रा’मा १० किलो सुनको प्रलोभनमा अनेक कष्ट सहन्छन् । सुन लुकाउ नै उनीहरुलाई धेरै सकस पर्छ । जेलबाट छुटेपछि पण्डितको ट्याक्सी चलाउन थालेका फणिन्द्रले १० किलो सुन फेला पार्छन् । दह्याङ राई (दावा) ले दलजितको सुन ओसार्ने काम गर्छन् । पण्डित र दावा मिलेर सुन लुकाउने योजना बनाउँछन् । सुन फणिन्द्रले हात पार्छन् ।  

उनी फेरि धनी बन्ने, परिवारलाई सुखसैलमा राख्ने सपना बुन्न थाल्छन् । धन सम्पत्ति नहुँदा टाढिएका आफन्तलाई जोड्न सकिनेमा उनी आशावादी हुन्छन् । सुन फेला पारेपछि कसरी लुकाउने, बेच्ने भन्ने पिरलो थपिन्छ । कतै फेरि पनि जेलकै बास त हुने होइन भन्ने डर पनि उनमा पलाउँछ । 

सुन लुकाई बिक्री गर्न पाए असम्भव ठानिएका इच्छा, आकांक्षाहरु पनि पूरा गर्न सकिने हुँदा लुकाउने सोचमा पुग्छन् । सुन लुकाउने चक्करमा उनका साथीहरु जोयस र मुन्ना पनि सामेल हुन पुग्छन् ।

साहुको ऋण तिर्न नसकेर बेइज्जत खेप्नुपरेको मुन्नाको मन पनि हलुङ्गो हुन्छ  । उनले पनि सुन बेचेर ऋण तिर्ने सपना बुन्छन् । कथा लेखक तथा निर्देशक भट्टराईले विभिन्न पात्रको माध्यमबाट समाजको यथार्थ चित्रण गर्न सफल हुनु भएको छ । गरिबीका कारण उत्पन्न समस्याहरुलाई चलचित्रमा उठान गर्न खोजिएको छ ।

गरिबीका कारण आफन्तबाट अपहेलित हुनु परेको विषयलाई उठान गरिएको छ । जोयस र मुन्नाको सहयोगले फणिन्द्रलाई साथ मिल्छ । श्रीमान्, श्रीमतीको बेमेलले बालबालिकामा पर्ने असरको बारे चलचित्रले बोलेको छ । फणिन्द्र र सम्पदाको बीचमा राम्रो सम्बन्ध नहुँदा छोरा इमानले बाबा आमाको सम्बन्ध सुधार्न जोड दिन्छ ।

छोराछोरीका कारण श्रीमान् श्रीमतीको सम्बन्धमा सुधार आउने सन्देश चलचित्रले दिएको छ । बाल कलाकार इमानको चलचित्रमा छोटो भूमिका रहेपनि उनको भूमिकाले दर्शकका आँखा रसाउछन् । विपिन (फणिन्द्र) को भूमिकालाई दर्शकले रुचाएका छन् । उनले आफूलाई थप अब्बल सावित गर्न सफल भएका छन् ।

कलात्मक शैलीमा हासेरै बोल्ने उनको बानीले चलचित्र अवधि भर दर्शकले आनन्द लिन्छन् । फणिन्द्र पत्नी सम्पदाले असल श्रीमतीको भूमिका निर्वाह गरेकी छिन् ।    

चलचित्रमा द्वन्द्व कम छ । चलचित्रमा समावेश गरिएका गीतहरु निकै राम्रा छन् । अहिलेका चलचित्रले ख्याति कमाउनुमा गीतसङ्गीतले पनि अर्थ राखेको पाइन्छ । ‘शस्त्रामा लेख्नलाई छुट्या मात्र हो, जीवन जात्रा हो’, ‘लाइदेउ माया पिरिम’ बोलका गीतहरुबाट पनि चलचित्रलाई मलजल मिलेको छ । सुन तस्करीसँग सम्बन्धित विषय वस्तुमा तयार पारिएकाले चलचित्र चाख लाग्दो नै छ ।

चलचित्रले तस्करीको जालो र योजनाको बारेमा केही बताउन खोजेको पाइन्छ । तस्करीका भित्री रहस्यहरु खुलाइएको छैन । ती पक्षहरुलाई पनि उठाएको भए चलचित्र अझै धेरै राम्रो हुन सक्थ्यो ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा