शुक्रबार, ६ भदौ, २०७६ Friday, 23 August, 2019

देवकोटाको ‘छोरो अमेरिका छ’ सार्वजनिक (भिडियो)

आफ्नो सपनाको संसार देख्ने तर आफ्ना आमाबाबुको अन्तिम सासमा नफर्कने आजको युवा पुस्ताको प्रवृत्ति र समाजको परिवेशलाई गीतमा समेटिएको छ । 

काठमाडौं । लोक तथा दोहोरी गायक शिरीष देवकोटाले ‘छोरो अमेरिका छ’ शीर्षकको गीत बजारमा ल्याएका छन् ।

उच्च शिक्षा र अवसरका खोजीमा जापान तथा यूरोप र अमेरिकालगायत विभिन्न महादेश नै आफ्नो सपनाको संसार देख्ने तर आफ्ना आमाबाबुको अन्तिम सासमा नफर्कने आजको युवा पुस्ताको प्रवृत्ति र समाजको परिवेशलाई गीतमा समेटिएको छ । 

रोइला (खेली) गायक देवकोटा र गायिका सम्झना भण्डारीले स्वर दिएको सो गीत आजदेखि युट्युबमा हेर्न सकिन्छ । गीतमा रमेश बिजीको शब्द तथा देवकोटाको लय रहेको छ । अभिनेता नीर शाह, हिउँबाला गौतम, श्रीप्रसाद थापा र सोनी गुरुङलगायतको अभिनय रहेको सो गीतमा  प्रकाश भट्टले निर्देशन गरेको गायक देवकोटाले जानकारी दिए । मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत संयोजन विनोद बाजुरालीको रहेको छ । गीतलाई पृथ्वी इन्टरटेनमेन्टले बजार व्यवस्थापन गरेको छ ।

गायक देवकोटाले ‘छोरो अमेरिका छ’ गीतमा विदेशमा रहेका युवाको व्यस्त जीवनशैलीले बिर्साउँदै गएको संस्कार र संस्कृति, भौतिक सुखको दलदलमा भासिएका सन्तानलाई जीवनको अन्तिम क्षणमा पनि  आँखै अगाडि हेरेर मर्ने अतृप्त धोको बोकेर बसेका आमाबाबुको कारुणिक रोदनलाई समावेश गरिएको बताए ।

देवकोटाले यसअघि ‘यो दाइ फेरि आउँदैन’, ‘नजरैको भर’, ‘माया लाउन मिल्छ’ र ‘दुर्गा होऊ कि भवानी’ जस्ता दर्जनौँ रोइला गीत बजारमा ल्याइसकेका छन् । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा