बुधबार, २७ कार्तिक, २०७६ Wednesday, 13 November, 2019

थुलुङ दूधकोशी गाउँपालिकाको शिक्षक सरुवासम्बन्धी निर्णय सदर

न्यायाधीशद्वय दीपकुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गर्दै गाउँपालिकाको निर्णय सदर गरेको हो ।

 

सोलुखुम्बु । थुलुङ दूधकोशी गाउँपालिकाले गरेको शिक्षक सरुवासम्बन्धी निर्णय सर्वोच्च अदालतले सदर गरेको छ ।

न्यायाधीशद्वय दीपकुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गर्दै गाउँपालिकाको निर्णय सदर गरेको हो ।

यसअघि न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले तत्काल निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्नु भनी जेठ २४ गते सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो । गाउँपालिकाले वैशाख २५ गते गाउँ शिक्षा ऐन, २०७४ को दफा २४ अनुसार ६७ शिक्षकलाई गाउँपालिकाभित्रका विभिन्न विद्यालयमा पदस्थापन एवं सरुवा गर्ने निर्णय गरेको थियो । 

उक्त निर्णयको विरुद्धमा सरुवामा परेका शिक्षक डिल्लीबहादुर खुलाल बस्नेतसहितले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो । उक्त रिटउपर जेठ २४ गते असार ३ गतेसम्मका लागि निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको निर्णयपछि गाउँपालिका अध्यक्ष असिम राईले न्यायालयको निर्णयले गाउँपालिकाले घोषणा गरेको ‘शैक्षिक सुधार वर्ष’लाई सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले लामो समयदेखि शिक्षामा देखिएको समस्या समधानका लागि गाउँपालिकाले नियमपूर्वक गरेको शिक्षक सरुवाको विरुद्ध अदालतमा जानुले पनि शिक्षकको हविगत देखिएको बताए । कसैलाई पनि नटेर्ने र आफूले चाहेकै स्थानमा बस्नुपर्ने केही शिक्षकका कारण इमानदार शिक्षकलाई समेत समस्या भएकाले शैक्षिक गुणस्तर वृद्धि नभएको उनको टिप्पणी छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा