शुक्रबार, ६ भदौ, २०७६ Friday, 23 August, 2019

भारतलाई १८  रनले पराजित गर्दै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा

उपाधिका लागि न्युजिल्यान्डले इंग्ल्यान्ड र अस्ट्रेलियाबीच भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार खेल्नेछ । 
फोटो: आइसिसि

 

काठमाडौँ : इंग्ल्यान्डमा जारी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डले भारतलाई १८ रनले पराजित गर्दै  एकदिवशीय विश्वकपको फाइनलमा प्रवेश गरेको छ। 

इंग्ल्यान्डको म्यान्चेस्टरस्थित ओल्ड ट्राफोर्ट मैदानमा २ सय ४० रनको लक्ष्य पछ्याएको भारतको शीर्ष ब्याटिंग क्रम ध्वस्त हुँदा २ सय २१ रनमै अलआउट हुँदै विश्वकप जित्ने सपना पुरा गर्न सकेन । यस विश्वकपको खेलहरुमा पाँच शतक प्रहार गरेका स्टार खेलाडी रोहित शर्मा आज मात्र १ रन बनाउँदै पवेलियन फर्किए ।

हिजो (मंगलबार) भारत र न्युजिल्यान्डबीचको सेमिफाइनल चलिरहँदा पानी परेपछि खेल रोकिएपछि आज नियमअनुसार  ‘रिजर्ब डे’ मा पुन हिजो रोकिएको अवस्थाबाट खेल सुरु भएको थियो ।

यसअघि हिजो (मंगलबार) न्युजिल्यान्डले टस जितेर ब्याटिङ गर्दै ४६.१ ओभरमा पाँच विकेटको क्षतिमा २११ रन बनाउँदा खेल रोकिएको थियो। बाँकि ३.५ ओभरमा ३ विकेट गुमाएर थप २८ रन जोडेर भारतलाई २४० को मध्यम लक्ष्य दिएको थियो।

निकै खराब सुरुवात गरेको न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले ६७ रन बनाउँदै टिमलाई उकासेका थिए । उनले हेनरी निकोलससँग ६८ रनको साझेदारी गरे । निकोलस भने २८ रनमा आउट भएका थिए ।

त्यस्तै भारतीय कप्तान विराट कोहलीले पनि १ रनमात्र बनाउन सके भने दिनेश कार्तिक ६ रन बनाएर आउट हुँदा १० ओभरमा भारत २४–४ को कमजोर स्थितिमा पुगिसकेको थियो ।

त्यसपछिको जोडि ऋषभ पन्त र हार्दीक पान्ड्याले ४७ रनको साझेदारी खेल्दै भारतको इनिङ्स उकास्ने प्रयास गरे पनि २३ औँ ओभरमा पन्त र ३१ औँ ओभरमा पान्ड्या समान ३२ रनमा पवेलियन फर्किएपछि भारत ९२–६ को नाजुक अवस्थामा गुज्रिन पुग्यो ।

तर पूर्व कप्तान महेन्द्र सिंह धोनी र रविन्द्र जडेजाले सातौँ विकेटको लागि १ सय १६ रनको आशा लाग्दो साझेदारी गरेपनि भारतलाई जिताउन सकेनन । 

न्यूजिल्यान्डको लागि ट्रेन्ट बोल्ड र मिचेल सान्टनरले पनि २/२ विकेट लिए भने भारतका भूवनेश्वर कुमारले ३ विकेट लिए ।

अब उपाधिका लागि न्युजिल्यान्डले इंग्ल्यान्ड र अस्ट्रेलियाबीच भोलि हुने दोस्रो सेमिफाइनलको विजेतासँग आइतबार खेल्नेछ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा