बिहीबार, २७ मङ्सिर, २०७५ Thursday, 13 December, 2018

फेसबुकबाट जोडिएको ‘चित्रकला कार्यशाला’ मोफसलमा पनि

“यस्तो अभियान देशव्यापी होस् भन्ने हाम्रो चाहना हो ।”
फाइल फोटो / वेब

काठमाडौं, काठमाडौंका चित्रकार दिवेश प्रधान, राकेशचन्द्र श्रेष्ठ र दीपेन्द्रमान बनेपालीबीच नयाँ नयाँ ठाउँमा पुगेर चित्र बनाउने विषयमा छलफल भयो । एकै ठाउँमा बसेर चित्र बनाउनुभन्दा विभिन्न क्षेत्रमा पुगेर चित्र बनाउँदा चित्रमा निखारता अउनेमा उनीहरुको मत मिल्यो । परिणामस्वरुप चित्रकारहरु एउटा फेसबुक समूहमा जोडिए । 

त्यही समूहले व्यवस्थित र नियमित कार्यशालाको जरुरी ठानेर १२ हप्ताअघि काठमाडौंको हनुमानढोकाबाट स्वतःफूर्त अभियानका रुपमा ‘शनिबासरीय स्थलगत चित्रकला कार्यशाला’ थालनी गरेको हो । यसअघि हनुमानढोका, ललितपुरको दरबार स्क्वायर, भक्तपुर, ठिमी, चाँगुनारायण, टेकु, खोकना, गुहेश्वरी, चोभारलगायत क्षेत्रमा पुगेर काठमाडौंका कलाकारले कार्यशाला सम्पन्न गरिसकेका छन् । आगामी शनिबार चापागाउँ, साँखु र बुङ्मतीका लागि फेसबुक समूहमार्फत मतदान खुला गरिएको छ । 

उक्त कार्यशालाबाट प्रोत्साहित विभिन्न जिल्लाका कलाकारले समेत त्यस्तै अभियान सञ्चालनको योजना अघि बढाएका छन् । रुपन्देहीका कलाकारले त चित्रकला कार्यशाला नै थालिसकेको चित्रकार सुमित्रा राना बताउछन् । “हामीले चौथो कार्यशाला सकिसक्यौँ,” रानाले भने, “महीनाको दुई पटक हुने कार्यशालाले हामीलाई नयाँ सिकाइ मिल्यो ।” 

मोरङका कलाकार सरोजा खड्गीलाई पनि काठमाडौंमा भएको स्थलगत चित्रकला कार्यशालाले मन लोभ्यायो । त्यही नाममा स्थानीयवासी कलाकार मिलेर नियमित चित्रकला कार्यशालामा सुरु गरिएको छ । प्रत्यक्ष रुपमा नयाँ ठाउँ देख्न पाइने र अनुभव सँगालिने भएकाले यो अभियान निक्कै राम्रो लागेको खड्गी बताउछन् । गत शनिबार उनीहरुले जिल्लाको एउटा कमलपोखरीमा पुगेर चित्रकला कार्यशाला गरेको बताउँदै उनले भने “सामूहिक रुपमा चित्र बनाउँदा एक अर्काबाट सिक्ने र सिकाउने हुँदा प्रभावकारी हुन्छ ।” 

काठमाडौंमा अभियान चलाउने चित्रकारले यो अभियानलाई स्वतःस्फूर्त अभियानका रुपमा अगाडि बढाएका छन् । जो कलाकार पनि सहभागी हुन पाउने छुट कार्यशालामा छ । एउटा फेसबुक समूहमार्फत मतदानका आधारमा ठाउँ चयन गरेर कलाकार हरेक शनिबार चित्र कोर्न पुग्छन् । 

अभियानकर्मी प्रधान अहिले जिल्लाबाटै स्थलगत चित्रकला कार्यशाला गर्न कलाकार अग्रसर भएकामा खुशी व्यक्त गर्दै भन्छन् “यस्तो अभियान देशव्यापी होस् भन्ने हाम्रो चाहना हो ।” मोरङ र रुपन्देही मात्रै होइन सुनसरी, झापा र कास्कीका चित्रकारले पनि अभियान सुरु गर्ने तयारीमा रहेको प्रधान बताउछन् । पोखराका चित्रकार अमृत कार्की काठमाडौंका चित्रकारसँग एक चरणमा छलफल भएको छ भन्दै यस्तो कार्यशालाले कलामा निखारता आउने बताउछन् । 

‘स्थलगत चित्रकला कार्यशाला’मा चित्र उतार्ने मात्रै होइन आफैँ पनि प्रकृतिबाट सिक्नका लागि अभियान महत्वपूर्ण भएको चित्रकार राकेशचन्द्र श्रेष्ठ भन्छन् । “प्रकृति कलाको खानी हो । प्रकृति हेरेर दृश्य उतार्न आनन्द हुन्छ तर चुनौती पनि उत्तिकै छ । दुरुस्त उतार्न पनि कला चाहिन्छ, प्रकृतिबाट त्यही कला सिकिन्छ,” चित्रकार रामकृष्ण थापाले भने । “आँखाले देख्ने रङ प्रकृतिबाट टिप्ने हो । रहनसहन, जीवनशैली, इतिहास बुझ्ने मौका पनि यही हो”, अर्का चित्रकार केशवराज खनाल थप्छन् । अहिलेका चित्र पछि इतिहास बन्न पुग्ने हुँदा पनि यसको महत्व ठूलो रहेको कलाकार बताउँछन् । अभियानलाई दिगो रूप दिने प्रयासमा लागेका काठमाडौंका चित्रकार जिल्ला जिल्लामा पनि अभियान चलाउने प्रतिबद्धता आउँदा उत्साहित भएका छन् । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा