बिहीबार, २७ मङ्सिर, २०७५ Thursday, 13 December, 2018

पीडित परिवारले शव बुझ्न मानेन

अभियुक्त खत्री बस्दै आएका घरबेटीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने पीडित परिवारको माग छ । 
प्रतिनिधिमुलक फाइल फोटो / वेब

घोराही, १५ मंसिर । घोराहीमा हत्या गरिएका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्ती मगरको परिवारले भरपर्दो अनुसन्धान हुन नसकेको भन्दै अझै शव बुझ्न मानेको छैन । 

बिहीबार बेलुका हत्या भएलगत्तै एक जनालाई पक्राउ गरिए पनि घटनामा अन्यको समेत संलग्नता हुन सक्ने भन्दै पीडित परिवारले शव बुझ्न नमानेको हो । व्यवसायी मगरको हत्या अभियोगमा रोल्पा तालावाङ घर भई हाल घोराही– १३ बासबोटमा घर बनाउँदै गरेका अमर खत्री पक्राउ परेका छन् । पीडित परिवार र आफन्तले भने घटनाको प्रकृति हेर्दा एक्लैले मात्रै हत्या नगरेको भन्दै प्रभावकारी अनुसन्धान गर्न माग गरेका छन् । 

अनुसन्धानको दायरा बढाएर पीडितलाई आश्वस्त पार्नुपर्ने र दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने मृतककी श्रीमती सुमित्राले माग गरेकी छन् । अभियुक्त खत्री बस्दै आएका घरबेटीलाई समेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने पीडित परिवारको माग छ । 

हत्याको कारण रकम लेनदेनको विषय मात्रै नहुन सक्ने भन्दै उनीहरुले प्रभावकारी अनुसन्धान गर्न प्रहरीको ध्यानाकर्षण गर्दै आएका छन् । अपराधमा खत्री मात्रै अहिलेसम्म संलग्न देखिएको भन्दै थप अनुसन्धानको पाटालाई पनि अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेकासँग सोधपुछसँगै टेलिफोनको कल डिटेलमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । 

घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कको माथिल्लो पुल नजीकै माडी हार्डवेयर पसल सञ्चालन गर्दै आएका मगरको बिहीबार बेलुका घोराही १३ दूधेसोतामा हत्या भएको थियो । उनको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव परीक्षण गृहमा राखिएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा