मंगलबार, १० असार, २०७६ Tuesday, 25 June, 2019

क्यान्भासमा बौद्धनाथ

“साह्रै सुन्दर र शान्तिपूर्ण ठाउँ यहाँ चित्र कोर्न पाउँदा धेरै खुशी छु”,
शनिबारस्तरीय चित्रकला कार्यशाला अन्तर्गत बौद्धनाथ क्षेत्रका दृश्य चित्रमा उतार्दै अमेरिकाकी कलाकार मेरी । तस्वीरः नारायण ढुंगाना, रासस

काठमाडौं, २९ मंसिर । चित्रकारको एउटा फेसबुक समूहमा काठमाडौंको बौद्ध, सुनाकोठी, साँखु, शङ्खमुल र डोलेश्वरका लागि कुन ठाउँमा चित्रकला कार्यशाला गर्ने भनेर बिहीबार मतदान खुला गरेका थिए । शनिबारस्तरीय चित्रकला कार्यशालाका अभियानकर्मीले मदतान खुला गर्ने बित्तिकै अमेरिकाकी मेरी लोक्सडनले फेसबुककै माध्यमबाट बौद्धनाथमा मत खसालिन् । उनीसहित बौद्धका लागि सर्वाधिक मत खस्यो । त्यसपछि आज चित्रकारहरु बौद्धनाथ स्तुपामा पुगेर धार्मिक तथा ऐतिहासिक दृश्यलाई क्यान्भासमा उतारे । 

मेरीले बौद्धनाथ चैत्य (स्तुपा) मा पुगेर वरिपरिका सुन्दर घरसहितका दृश्य एक्रेलिक र जलरङ्गले दुरुस्त बनाइन् । “साह्रै सुन्दर र शान्तिपूर्ण ठाउँ यहाँ चित्र कोर्न पाउँदा धेरै खुशी छु”, क्यान्भासमा रङ्ग लत्पतिएको कुची चलाउँदै मेरीले संक्षिप्त प्रतिक्रिया दिइन् । 

उनी व्यावसायिक चित्रकार भने होइन । चित्र कोर्नु उनको रुचि हो । तर पनि अन्य व्यावसायिक चित्रकारभन्दा कमजोर चित्र उनको थिएन । मेरी नजिकै भक्तपुरकी सरिता चित्रकारले बौद्धनाथको सानो स्तुपाको चित्र कोरिन् । पटकपटक मेट्दै र चित्र कोर्दै गर्दा उनलाई चित्रकार दिवेश प्रधानले बेलाबेलामा सिकाएका थिए । 

अर्काे छेउमा बसेका सूर्यमान सुवाल र राधेश्याम कर्माचार्यले फरक कोणबाट बौद्धस्तुपालाई कैद गरे । अभियानकर्मी दिवेश प्रधानले पनि बौद्धनाथ चैत्यलाई नै केन्द्रविन्दुमा राखेर क्षितिजसहितको सुन्दर चित्र क्यान्भासमा उतारे । 

चित्र बनाउँदै गर्दा बौद्ध स्तुपा आइपुगेका स्वदेशी र विदेशी चित्रकारले चाखपूर्वक हेरेका थिए । मजदुरहरु स्तुपाको रङ्गरोगनमा व्यस्त थिए । कतिपयले कति सुन्दर चित्र बनाएको भन्दै प्रशंसा पनि गरेका थिए । 

“लिच्छवीकालीन संरचना आफैँमा बौद्धनाथको महत्व छ”, प्रधानले भने, “चित्रमार्फत हाम्रा कलाकौशल र धार्मिक धरोहरलाई प्रवद्र्धन र संवद्धर्न गर्नु कलाकारको दायित्व हो, हामीले हरेक शनिबार यही गरिरहेका छौँ ।” 

कलाकारका चित्रमा बौद्ध स्तुपाको गजुरदेखि पेटीसम्मका भाग दुरुस्त देखिन्थ्यो । हर्मिका (आँखा भाग), सुखावती मार्ग, कुण्डगर्भ, त्रयोदश भुवन (तेह्र तह) छत्रावतीलाई चित्रकारले क्यानभासमा कैद गरेका थिए । विश्व सम्पदा सूचीमा रहेको बौद्धनाथ चैत्य नेपालको प्राचीन र ठूलो चैत्यको रूपमा चिनिन्छ । 

भाषा वंशावलीका अनुसार बौद्धनाथलाई खास्व चैत्य भनिन्छ । राजा मानदेवले पितृहत्याबाट पापमोचनका लागि बनाएको भन्ने कथा छ । अर्काे वंशावलीमा लिच्छवी राजा शिवदेवले बनाएको भन्ने उल्लेख छ । बौद्धमार्गी मात्रै नभई विभिन्न धर्मावलम्बीका लागि आकर्षक गन्तव्य भएको बौद्धनाथका चित्रले पर्यटन प्रवद्र्धनका सकारात्मक सन्देश जाने चित्रकार प्रधान बताउछन् । 

उनीहरुको समूहले तेह्र हप्तादेखि हरेक शनिबार ऐतिहासिक क्षेत्रमा गएर दृश्य चित्र बनाउँदै अएका छन् । फेसबुकबाट शुरु भएको अभियान अहिले जिल्लाजिल्लामा समेत शुरु भएको बताउछन् अर्का अभियानकर्मी राकेशचन्द्र श्रेष्ठ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा