आइतबार, १० चैत, २०७५ Sunday, 24 March, 2019

अनौठो रुखको वैज्ञानिक नाम पत्ता लाग्यो

उक्त वृक्षको फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध जस्तो सेतो तरल पदार्थ निस्कने विशेषता रहेको छ । 
फाइल फाेटाे फेसबुक

–राम केसी, 

चौतारा, ११ पुस । सिन्धुपाल्चोक जिल्लामा भेटिएको अनौठो रुखको वैज्ञानिक नाम ‘हर्सफेल्डिया किङ्गी’ भएको पत्ता लागेको छ । 

वलेफी गाउँपालिका–३ फुल्पीकोटको घुमसुङे पुछार सामुदायिक वनमा गत जेठमा फेला परेको स्थानीयले रामवुआ भनेर पुकारिने अनौठो रखमा फलेको फलको वैज्ञानिक परीक्षणका लागि वन तथा वातावरण मन्त्रालयको वनस्पति विभागमा पठाइएको थियो ।

विभागका अनुसार उक्त वृक्ष म्याग्नोसिएसी परिवारको भएको र आसामी भाषामा रक्तमुल भनिने गरेको वनविज्ञ नरेन्द्र पराशरले जानकारी दिए । 

उनका अनुसार उक्त वृक्षको उचाइ २० मिटर हुने र गुदीदार फल लाग्ने हुँदा चराहरूले मन पराएर खाने गर्दछन् । उक्त वृक्ष पूर्वदेखि पश्चिमसम्मको मध्यपहाडी क्षेत्रमा पाइए पनि हालसम्म सीमितरूपमा मात्र उपलब्ध छन् । उक्त वृक्षको फेदमा चोट लाग्दा रगत र टुप्पामा चोट लाग्दा दूध जस्तो सेतो तरल पदार्थ निस्कने विशेषता रहेको छ । 

त्यसको फल सुपारी आकारको हुन्छ भने खाँदा बाहिरी भागमा नुनिलो र अमिलो तथा भित्री भाग काँचो नरिवलको स्वादको हुन्छ । खाँदा मीठो लागेपनि एकरदुई दानासम्म खाँदा केही नहुने र त्योभन्दा बढी खाए रिँगटा लाग्ने, वाक्वाकी लाग्नुका साथै झाडापखाला समेत लाग्ने र विरामी पर्ने वन उपभोक्ता समितिका अध्यक्ष दलबहादुर थापाले बताए ।

सिन्धुपाल्चोकमा भेटियो अनौठो रुख, फेदबाट रगत र टुप्पाबाट दूध निस्कने 

विसं २०५२ मा सामुदायिक वन उपभोक्ता समिति गठन हुनु अगाडी देखिनै त्यहाँ सो वृक्ष रहेको थापाको भनाइ छ । करीब चार मिटर गोलाइको उक्त वृक्ष हाल ८०र९० को सङ्ख्यामा रहेको थापाको भनाइ छ । 

कसैले रामवुआ र कसैले रावुआ जस्ता भिन्नभिन्न नामबाट पुकारिने उक्त वृक्षको काठदाउरा स्थानीय कसैले पनि प्रयोगमा ल्याउने गरेका छैनन् । केही वर्षअघि एक स्थानीयले काठदाउरा प्रयोग गरेका र संयोगवश उनले परिवारका दुई सदस्यलाई गुमाउनुपरेपछि स्थानीयले त्यसैलाई दोषी मान्न थालेका छन् । वृक्षको नाममा भगवान् रामको नाम जोेडिएकाले अनिष्ट हुने आशङ्कामा कसैले प्रयोग नगरेको अध्यक्ष थापा बताउँछन् । 

वृक्षमा लाग्ने फल जेठको पहिलो सातादेखि फल्न सुरु भई असारको पहिलो सातासम्म रहने र त्यस पछि फुटेर झर्ने गर्दछ । गुदीदार फल भएकोले चराचुरुङ्गी र बाँदरले बढी रुचाउने गर्दछन् । त्यसको पात सिउँडी आकारको हुने र चौपायाले समेत नरुचाउने स्थानीयको भनाइ छ । 

उक्त वुक्षको फललाई यस वर्षदेखि चौताराको पातलेपानी वन नर्सरीमा बिरुवा उत्पादन गर्ने लक्ष्य रहेको डिभिजन वन कार्यालय सिन्धुपाल्चोकका सहायक वन अधिकृत तुलाराम घिमिरेले बताए । उक्त वृक्षबाट निस्कने रक्त पदार्थको गहनरूपमा अनुसन्धान हुनसकेको खण्डमा औषधिका रूपमा प्रयोग हुनसक्ने सम्भावना देखिएको अधिकृत पराशरले बताए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा