सोमबार, ९ असार, २०७६ Monday, 24 June, 2019

भारतीय अभिनेता कादर खानको क्यानाडामा निधन

अस्पतालमा उपचाररत उनलाई मृत घोषणा गरिनुपूर्व नै केही दिन पहिलेदेखि उनको मृत्युबारे सामाजिक सञ्जालमा हल्ला फैलिएका थिए ।
फाइल फाेटाे : द इण्डियन एक्सप्रेस

नयाँदिल्ली, १७ पुस । हिन्दी चलचित्रका चर्चित अभिनेता कादर खानको क्यानडाको एक अस्पतालमा निधन भएको उनका छोरा सरफराज खानले पुष्टि गरेका छन् ।

प्रसिद्ध अभिनेता पटकथा तथा सम्वाद लेखक खान ८१ वर्षको थिए ।

“हाम्रा पिता अब हामीसँग रहनु भएन,” सरफराजले सञ्चारमाध्यमलाई मृत्युबारे जानकारी गराए । छोरा सरफराजका अनुसार उनको स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि अस्पतालमा उपचारका लागि भर्ना भएका थिए ।

अस्पतालमा उपचाररत उनलाई मृत घोषणा गरिनुपूर्व नै केही दिन पहिलेदेखि उनको मृत्युबारे सामाजिक सञ्जालमा हल्ला फैलिएका थिए ।

सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट भारतीय चलचित्र क्षेत्रमा पाइला राखेका कादर खानले ३०० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन् ।

अभिनेता अमिताभ बच्चन र अभिनेत्री रविना टंडनले ट्वीट गर्दै उनको स्वास्थ्य लाभको कामना गरेका थिए । सन् १९८० र ९० को दशकमा कादर खानले गोविन्दा र अनिल कपूरसँग कैयौँ चलचित्रमा काम गरेका थिए । उनले सन् १९७० को दशकमा संवाद लेखेर र अभिनय गरेर निकै नाम कमाएका थिए । अभिनय क्षेत्रमा प्रवेशपछि उनका शुरुवाती दिनहरू निकै संघर्षपूर्ण रहेका उनलाई नजिकबाट चिन्ने कलाकारहरूले बताएका छन् ।

खून पसीना, लवारिस, परवरिश, अमर अकबर एन्थनी, नसीब, कुली जस्ता चलचित्रमा उनले पटकथासमेत लेखेका थिए । कादर खानले अमिताभ बच्चनको अभिनय यात्रा अगाडि बढाउन पनि उनको भूमिका अहम भूमिका खेलेको बताउने गरिन्छ ।

सन् १९८३ मा कादर खानले फिल्म हिम्मतवालाको सम्वाद लेखेका थिए । जसमा,  उनको आफ्नो लागि हास्य कलाकारको भूमिका रहेको थियो । त्यसअघि नकारात्मक भूमिकामा देखिने गरेका उनले त्यसभन्दा फरक भूमिकामा अभिनय गर्न चाहे पनि त्यो अवसर शुरूमा उनलाई जुरेको थिएन । जब कादर खानले चलचित्रको सम्वाद लेख्न शुरु गरे उनको फरक भूमिकामा अभिनय गर्ने चाहना पनि पूरा भयो ।

राष्ट्रपति कोविन्द र प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त
यसैबीच, प्रसिद्ध अभिनेता कादर खानको निधनप्रति दुःख व्यक्त गर्दै उनीप्रति समवेदनाका प्रकट गरिएका सन्देशहरू आउन थालेका छन् ।

खानको निधनप्रति राष्ट्रपति रामनाथ कोविन्दले कादर खानको मृत्युको खवरले आफू निकै दुखी बनेको बताएका छन् । “कादर खान यस धर्तीमा नरहेपनि उहाँका जीवन्त अभिनयले उहाँलाई अमर राख्नेछ,” राष्ट्रपति कोविन्दले ट्वीटरमार्फत जारी गरेको शोक सन्देशमा उल्लेख गरेका छन्, “यस घडीमा कादर खानँप्रति सम्मान प्रकट गर्दै उहाँको परिवार, इष्टमित्र र शुभचिन्तकप्रति समवेदना व्यक्त गर्दछु ।”

यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मानित भारतीय कलाकार कादर खानको निधनप्रति मा दुःख व्यक्त गरेका छन् । उनलाई एक विलक्षण अभिनय सीप भएका, भिन्नै खालका हाँस्य कलाकार तथा कुशल सम्वाद लेखकका रूपमा स्मरण गरेका छन् ।

मोदीले ट्वीटरमा लेखेका छन्, “कादर खानजीले उहाँको अद्वित्तीय अभिनय तथा लेखन शैलीका कारण स्क्रिनलाई उज्ज्वल पार्नुभएको छ । उहाँको निधनले मलाई दुःखी बनाएको छ । यस घडीमा उहाँको परिवार र प्रशंसकप्रति समवेदना !”

भारतीय सिनेमा जगतका हस्तीहरू अमिताव वच्चन, अनिल कपूर, अनुपम खेर विक्की कौशल, अर्जुन कपूर, ऋषि कपूर लगायतले कादर खानको निधनपछि उहाँलाई आफ्नो जीवनका विभिन्न चरणमा भएका सम्बन्धहरूलाई स्मरण गरेका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा सन् १९३५ को अक्टोबर २२ मा जन्मनु भएका उनले जीन्दगीको अधिकांश समय भारतीय सिनेमा क्षेत्रमा विताएका थिए । (रासस/एएनआई)

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा