शनिबार, ४ फाल्गुण, २०७५ Saturday, 16 February, 2019

प्रतिनिधिसभामा सांसदको सवाल, पाँच मन्त्रीको जवाफ [भिडियाे]

सम्बन्धित विषयमा प्रश्न राखेपछि मन्त्रीले दिएको जवाफमा चित्त नबुझेपछि पुनः सांसदले पूरक प्रश्न गर्न पाउने व्यवस्था भएअनुसार आज सो कार्यकोसमेत अभ्यास गरिएको हो ।

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद र मन्त्रीबीच प्रश्नोत्तर गर्ने पाउने नयाँ अभ्यास शुरु भएको छ । 

सांसदहरुले जनजीविका र जनसरोकारका विषयमा सम्बन्धित मन्त्रीलाई प्रश्न गर्न पाउने सङ्घीय संसद् कार्यसञ्चालन नियमावलीले गरेको व्यवस्था कार्यान्वयनमा आएको हो । 

संसद् सचिवालयमा लिखितरुपमा प्रश्न राखेपछि सचिवालयले आवश्यकताका आधारमा मन्त्री र सांसदबीच प्रश्नोत्तर गराउने अभ्यास शुरु गरेको हो । सम्बन्धित विषयमा प्रश्न राखेपछि मन्त्रीले दिएको जवाफमा चित्त नबुझेपछि पुनः सांसदले पूरक प्रश्न गर्न पाउने व्यवस्था भएअनुसार आज सो कार्यकोसमेत अभ्यास गरिएको हो ।

बुधबारको बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत, महिला तथा बालबालिका मन्त्री थममाया थापा, कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले सांसदहरुको प्रश्नको जवाफ दिएका हुन् ।

बैठकमा सांसदहरुले गृहमन्त्री रामबहादुर थापा, कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र अर्थमन्त्री डा युवराज खतिवडालाई सांसदहरुले प्रश्न सोधेका थिए ।

सांसद देवेन्द्रराज कँडेलले गृहमन्त्री रामबहादुर थापालाई २०७५ साल साउन २१ गते भक्तपुरको काँडाघारीबाट अपरिहत ११ वर्षीय बालक निशान खड्काको हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङलाई गरिएको इन्काउण्टरबारे प्रष्ट पारिदिनुहुन्छ कि भन्ने प्रश्न गरेका थिए ।

उक्त प्रश्नको जवाफमा गृहमन्त्री थापाले सुरक्षाकर्मीलाई गोली चलाउन खोज्दा आत्मसुरक्षाका लागि प्रहरीले गोली चलाएको बताए । उनले आत्मसुरक्षाका लागि गोली चलाउँदा गोपाल र अजयको मृत्यु भएको सदनलाई जानकारी गराए ।

अपराधीलाई सुरक्षितरुपमा पक्राउ गर्न प्रहरी प्रयासरत रहका अवस्थामा प्रहरीमाथि नै आक्रमण भएकाले गोली चलाउनुपरेको गृहमन्त्री थापाले बताए ।

बालकृष्ण खाँणले प्रहरीलाई इकाउण्टरको आदेश कसले दिन्छ भन्ने प्रश्न सोधेका थिए । सांसद खाँणको प्रश्नमा गृहमन्त्री थापाले परिस्थितिले नै त्यस्तो अवस्था सिर्जना गर्ने उल्लेख गरे । सांसद डिला सङ्ग्रौलाले निर्मला पन्तको बलात्कार र हत्यारा सिंहदरबारमा लुकेको भन्दै अपराधी कहिले पक्राउ पर्छन् भन्दै गृहमन्त्री थापालाई प्रश्न गरेका थिए ।

उनको प्रश्नमा गृहमन्त्री थापाले पन्तको हत्यारा जहाँसुकै भए पनि कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरे ।उनले बालुवाटार सिंहदरबार जहाँसुकै भए पनि अपराधीले छुट नपाउने र कानूनी कारवाही गरेरै छाड्ने भने ।

कञ्चनपुरको १३ वर्षीया बालिका पन्तको बलात्कारपछिको हत्या पासविक र जघन्य घटना भएकाले सरकारले विशेष चासो दिएर छिटोभन्दा छिटो अपराधी पत्ता लगाउन लागिपरेको जानकारी दिए । उनले उक्त घटनाको अनुसन्धान जारी रहेको र विगतमा सो घटनामा कमजोरी गर्ने प्रहरी अधिकारीलाई समेत कारवाहीको दायरामा ल्याइएको स्पष्ट पारे ।

उनले भने, “कुनै पनि अपराधीलाई राज्यले छुट दिन सक्दैन । कानूनको कठघरामा ल्याउने नै छ । चासो र चिन्ता सदनले जाहेर गरेको छ, त्यसमा सरकार गम्भीर छ ।” गृहमन्त्री थापाले अपराधका ९६ प्रतिशत घटनामा सरकारले सफलता हासिल गरेको र बाँकी चार प्रतिशत घटनामा संलग्न हुने अपराधीलाई पत्ता लगाउन नेपाल प्रहरी क्रियाशील रहको जानकारी दिँदै कुनै पनि प्रकारको अपराध गर्नेलाई छुट नदिइने र कुनै पनि अपराधका घटनालाई मसिनोसँग छानबिन गरी कारवाहीको दायरामा ल्याइने बताए ।

सांसद गगन थापाले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले पाँच दिनभित्र सार्वजनिक गर्ने घोषणा केही समय अगाडि गर्नुभएको थियो, तर अपराधी किन पत्ता लागेनन् भन्दै गृहमन्त्री थापालाई प्रश्न गरेका थिए । सांसद थापाको प्रश्नमा गृहमन्त्री थापाले रक्षा मन्त्री पोखरेलले सरकारले छिट्टै अपराधी पत्ता लगाउँछ भन्ने आशयका आधारमा उक्त धारणा राख्नुभएको हुनसक्ने जानकारी दिए ।

सांसद दीलेन्द्रप्रसाद बडूले सरकारले शान्तिपूर्णरुपमा माग राख्ने माथि अनावश्यक बल प्रयोग गरेको भन्दै किन त्यस्तो गरिएको हो भन्ने प्रश्न गरे । उनको प्रश्नमा गृहमन्त्री थापाले सरकार र गृह प्रशासनमा त्यस्तो जानकारी नआएको बताए ।

निर्मला पन्त प्रकरण केही गैरसरकारी संस्थालाई कमाई खाने भाँडो र प्रमुख प्रतिपक्षी दललाई राजनीति गर्ने मेसो मिलेको भन्दै सरकारले शीघ्र अपराधी पत्ता लगाउने विश्वास व्यक्त गरे । यस्तै, अछाम जिल्लाको मङ्गलसेनमा सात महीना अगाडि भएको १९ वर्षीय नमराज विष्टका अपराधी पत्ता लगाइ कारवाही कहिले हुन्छ भन्दै सांसद रामबहादुर विष्टले गृहमन्त्रीलाई प्रश्न गरे ।

यस्तै, सांसद घनश्याम खतिवडाले गत साउन २९ गते मोरङको लेटाङ नपा–९ स्थित श्रीमाविको खानेपानी ट्याङ्कीमा विषादी हालेको पानी सेवन गर्दा विद्यार्थी बिरामी भएको घटनामा अपराधी पत्ता लगाउने विषयमा के प्रगति भएको छ भन्ने प्रश्न गरेका थिए । गृहमन्त्री थापाले दुवै आपराधिक घटनाका विषयमा सरकार र गृह प्रशासनले मसिनो गरी छानबिन गरिरहेको जवाफ दिए । रासस

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा