शनिबार, ४ फाल्गुण, २०७५ Saturday, 16 February, 2019

 हिजोका जस्ता रहेनन् ‘राउटे’

अपरिचित व्यक्तिसँग बोल्नु हुँदैन भन्ने मान्यता राख्ने राउटेहरु हिजोआज बस्तीमा पुगेका जो कोहीलाई सामाजिक अगुवा, जनप्रतिनिधिदेखि मन्त्री र प्रधानमन्त्रीसम्मलाई फोन लगाइदिन आग्रह गर्छन् ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतलाई कोसी उपहार दिँदै राउटे मुखिय लोकेन्द्र शाही । तस्वीर हेमन्त केसी, जाजरकोट, रासस

–हिक्मत बहादुर नेपाली, 
दुल्लु । उसबेला राउटे वस्तीमा छिर्न निकै मुश्किल पथ्र्यो । विसं २०५२ तिर दैलेखको तत्कालीन काशिकाँध गाविसको वडामान जङ्गलमा बसेका राउटे वस्ती हेर्न जाँदा स्थानीयवासी नमराज थापा निकै खुशी थिए ।

आठ वर्षको उमेर हुँदा आमासँगै राउटे वस्ती हेर्न पुगेको उहाँलाई राम्रै सम्झना छ । त्यतिखेर थापालाई राउटेले वस्तीमा छिर्न समेत दिइएन । त्यसबेलाको घटना सम्झँदै थापा भन्छन्, “वस्तीको टाढाबाटै राउटे युवासँग मादल माग्यौं । ती युवाले मादल लिएर आए, बजाउन पनि शुरु गरे तर, समुदायका मुखियाले आफ्नै खाम्ची भाषामा गाली गर्दै मादलसमेत खोसेर लगे ।” त्यतिबेला राउटे अन्य समुदायसँग घुलमिल हुँदैनथे ।

नेपालका तीन प्रदेशभित्र फिरन्ते जीवन बिताउँदै आएको राउटेको बस्ती पस्न अब भने त्यति समस्या छैन । केही वर्ष अघिसम्म राउटेहरु पैसा छुँदा पाप लाग्छ भन्ने मान्यता राख्थे । आफूलाई बोटको राजा र गै¥ह राउटेलाई कोटको राजा भन्न रुचाउने राउटेहरु अन्य समुदायसँग खासै घुलमिल हुन चाहँदैन । कर्णाली प्रदेश, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका विभिन्न जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेको सोच अहिले बदलिएको छ । बाहिरी समुदायसँग घुलमिल हुने मात्र होइन उनीहरु आधुनिक प्रविधि प्रयोग गरेर आफूलाई रुपान्तरणसमेत गर्न थालेका छन् ।

जङ्गली जनावरको शिकार र काठमा सामग्री बनाएर जीविका गर्ने यो समुदाय विस्तारै पशुपक्षी पालनमा समेत जुट्न थालेको छ । कुखुरा, बाख्रा र भेडा पालन उनीहरुको रोजाइमा परेको छ । अपरिचित व्यक्तिसँग बोल्नु हुँदैन भन्ने मान्यता राख्ने राउटेहरु हिजोआज बस्तीमा पुगेका जो कोहीलाई सामाजिक अगुवा, जनप्रतिनिधिदेखि मन्त्री र प्रधानमन्त्रीसम्मलाई फोन लगाइदिन आग्रह गर्छन् ।

फोनबाटै आफ्ना समस्याहरु निर्धक्क राख्छन् । सरकारले दिने सामाजिक सुरक्षा भत्ता समयमै नआए त्यसको सोधखोजसमेत गर्न थालेका छन् । बिरामी हुँदा औषधि उपचार गराउन थालेका छन् । राउटे युवक प्रकाश शाही भन्छन्, “उतिबेला मुखियाले चप्पल समेत लगाउन दिँदैनथे ।”

पश्चिम नेपालमा फिरन्ते जीवन बिताउँदै आएको राउटे समुदायका नागरिकलाई दैलेखको गुराँस गाउँपालिकाले पहिलो पटक स्थायी परिचयपत्र प्रदान ग¥यो । गुराँस गाउँपालिकाले २०७५ असार ३० गते स्थायी परिचयपत्र प्रदान गरेको थियो । त्यतिबेला राउटेको जनसङ्ख्या १४९ थियो । पुसको अन्त्यतिर त्यही तथ्याङ्कको आधारमा १४५ जनालाई भत्ता बाँडियो ।

विसं २०४० मा पहिलो पटक गरिएको गणनामा राउटेको जनसङ्ख्या ३०० को हाराहारीमा थियो । विसं २०६५ मा गरिएको अर्को गणनाअनुसार राउटेको जनसङ्ख्या १६६ मा झरेको देखियो । सो गणना पत्रकार हरिहरसिंह राठौर र भक्तबहादुर शाहीको अगुवाइमा गरिएको थियो । पहिलो पटक समाजशास्त्री डोरबहादुर विष्टले २०४० सालमा गरेको गणनामा ३०० जना जति राउटे रहेका थिए ।

सरकारले राउटेहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि उनीहरूको जनसङ्ख्या क्रमशः घट्न थालेको हो । गुराँस गाउँपालिकाले राउटेको तथ्याङ्क सङ्कलन गरेर वितरण गरेको स्थायी परिचयपत्रमा नाम, थर, जन्म मिति, ठेगाना, बुवा–आमाको नाम र पति–पत्नीको नाम उल्लेख छ ।

राउटे समुदायलाई राष्ट्रिय मूलधारमा ल्याउन, सामाजिक सुरक्षा भत्ता वितरणमा एकरूपता ल्याउन र नेपाली नागरिकका रूपमा स्थापित गर्न स्थायी परिचयपत्र वितरण गरेको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताउनुभयो । मान्छेको सङ्ख्या गणना गरेर विगतमा भत्ता वितरण गरिएपछि गुराँस गाउँपालिकाले परिचयपत्र वितरणसँगै उनीहरूको सङ्ख्या पनि गणना गरेको थियो । यस समुदायको व्यवहार परिवर्तनका लागि दैलेखको सोसेक नेपालमार्फत राउटे परियोजना सञ्चालनमा छ ।

अहिले राउटे समुदाय जहाँ जहाँ पुग्छ, परियोजनामार्फत नियुक्त कर्मचारी त्यहीँ–त्यहीँ पुग्ने गरेका छन् । दैलेखसहित सुर्खेत, सल्यान, दाङ, अछामको सेरोफेरोमै राउटेहरू आफ्नो वस्ती घुमन्ते रूपमा सार्ने गर्दछन् । अहिले राउटेहरू सुर्खेतको लेकबेसी नगरपालिका वडा नं १ भेरी नदी किनारमा छन् । उनीहरू जहाँ गए पनि गुराँस गाउँपालिकाले नै भत्ता वितरण गर्ने गरी कर्णाली प्रदेश सरकारले व्यवस्था गरेको छ । 
 

मदिराको लत 
राउटे मद्यपान तथा धूमपानमा लठ्ठिन थालेको छ । सामाजिक सुरक्षा भत्ता हात पर्ने बित्तिकै राउटेहरु वस्ती नजीककै पसलमा पुग्छन् । बजारमा पाइने सुर्तीजन्य पदार्थदेखि मदिरामा बिहानैदेखि उनीहरु भुल्न थालेको देखिँदै छ ।

जीवनयापन सहज होस् भनेर दिइएको भत्ताले मदिरादेखि अन्य कुरा किनेरै खाने आदत उनीहरुमा बसिसकेको छ । सरकारी तथा गैरसरकारी निकायहरुले राउटेलाई मदिरा खान सिकाए भन्ने आरोप एकातिर छ भने अर्कोतिर राउटे समुदाय बसेको वस्ती नजीक व्यापारीहरु कमाइ गर्न पल्किन थालेका छन् ।

राउटे वस्ती नजीक स्थानीय नागरिकदेखि व्यापारीहरु मदिरा बेच्न आउने गरेको पाइएको छ । त्यति मात्र नभई वस्तीमा पुग्ने स्थानीय नागरिकले तस्वीर (सेल्फी) खिच्नकै लागि सुर्तीजन्य पदार्थ खुवाउने गरेका छन् जसका कारण राउटेका स–साना नानीदेखि वृद्धवृद्धासम्म यसको कुलतमा फस्न थालेका छन् । सुर्ती र मद्यपानले पनि उनीहरूको सङ्ख्यालाई घटाउँदै लगेको छ ।

फिरन्ते जीवन बिताइरहेका लोपोन्मुख राउटे समुदाय र उनीहरुले बोल्ने भाषासमेत विस्तारै लोप हुँदै जाने खतरा बढेको छ । नेपालको लोपोन्मुख जातिमा सूचीकृत राउटेको संस्कृति, रहन–सहन र रीतिरिवाज पनि सँगसँगै विलुप्त हुने स्थिति देखा पर्दैछ । पछिल्लो समय राउटे सामाजिक रुपमा रुपान्तरित भएर आएको देखिए पनि त्यसले अन्ततः उनीहरुको अस्तित्व मेटाइदिन सक्ने त्रास पनि पैदा गरिदिएको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा