महिला च्याम्पियन्स लिग क्रिकेट चैतमा

क्रिकेटको विश्वकप जित्ने मुलुकमा समेत महिला लिग शुरु हुन नसकेको अवस्थामा नेपालमा खेल शुरु हुनु सुखद् भएको
फाइल फाेटाे / वेब

काठमाडौं । एनसिएल स्पोर्टस् प्रालिले महिला टि–२० क्रिकेट लिग आयोजना गर्ने भएको छ । 

प्रालिले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलतालाई निन्तरता दिन र अझै प्रतिस्पर्धी बनाउन आगामी चैत १ देखि ९ गतेसम विराटनगरमा टि–२० प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिएको छ ।

विराटनगरस्थित वैज्यनाथपुरको क्रिकेट मैदानमा हुने प्रतियोगितामा देशका चार शहरका नामबाट चार टोलीले प्रतिस्पर्धा गर्ने तथा शहर र टोली केही दिनपछि घोषणा गरिने प्रालिका अध्यक्ष जयराज रायले जानकारी दिए । मुलुकभित्र हुने अधिकांश प्रतियोगिता पुरुष खेलाडीका लागि मात्र केन्द्रित रहँदै आएकाले सो सँगै महिला क्रिकेटरलाई अघि बढाउने उद्देश्याकासाथ प्रालिले महिला टि–२० लिग आयोजना गर्न लागेको उनको भनाइ थियो । प्रतियोगिताको पुरस्कार राशि र सहभागी टोलीबारे छलफल भइरहेकोले केही समयपछि जानकारी दिने आयोजकले जनाएको छ । 

राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक विनोद दासले यस्ता प्रतियोगिताले महिला खेलाडीले ठूलो प्रोत्साहन पाउने र खेलको विकासमा समेत मद्धत पुग्ने बताए । क्रिकेटको विश्वकप जित्ने मुलुकमा समेत महिला लिग शुरु हुन नसकेको अवस्थामा नेपालमा खेल शुरु हुनु सुखद् भएको बताउँदै उनले यसलाई निरन्तरता दिन आग्रह गरे ।

राष्ट्रिय महिला टोलीका कप्तान रुविना क्षेत्रीले लिगका लागि महिला खेलाडी उत्साहित भएको प्रतिक्रिया दिइन् । प्रतियोगिताको शहर, टोली र खेल तालीकासहित पुरस्कार रकम भने केही समयपछि सार्वजनिक गरिनेछ । रासस 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा