प्रेमकुमार राई कम्युनिष्टका लागि आदर्श पात्र हुन् : वरिष्ठ नेता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रेमकुमार राईलाई कम्युनिष्ट आन्दोलनका लागि आदर्श पात्रका रूपमा चित्रण गरेका छन्।

 

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रेमकुमार राईलाई कम्युनिष्ट आन्दोलनका लागि आदर्श पात्रका रूपमा चित्रण गरेका छन्। उनले आजको समाजमा भ्रष्टाचारीहरूको बोलवाला बढेको र कम्युनिष्ट आन्दोलनसमेत त्यसकै सिकार भएको टिप्पणी गर्दै श्रेष्ठले राईले दशकौँदेखि निःस्वार्थ रूपमा वास्तविक कम्युनिष्ट आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहेर काम गरिरहेको बताए।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–५, जुबुमा जन्मिएका ७६ वर्षीय राईको ‘आत्मवृत्तान्त’ शनिबार काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा लोकार्पण गर्दै श्रेष्ठले कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन राईको जीवन र राजनीतिक निष्ठाबाट सबै कम्युनिष्टले सिक्नुपर्ने धारणा व्यक्त गरे।

श्रेष्ठका अनुसार कम्युनिष्ट आन्दोलनको सफलता पद, प्रतिष्ठा र व्यक्तिगत स्वार्थमा होइन, विचारप्रतिको प्रतिबद्धता, निःस्वार्थ सेवा र जनताप्रतिको उत्तरदायित्वमा निर्भर हुन्छ। राजनीतिक आन्दोलनमा लामो समय बिताउँदा पनि सिद्धान्त र आदर्शबाट विचलित नहुनु राईको विशिष्ट पक्ष भएको उनको भनाइ थियो।

पूर्वमन्त्री गिरिराजमणि पोखरेल र थुलुङ दुधकोशी गाउँपालिकाका पूर्वअध्यक्ष असिम राईलगायतको उपस्थितिमा सार्वजनिक गरिएको पुस्तकमा प्रेमकुमार राईको व्यक्तिगत जीवन, राजनीतिक सङ्घर्ष, शैक्षिक नेतृत्व, सामाजिक सेवा तथा संस्थागत जिम्मेवारीका अनुभव समेटिएका छन्।

 

पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षदेखि वामपन्थी आन्दोलनसम्म

२००९ साल चैत १० गते सोलुखुम्बुको जुबुमा जन्मिएका प्रेमकुमार राईको जीवन ग्रामीण परिवेशमा सुरु भएको थियो। सानै उमेरमा आमाबुवा गुमाएका राईले कठिन परिस्थितिमा हुर्कँदै शिक्षा, राजनीति र सामाजिक सेवामा आफ्नो पहिचान स्थापित गरेका हुन्।

पुस्तकमा उल्लेख भएअनुसार, २०३३ सालमा धनकुटाबाट सोलुखुम्बु फर्किएपछि राई चौथो महाधिवेशनसँग सम्बन्धित भूमिगत राजनीतिक गतिविधिमा संलग्न भएका थिए। शिक्षण पेसामा आबद्ध रहँदै उनले राजनीतिक सङ्गठन निर्माण र सामाजिक परिवर्तनका गतिविधिमा समेत योगदान पुर्‍याएका थिए।

२०३५ सालको विद्यार्थी आन्दोलन, राजनीतिक कार्यकर्तालाई सुरक्षित आश्रय तथा सहयोग उपलब्ध गराएका प्रसङ्ग र पञ्चायती व्यवस्थाविरुद्धका गतिविधिले उनको राजनीतिक जीवनको महत्त्वपूर्ण पक्ष उजागर गर्छन्। २०४६ सालमा उनी संयुक्त वाममोर्चा, सोलुखुम्बुको जिल्ला सचिवमा निर्वाचित भएका थिए। यी घटनाले तत्कालीन कठिन राजनीतिक परिस्थितिमा उनले निर्वाह गरेको भूमिकालाई अभिलेखबद्ध गरेका छन्।

 

एउटै विद्यालयमा ४० वर्षभन्दा बढी प्रधानाध्यापक

राईको जीवनको अर्को उल्लेखनीय पक्ष शिक्षा क्षेत्रमा गरेको दीर्घकालीन योगदान हो। उनले २०३० सालदेखि २०६९ सालसम्म सोलुखुम्बुको जनजागृति निम्न माध्यमिक विद्यालयको प्रधानाध्यापकका रूपमा काम गरेका थिए। एउटै विद्यालयमा ४० वर्ष चार महिना चार दिन नेतृत्व सम्हालेका राईले आफ्नो जीवनको ठूलो हिस्सा शिक्षण र शैक्षिक व्यवस्थापनमा बिताएका थिए।

शिक्षा क्षेत्रमा पुर्‍याएको योगदानका लागि उनले विभिन्न सम्मान तथा जिम्मेवारी प्राप्त गरेका थिए। २०३३ साल माघ १२ गते जिल्ला शिक्षा शाखा, सोलुखुम्बुबाट सम्मानित भएका उनले २०४४ सालको शिक्षा दिवसमा साहित्य शिक्षा समितिबाट प्रशंसापत्र, नगद पुरस्कार तथा साहित्य शिक्षापदक प्राप्त गरेका थिए।

२०४० साल फागुन ५ गते नेपाल राष्ट्रिय शिक्षक संगठनको दोस्रो जिल्ला सम्मेलनबाट केन्द्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका राई २०४४ साल भदौ १ गते जिल्ला स्तरीय शैक्षिक योजना छनोट समितिको सदस्य बनेका थिए। २०४६ सालदेखि संगठनको जिल्ला कार्यसमितिमा सल्लाहकारको जिम्मेवारीसमेत निर्वाह गरेका उनले २०५७ साल फागुन १२ गते २६औँ शिक्षा दिवसका अवसरमा सम्मानित भए।

 

रेडक्रस र स्वास्थ्य सेवामा योगदान

शिक्षणसँगै राईले सामाजिक सेवाका क्षेत्रमा पनि महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरेका थिए। उनले २०४२ सालदेखि नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा सोलुखुम्बुको मन्त्रीका रूपमा दुई कार्यकाल गरी आठ वर्ष काम गरेका थिए।

उनले २०४४ सालमा सेवा पदक र २०४६ साल जेठ १७ गते उत्कृष्ट पीडितोद्धार पदक प्राप्त गरेका थिए। २०४४ साल फागुन १५ गतेदेखि रेडक्रसको आजीवन सदस्य रहेका उनले २०६४ साल चैत ३ गते क्षेत्रीय निर्देशनालय, पूर्वाञ्चल, धनकुटाबाट प्रशंसापत्र प्राप्त गरेका थिए। त्यस्तै, २०७० साल भदौ १९ गते नेपाल रेडक्रस सोसाइटीबाट कदरपत्र तथा दीर्घ सेवा पदक प्राप्त गरेका थिए।

स्वास्थ्य सेवाको विकासमा समेत उनको संलग्नता रहेको थियो। २०६८ साल कात्तिक २८ गते स्वास्थ्य मन्त्रालयबाट फाप्लु अस्पताल विकास समितिको अध्यक्षमा मनोनीत भएका राईले सार्वजनिक स्वास्थ्य संस्थासँग सम्बन्धित जिम्मेवारी पनि सम्हालेका थिए। २०३८ सालदेखि सोलुखुम्बुको मालपोत कार्यालयमा तालुकमुखियाका रूपमा काम गरेका उनी २०५५ साल चैत २९ गतेदेखि शिक्षक राहत कोष सञ्चालक समिति, सोलुखुम्बुको सल्लाहकारसमेत रहेका थिए। २०६४ साल मंसिर २ गतेदेखि उनी जिमी राई उत्थान समाजका आजीवन सदस्यका रूपमा आबद्ध थिए।

 

व्यक्तिगत उपलब्धिभन्दा माथि राजनीतिक निष्ठा

प्रेमकुमार राईको आत्मवृत्तान्तमा राजनीतिक सङ्घर्ष र व्यक्तिगत जीवनका उतारचढावसँगै कमजोरी, गल्ती, डर, सफलता तथा आत्मसङ्घर्षका प्रसङ्गसमेत समेटिएका छन्। पुस्तकले उनको जीवनका उपलब्धि प्रस्तुत गर्नुका साथै उनले काम गरेको समयको राजनीतिक, शैक्षिक र सामाजिक परिवेश बुझ्ने आधारसमेत प्रदान गर्छ।

पूर्वमन्त्री गिरिराजमणि पोखरेलले दुर्गम सोलुखुम्बुमा जन्मिएका राईले राजनीतिक तथा सामाजिक चेतना विस्तारमा पुर्‍याएको योगदानको चर्चा गरे। थुलुङ दुधकोशी गाउँपालिकाका पूर्वअध्यक्ष असिम राईले उनलाई आफ्नो अभिभावकका रूपमा सम्मान गर्ने गरेको बताए।

पुस्तकमा थुलुङ राई समुदायको इतिहास, संस्कृति र वंशावलीसम्बन्धी सामग्रीसमेत समावेश छ। यसले व्यक्तिगत जीवनकथासँगै समुदायको सांस्कृतिक पहिचान र ऐतिहासिक अनुभवलाई अभिलेखबद्ध गर्ने प्रयास गरेको छ।

राईको जीवनयात्रा शिक्षा, राजनीति, सामाजिक सेवा र संस्थागत नेतृत्वका विविध पक्षसँग जोडिएको छ। लामो समयसम्म सार्वजनिक जिम्मेवारीमा रहेर काम गरेका उनको अनुभवले कम्युनिष्ट आन्दोलनमा वैचारिक निष्ठा, सामाजिक उत्तरदायित्व र निःस्वार्थ सेवाको महत्त्वबारे बहस गर्ने अवसर दिएको छ।

 

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा