आत्मसम्मान सिकाउने त्यो भुस्याहा कुकुर...

मधुरो रङ्गको कुकुरलाई साइकलको पछाडिको पाङ्ग्रामा घस्रिएको देखेँ। मैले साइकलको पाउदान दबाएँ र त्यहाँबाट अघि बढ्न खोजेँ। तर कुकुरले मलाई पच्छ्याउन छोडेन। मैले साइकल रोकिनँ।
फाेटाे : बीबीसी नेपाली

साहसिक खेल साइक्लिङ गर्ने इसबेल होम्सलाई १६ वर्षको उमेरमा आमाले घरबाट निकालेपछि उनी आत्महत्या गर्न चाहन्थिन्। त्यसको पाँच वर्षपछि घरविहीनहरू बस्ने आश्रयस्थलबाट निकालिन लाग्दा उनलाई अब जीवन बदल्नुपर्छ भन्ने लाग्यो। उनले त्यसपछि साइक्लिङ गरेर विश्व भ्रमण गर्न थालिन्- त्यही बेला उनको भेट एउटा भुस्याहा कुकुरसँग भयो जसले उनको जीवन सदाका लागि परिवर्तन गरिदियो।

बाइकमा चढेको मेरो सबैभन्दा पुरानो अनुभव म्यान्चेस्टरको हो। त्यहाँ म केही सस्तो पर्ने २० किलो आलुको बोरा किन्न बुवासँग साइकलमा बसेर सहरभरि घुम्थेँ। म त्यतिबेला डाइपर लगाउने उमेरमै थिएँ र बुवाको सीटपछाडि बस्थेँ। मेरो पछाडि आलुको बोरा हुन्थ्यो।

आमालाई पहिलो चोटि भेट्दा र उहाँहरू प्रेममा पर्दा बुवा पढ्दै हुनुहुन्थ्यो।

यो इरानी क्रान्तिको बेला हो र इरानले एक्कासि विदेशी विद्यार्थीहरूलाई पैसा दिन रोकेको थियो। आफ्ना देशका नागरिकलाई प्रोत्साहन गर्न सकियोस् भनेर इरानले त्यसो गरेपछि बुवालाई आर्थिक अभाव हुन थाल्यो। र, बाँच्नका लागि साइकल हाम्रो महत्त्वपूर्ण साधन बन्यो।

म दुई वर्षकी हुँदा हामी स्कटल्यान्ड सर्‍यौँ। बुवा कामको खोजीमा हुनुहुन्थ्यो। तर विवाह टिक्न सकेन र बुवाआमा छुट्टिनुभयो।

एकचोटि म बुवालाई भेट्न गएकी थिएँ। बुवासँग चिनजान भएका एक व्यक्तिले मलाई उनको काखमा राखे र आफ्नो हात मेरो खुट्टामा पुर्‍याए। म त्यति बेला त्यस्तै सात वर्षजति थिएँ होला। त्यसो गर्दा मलाई एकदमै नराम्रो लागेको मात्रै सम्झन्छु।

मलाई म एकदमै खराब केटी हुँ कि जस्तो लाग्यो। सम्भवत: त्यति बेलादेखि मैले आफूलाई घृणा गर्न थालेँ।

बुवाले मलाई त्यसपछि एक पटक भेट्नुभयो र सम्पर्कविहीन हुनुभयो। मेरो गल्तीका कारण उहाँले मलाई परित्याग गर्नुभयो कि जस्तो लाग्थ्यो।

BBC Nepaliलुसीसँग इसबेल टर्कीमा

मेरा दुई भाइ र म हुर्किएसँगै आमाको सङ्घर्ष पनि बढ्दै गयो। उहाँले परिवारको सबै समस्याको दोष मलाई लगाउन थाल्नुभयो।

हामीबीच सबै कुरा एकदमै तनावपूर्ण र दु:खदायी हुनथाल्यो। मेरो १६ औँ जन्मदिन नजिकिँदै आमा अब मप्रति जिम्मेवार हुनुहुन्न भन्ने लागेर म निकै दु:खी थिएँ। जन्मदिनलगत्तै आमाले मलाई घरबाट निकालिदिनुभयो। उहाँले घरको ढोका बन्द गरेको क्षण मेरो जीवनको सबैभन्दा कठिन क्षण थियो।

घरबाहिर बाटोमा उभिएको त्यो क्षण मसँग त्यहाँबाट अन्यत्र जानुबाहेक अरू विकल्प थिएन। म सुस्त गतिमा हिँडे, हिँडिरहेँ ।

अन्तत: त्यो यात्राले मलाई जीवनमा अगाडि बढायो। तर म त केवल घर फर्किन चाहन्थेँ। मेरो परिवारले मलाई फिर्ता बोलाओस् भनेर मैले नाम सुनेका सबै भगवान् पुकारेँ।

एउटा शनिवार म कामबाट फर्किदै थिएँ। तालतिर जाने बाटो सोध्न एउटा कार रोकियो। कारमा पुरुषहरूको एउटा समूह थियो। मलाई त्यही ठाउँमा फिर्ता ल्याइदिने वचन दिँदै उनीहरूले मलाई बाटो देखाइदिन आग्रह गरे।

म कारमा बसेँ, तर उनीहरूले मलाई तत्काल फिर्ता ल्याइदिएनन्। उनीहरूले त्यहाँबाट मलाई लगे र बलात्कार गरे।

मैले कसैलाई पनि भनिनँ किनभने त्यो मेरै गल्ती हो भन्ने मलाई लाग्यो। म खराब भएका कारण मलाई दण्ड दिइएको भन्ने मलाई लाग्यो।

त्यति बेलासम्म मनपरी गर्न खोज्ने मानिससँग अभ्यस्त भइसकेकी थिएँ। म सँग कुनै आत्मसम्मान थिएन। म राम्री खान्नथेँ। म आफूलाई यति घृणा गर्थेँ कि म मर्न चाहन्थेँ।

BBC Nepaliआन्टाल्या जाने क्रममा घाम ताप्दै लुसी

ती पुरुषहरू फेरि फर्किएर आए तर म कारमा चढ्न मानिनँ। म भागेँ। म निकै आतुर थिएँ म फोन भएको ठाउँमा पुगेँ र आमालाई फोन गरेँ। मैले याचना गरेँ। म रोइरहेको थिएँ उहाँले जे चाहनुहुन्छ म त्यही गर्छु भनेँ।

"तपाईँ जस्तो चाहनुहुन्छ म त्यस्तै बन्न सक्छु," मैले भने। "खराब कुराहरू भइरहेको छ।" मैले ममाथि के भयो त्यो भनेँ। उहाँले यतिमात्रै भन्नुभयो त्यो मेरै गल्ती हो र मैले परिवर्तन हुनुपर्छ।

त्यसपछि म केवल मर्न चाहन्थेँ। एउटा ताका म प्रत्येक २० मिनेटमा आत्महत्या रोक्ने नम्बरमा फोन गर्थेँ।

२१ वर्षको उमेरमा मलाई घरविहीनहरूको आश्रय स्थलले पनि निकालिदियो। त्यहाँ काम गर्ने एकजना मुख्य महिला म सधैँ दुर्दिनमा हुनेछु भनेर कराउँथिन्। उनमा केही थियो- उनले त्यो भनेपछि मलाई सोच्न कर लाग्यो। "म त्यो हुन दिन्नँ।"

मलाई लाग्यो मैले एउटा निर्णय गर्नुपर्छ। मैले बाँच्ने प्रतिबद्धता आफैँसँग गर्नुपर्छ र मर्ने विचार त्याग्नुपर्छ।

BBC Nepaliइसबेल र इरानी महिला साइकल टोलीका अरू सदस्य

मेरो लागि मनोबल उच्च राख्नु एकदमै गाह्रो थियो। तर म अकस्मात् केवल 'सुपरवुमन' मात्रै भइनँ म जहाँ थिएँ त्यहाँबाट घस्रिएर बाहिर पनि निस्किएँ।

कलेजमा भर्ना भएँ। बसभन्दा सस्तो र छिटो भएकोले पुरानो बाइक पनि किनेँ।

स्थानीय बाइक क्लबबाट साइकल चलाउन पनि थालेँ। त्यहाँ म मात्रै महिला थिएँ र मैले आफैँले सिकेँ। मैले त्यसलाई निरन्तरता दिएँ।

म तीव्र गतिमा साइकल चलाउन मन पराउँथे किनभने त्यसले सबै कुराबाट भाग्न सकिन्थ्यो। मेरो जीवनमा पनि सुधार हुँदै गयो। म यतिधेरै साइकल चलाउँथे कि मेरो मस्तिष्कबाट सुखद अनुभूति गराउने इन्डोर्फिन नामक हर्मोन एकैपटक धेरै निस्किन्थ्यो होला।

मलाई पहिलो पटक जहाँसुकै गए पनि आफ्नोपन अनुभव पनि हुन थाल्यो।

सन् २०१४ को कमनवेल्थ गेम्सका लागि साइक्लिङ गर्ने भेलोड्रोम बनेपछि म त्यहाँ पनि गएँ। त्यहाँ र त्यति नै बेला मैले ग्लाज्गोमा एउटा प्रतिस्पर्धी समूहमा खेल्ने प्रस्ताव पाएँ।

मेरो पहिलो ठूलो प्रतिस्पर्धामा अघिल्लो कमनवेल्थ गेम्सका पदक विजेताभन्दा पहिला भएर स्वर्णपदक जितेँ।

यो त्यतिबेला हो जतिबेला मैले इरान जाने अवसर पाएँ। फर्किएर हेर्दा म त्यहाँ जानका लागि सही समय थिएन, तर मेरो परिवार त्यहाँ भएकाले त्यसले तानेको हुनुपर्छ।

तेहरानमा मलाई इरानी टोलीका लागि खेल्ने प्रस्ताव आयो। मलाई लाग्यो, "त्यो मेरा लागि आफ्नो बुवा र त्यो देशसँग जोडिने मौका हो।" त्यसैले मैले स्कटल्यान्डमा कमनवेल्थ गेम्समा छानिनका लागि समय खर्चिनुभन्दा इरानकै लागि खेल्ने निधो गरेँ।

म त्यसभन्दा पहिला कहिल्यै पनि महिला अधिकारका विषयमा संलग्न भएकी थिइनँ। तर इरानमा त अति नै थियो। साइकल कुदाउने महिलाहरूमाथि जस्तो व्यवहार गरिन्थ्यो म त्यसविरुद्ध बोल्न थालेँ।

BBC Nepaliबोलिभियाली एल्टिप्लानोमा इसबेल

हामीले हिजाब लगाउनुपर्थ्यो, उखरमाउलो गर्मीमा त्यो निकै कठिन हुन्थ्यो।

महिलाहरूबाट मोबाइल फोन खोसिन्थ्यो- महिलाबाट, पुरुषबाट होइन। महिलाहरूले पुरुषलाई सन्देशहरू पठाएर ध्यान अन्त नजाओस् भनेर त्यसो गरिएको भनेर उनीहरूले मलाई भनेका थिए।

मैले त्यस्तो भेदभाव र थिचोमिचोविरुद्ध बोलेँ, तर केही परिवर्तन भएन। अन्तत: मैले त्यो ठाउँ छोडेँ। म तेहरानबाट टर्की गएँ, जहाँ मैले मौकाले एकजना मानिसलाई भेटेँ जो महिनौँदेखि साइकलमा विभिन्न ठाउँहरू घुमिरहेका थिए।

मैले तत्कालै मेरो इच्छा पनि त्यस्तै भएको अनुभूत गरेँ। म त्यहाँबाट स्कटल्यान्ड फर्किएँ र आफ्ना सबै सामान बेचेर निस्किएँ। म फ्रान्सको निस जाने विमान चढेँ र त्यहीँबाट साइकलमा विश्वभ्रमण सुरु गरेँ।

लुसीसँग कसरी भेट भयो?

टर्कीको मरमारा समुद्रनजिकै मैले लुसीलाई भेटेँ।

मधुरो रङ्गको कुकुरलाई साइकलको पछाडिको पाङ्ग्रामा घस्रिएको देखेँ। मैले साइकलको पाउदान दबाएँ र त्यहाँबाट अघि बढ्न खोजेँ। तर कुकुरले मलाई पच्छ्याउन छोडेन। मैले साइकल रोकिनँ।

म विश्वभ्रमण गर्दैथिएँ - गल्लीको कुकुरसँग के गर्नु थियो र? कुकुर पछिपछि आइरहेको थियो, तर उसको आकृति टाढा हराउँदै गयो। एकछिनपछि मलाई लाग्यो, "यो गलत हो, इसबेल।" मैले ब्रेक दबाएँ।

अन्तत: कुकुरले मलाई भेट्यो, एक मिटर पर बस्यो। मैले मेरो हात अघि बढाएँ, तर ऊ केही पर नै बस्यो।

मनजिकै बस्ने ठाउँ खोज्न निस्किएँ र उसले मलाई पच्छायो। त्यसको भोलिपल्ट म उसलाई उसको गाउँ फर्काइदिने सोच्दैथिएँ तर उसलाई कुकुरहरूको हुलले आक्रमण गर्‍यो।

कुकुरहरूको बथानमा पुगेपछि मैले भेटेको कुकुरले जनाएको प्रतिक्रियाले मलाई मेरो १६ वर्षको उमेरमा पुर्‍यायो। त्यो पोथी कुकुर त्यहाँबाट भाग्न चाहिन। उनीहरूसँग जुध्न खोजेन।

म त्यस्तै थिएँ, मानिसहरूलाई ममाथि अन्याय गर्न दिन्थेँ। सबै कुरा धमिलो भयो। मैले मेरो साइकल फालेँ र चिच्याउन थाले, र मलाई नै थाहा नभएको शक्ति मैले महसुस गरेँ। कसरी कसरी मैले तिनीहरूलाई भगाएँ।

म केही पाइलापछि हटेँ र लुसीका लागि रुन थालेँ। तर साँच्चै म आफ्ना लागि रोइरहेकी थिएँ।

मैले सबै कुरालाई रोकेर जीवन बाँचिरहेकी थिएँ र यो त्यतिबेला के भएको थियो भन्ने महसुस गर्ने क्षण थियो।

BBC Nepaliलुसीसँग इसबेल

उसलाई सुरक्षित ठाउँमा पुर्‍याउने उद्देश्य मैले बनाएँ किनभने सुरक्षाबिना जीवन कस्तो हुन्छ भन्ने मलाई राम्रोसँग थाहा थियो।

यात्राको त्यो हिस्साले केही परिवर्तन गर्‍यो - यो शक्ति, यो आत्मसम्मान, यही कुकुरबाट प्राप्त भयो।

म एकदमै फरक भएँ। म अब पीडित थिइनँ। मैले सोचिरहेँ, "मैले आफैँलाई जोगाउन नसकेका बेला यो कुकुरलाई कसरी जोगाए?"

मैले आफैँलाई माया गर्न थाल्नुपर्छ भन्ने बुझेँ र कसरी भन्ने थाहा थिएन। तर मैले जसरी लुसीको हेरचाह गरेँ सम्भवत: त्यसैगरी। ऊ सुरक्षित र संरक्षित छ र उसले खाएकी छ भन्ने ख्याल गरेँ। र, अन्तत: मैले उसलाई जस्तो व्यवहार गरेँ आफैँलाई पनि स्वत: त्यसै गर्न सकेँ।

मैले परिणाममा केही नचाहीकन निस्वार्थ प्रेम गरेको महसुस पहिलो पटक गरेँ। त्यो एकदमै परिवर्तनकारी थियो। म आफ्नोबारे के ठान्थेँ भन्ने सबै मेरा बुझाइहरू विकृत भएका थिए। म भर्खरै ब्युँझिएँ जस्तो भएँ। म चकित परेँ।

म सम्झन्छु लुसी मेरो पालबाहिर मेरो जीवन त्यस्तो थियो भन्ने अविश्वासमा बसेको। मैले त्यतिखेर मात्र सोचेँ, "वाह इसबेल, तैँले जे हासिल गरिस् त्यो साँच्चै अपत्यारिलो छ।"

त्योभन्दा अगाडि म कहिल्यै पनि आफ्नोबारेमा गर्व गर्दिनथेँ। मैले लुसीलाई वाचा गरेँ म विश्वका अरू सबै लुसी र उसका साथीहरूलाई सहयोग गर्छु।

एउटा कुकुर, एउटा भुस्याहा कुकुरले मेरो जीवन परिवर्तन गर्‍यो। कुनै मानवले गर्न नसक्ने त्यस्तो कुरा उसले गरिदियो। उसले मेरो उद्धार गर्‍यो।

  बीबीसी नेपालीमा प्रकाशित : ओलिभिया ल्याङसँग गरिएको कुराकानीमा आधारित। इसबेलको पुस्तक 'म, मेरो साइकल र भुस्याहा कुकुर लुसी' यूकेको ब्र्याड्ट ट्राभलले प्रकाशित गरेको छ। अमेरिकी अङ्क भेलोप्रेसले प्रकाशित गरेको हो।

उनी  worldbikegirl.com र  ishbelholmes.com मा ब्लग लेख्छिन्।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा