छलिया र हुड्के नाचको माग बढ्दो

विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण जमघटहरुमा छलिया र हुड्के नाचको माग बढ्दा कलाकारहरुको पनि राम्रै आम्दानी हुने गरेको छ । 
फायल तस्विर : विजय रावत (रासस) खलंगा,जुम्ला

– विमलबहादुर  विष्ट (रासस)

डोटी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय डेउडा, छलिया र हुड्ने नाच प्रदर्शनको माग बढ्न थालेको छ ।

विभिन्न समारोह, महोत्सव वा महत्वपूर्ण जमघटहरुमा छलिया र हुड्के नाचको माग बढ्दा कलाकारहरुको पनि राम्रै आम्दानी हुने गरेको छ । 

पहिले ठूलाबडा अर्थात् गाउँका मुखिया ठालुहरुका घरमा विवाह, व्रतबन्ध जस्ता उत्सवमा मात्रै छलिया र हुड्के नचाइने गरिन्थ्यो । दीपायलका हुड्के नाच नाच्ने गगने नेपालीले भने, “पहिला नाच देखाए बापत एक छाक खाना तथा केही लुगाफाटो पाइन्थ्यो तर, अहिले बोलाएको ठाउँ पैसा लिने गरेका छौँ ।”

सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा धार्मिक कार्यक्रमहरु हुँदा सबैभन्दा बढी छलिया र हुड्के नाच नचाइने गरिएको उद्योग बाणिज्य सङ्घ डोटीका महासचिव दीपकबहादुर खड्काले बताए । उनले भने, “विभिन्न चाडबाडदेखि अन्य शुभ कार्य गर्दा हुड्के नभई शोभा हुँदैन । अहिले त हुड्के नाच्नेको अग्रिम बुकिङ नै गर्नुपर्छ ।” यति मात्र नभई डोटीको दीपायल र तिखाँका हुड्के नाच्नेहरुसँग एक महिना पहिलेदेखि नै सम्झौता गर्नुपर्ने अवस्था आएको महासचिव खड्काले जानकारी दिए ।

दीपायलको हुड्के नाच टोलीले एक दिनको रु १५ हजार लिने गरेको छ भने छलिया नाच टोलीले रु १५ हजारदेखि २० हजारसम्म लिने गरेको छ । छलिया नाच ज्यादाजसो बैतडी जिल्लावासीले नाच्ने गर्दछन् । यतिमात्र नभई डोटीको शिखर नगरपालिकास्थित मुडभराका रायभान ढोलीले छलिया र हुड्के नाचबाट नै आफ्नो गुजारा चलाउँदै आएका छन् । उनले भने, “महिनामा चार÷पाँच ठाउँमा मात्रै हुड्के देखाउन पाए वर्षभरिको खर्च चल्छ ।” रायभानले हुड्के नाच देखाएरै दुई छोरालाई क्याम्पसमा पढाइरहेको पनि बताए ।

त्यसैगरी, सुदूरपश्चिम प्रदेशकै प्रख्यात मानिने बैतडीको छलिया नाचको अहिले सुदूरपश्चिमभरि नै माग हुने गरेको छ । सबैतिरबाट माग बढ्न थालेपछि छलिया र हुड्के नाच्नेहरु पनि व्यावसायिक बन्न थालेका छन् । छलिया तथा हुड्के नाच्नेहरुले क्लब नै गठन गरेका छन् भने उनीहरु आफ्ना सन्ततिलाई समेत नाच्न र गाउन सिकाउन थालेका छन् । गत वर्ष डोटी, कञ्चनपुर, धनगढी, टिकापुर, साँफेवगर महोत्सवमा छलिया नाच देखाएर रु १ लाख ५० हजार रुपैया“ कमाएको बैतडी छलिया समूहले बताएको छ ।

छलिया निकै जोखिमपूर्ण नाच पनि हो । बाजाको तालमा नाच्ने तथा नाच्न नजाने चोटपटक लाग्नसक्ने दीपायलका समाजसेवी घनश्याम पाठकले बताए । “हुड्के नाचमा पुराना राजारजौटा, वीरवीरङ्गना र देवीदेवताहरुका जीवन गाथा गाउने गरिन्छ,” उाले भने, “छलिया नाच भनेको बाजाको तालमा हतियार नचाएर खेल्ने नाच भएकाले नजानेमा चोट लाग्न सक्छ ।” सुदूरपश्चिममा नाचिने छलिया नाचले युद्धकला झल्काउँछ ।

सुदूरपश्चिम प्रदेशमा प्रचलित छलिया, हुड्के, चौलो भुवाँ नाचलाई व्यवसायिकतातिर लैजान सके यहा“को कला संस्कृति लगायत नाच्नेहरुको पनि जीवनस्तर माथि उठ्न सक्ने स्थानीयवासी डम्बर भण्डारीले बताए । उनले भने, “सुदूरको संस्कृति जोगाउने र चिनाउने हो भने छलिया, हुड्के, चौलो भुवाँ नाचलाई संरक्षण गर्न जरुरी छ ।”

हुड्के गीत नेपालको सुदूरपश्चिम क्षेत्रमा गाइने प्रचलित गीत हो । यसलाई सुरिलो स्वरमा तीनदेखि चारजनाले मिलाएर गाउने गरिन्छ । यो गीत खासगरी सुदूरपश्चिम प्रदेशका बैतडी अछाम, बझाङ, बाजुरा, दार्चुला, डडेल्धुरा र डोटी जिल्लामा मुख्य रूपमा गाउने गरिन्छ । हुड्के गीत अरु समयमा नभएर विशेष गरी यहाँका प्रशिद्ध मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्य गर्न मिल्ने गीत भएको शिखर नगरपालिका वडा नं १ गुठेउडीका हुड्के नाच्ने धनीराम नेपालीले बताए । उनले भने, “हुड्के नाच पञ्चे बाजाको तालमा गाउँदै नाचिने भएकाले यसको आफ्नै पहिचान छ ।” यो गीत विशेष गरी समूहमा प्रस्तुत गरिन्छ ।

स्थानीय भाषिकाहरूमा सिर्जना भई लोकप्रियता कमाएको यहाँको हुड्केले यस क्षेत्रभन्दा बाहिर पनि आफ्नो प्रभाव छोडेको छ । उक्त नाच र गीत खास गरेर दशैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह जस्ता अवसरमा प्रस्तुत गरिन्छ । यस गीतलाई एकल रुपमा पनि गाउन सकिन्छ । 

सुदूरपश्चिमको हुड्के तथा छलिया नाच छिमेकी मुलुक भारतका विभिन्न ठाउँहरुमा गाइने र नाचिने गरिन्छ । मान्छेको जीवनमा आउने सुखदुःखका अनुभूति, मिलन बिछोड तथा पुराना राजारजौटाले गरेका काम कार्वाहीको पक्षलाई उक्त गीतले सङ्केत गरेको हुन्छ । त्यसैगरी, सुदूरपश्चिममा हुड्के, छलिया नाचसँगै डेउडा गीत पनि निकै लोकप्रिय बन्दै गएको छ ।

यहाँका पुराना डेउडा गीतहरुले हिजोआज मानिसको मन निकै लोभ्याउने गरेको छ । यहाँका वनजङ्गललगायत विभिन्न ठाउँमा गाइने डेउडा गीत सुदूरपश्चिमको कला संस्कृतिको चिनारी समेत बन्दै गएको स्थानियवासीहरु बताउँछन् ।

डेडा खेलबाट नै डेउडा संस्कृतिको उत्पत्ति भएको मानिन्छ । यसमा गायकहरू गोलो घेरा बनाई पैतरीका साथ दुई समूहमा गीतैगीतमा सवालजवाफ हुन्छ । डेउडा खेललाई न्याउले खेल पनि भनिन्छ । यस खेलमा एक समूह युवक र अर्को समूह युवतीको हुन्छ ।

युवा युवाबीच युवती युवतीबीच पनि यो सवालजवाफको खेल हुन्छ । यो डेउडा सुदूरपश्चिमका नौ वटै जिल्लामा खेलेको देख्न पाइन्छ । समूहमा प्रश्नोत्तर शैलीमा डेढ पैतलीको पदमा सन्तुलन मिलाएर समूहमा लयबद्ध ढङ्गले गाइने र खेलिने खेल नै डेउडा खेल भएको सुदूरपश्चिमका चर्चित डेउडा गाएका सूर्यविरही साउदले बताए ।

बालकदेखि वृद्धवृद्धासम्मले उक्त डेउडा खेल्न मिल्ने र सकिने भएकाले पनि यो खेल सुदूरपश्चिमको प्रख्यात खेल मानिँदै आइएको छ । डेउडा खेल गौरा पर्वमा पनि खेलिने गरिन्छ । डेउडा खेल देउडी पारेर खेलिने खेल (नृत्य) भएको केआई सिंह गाउँपालिका वडा नं ६ का स्थानीयवासी जगतबहादुर बलायरले बताए ।

झ्याउरे लगायत अन्य गीतहरू गाउँदा र नाच्दा मादलको तालमा नाचिन्छ भने डेउडा नाच अथवा देउडा खेलमा खुट्टाको चाल मिलाउनु पर्ने हुन्छ । यसरी खुट्टा चाल्ने कार्यलाई पैतोली अथवा पाइतो भनिन्छ । पाइतो हान्दा डेड कदम हान्नु पर्ने हुन्छ । एक कदममा खुट्टा पूरा जान्छ भने अर्को कदममा आधा जान्छ । यहाँ डेडीको प्रमुखता भएकाले यस खेलको नाम देउडा र यसमा प्रयोग हुने गीतलाई डेउडा गीत भनिएको हो । डेउडा खेलमा गीत गाउँदा पनि दुई पङ्क्तिमध्ये पहिलो पङ्क्तिको श्लोक पहिलो पटक पूरा र दोस्रो पटक आधा उच्चारण हुन्छ । 

डेउडा अथवा न्याउले खेल भन्नाले कुनै खेलकूद नभएर एक मनोरञ्जनात्मक परम्परागत नृत्य हो भन्ने बुझ्नु पर्ने हुन्छ । डेउडा खेल्ने भन्नाले गोलो घेरा बनाएर पैतोलका तालमा समूहगत रुपमा नृत्य प्रस्तुत गर्नु भन्ने बुझ्नु पर्छ । डेउडा खेलका सहभागीहरूले कुममा कुम जोडेर अथवा एकापसमा पाखुरा समातेर समूहगत रुपमा खुट्टा अघिपछि गरेर गीतसँग सामान्य नृत्य गर्छन् ।

विभिन्न उमेर समूहका महिला तथा पुरुषले यस गीतमा छुट्टाछुट्टै नृत्य गर्न सक्छन् भने एउटै समूहमा मिसिएर पनि खेल्ने गर्दछन् । डेउडा खेलमा विशेष गरेर मायाप्रेम, विरह व्यथा, मानसिक भावहरूको अभिव्यक्ति तथा लोक जीवनका मार्मिक स्वरहरू प्रस्तुत भएको पाउन सकिन्छ । राजनीतिक, सामाजिक तथा वैयक्तिक व्यङ्ग्यका साथै सामाजिक उत्पीडन, विषमता जस्ता विषयहरू डेउडामा मिहीन किसिमले केलाएर प्रस्तुत गरिएको हुन्छ । 

सामूहिक देउडा खेल्दा डेउडियाहरू ठूलो आँगन तथा चौरमा गोलो घेरा बनाएर मुखामुख गरी दुई समूहमा विभाजित हुन्छन् । दुवै समूहतिर दुईजना गीदाउडाहरू हुन्छन् । गीतको उठान गर्ने व्यक्तिलाई गीदाउडा अथवा खेलाउडा भनिन्छ । बाँकी सहभागीहरूले तिनले भनेको गीतलाई पछ्याउँदै, पाइतो (खुट्टाको ताल) मिलाएर देउडा गायन र नृत्यमा झुम्मिने गर्दछन् ।

यसरी प्रस्तुत गरिने सवालजवाफलाई यहाँको भाषामा झिट्टा भनिने जोरायल गाउँपालिका वडा नं ५ का डेउडीया धनीराम नेपालीले बताउनुभयो । दोहरी शैलीमा देउडा खेल्दा गाउँ खाने कथा भन्ने गरिन्छ । यसमा प्रायः सबैजसो मान्छेले खेल्न सक्ने सामान्य किसिमको नाच प्रस्तुत गरिन्छ ।

यसरी डेउडा खेल्दा एकै ठाउँमा फरक फरक समूहहरू बनाएर पनि प्रस्तुत गर्ने गरिन्छ । बूढापाका, तन्नेरी पुरुष, महिला तथा बालबालिकाहरू छुट्टाछुट्टै रुपमा पनि देउडा खेलेको पाइन्छ । सबै उमेरका मान्छेहरू तथा युवक युवतीहरू एकै समूहमा घेरा बनाएर पनि नृत्य प्रस्तुत गर्ने गरिन्छ । अपरिचित मान्छेहरू एकै खेलमा जुटेर गीतैगीतबाट  सवालजवाफ गरी परिचय गर्ने र मायाप्रेमका गीतहरूसमेत गाउने हुनाले यसको रोचकता नै बेग्लै हुन्छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा