शुक्रबार, ६ भदौ, २०७६ Friday, 23 August, 2019

बुढीगङ्गा किसानलाई पेन्सन दिने देशकै पहिलो स्थानीय निकाय 

ढिलो गरी नगरसभा सञ्चालन गरेको बुढीगङ्गा नगरपालिकाले जिल्लामै उत्कृष्ट र नमूना नीति तथा कार्यक्रम समावेश गरेको भन्दै सामाजिक सञ्जालबाटै प्रतिक्रिया आउन थालेका छन् । देशमै किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा पहिलो  स्थानीय निकाय हो ।
प्रतिनिधिमुलक फायल फोटो । वेव

 

बाजुरा: जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताए ।

ढिलो गरी नगरसभा सञ्चालन गरेको बुढीगङ्गा नगरपालिकाले जिल्लामै उत्कृष्ट र नमूना नीति तथा कार्यक्रम समावेश गरेको भन्दै सामाजिक सञ्जालबाटै प्रतिक्रिया आउन थालेका छन् । देशमै किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा पहिलो  स्थानीय निकाय हो ।

तत्काल कार्यविधि बनाएर यसै आर्थिक वर्षबाट शुरुआत गर्नेगरी नगरसभाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल ठकुल्लाले बताए। किसानलाई शुरुमा रु ५०० देखि रु एक हजार सुविधा उपलब्ध गराउने प्रस्ताव गरेको उपप्रमुख तारा खातीले बताए ।

रु ५१ करोड बजेट प्रस्तुत गरेको नगरपालिकाले फलफूल गाउँ निर्माणदेखि कृषि पशुपालनलाई पहिलो प्राथमिकता दिएको छ । यो वर्षबाट निजी स्रोतका शिक्षक नराख्ने गरी नगर स्वयंसेवक शिक्षक राख्ने र शिक्षा विकासमा विशेष जोड दिने नीति नगरपालिकाले लिएको छ । त्यसका लागि रु ८० लाख बजेटसमेत विनियोजन गरिएको छ ।

यस्तै नगरपालिकाले नगरवासीलाई लक्षित गरी नगरबस सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाका अरु नौ स्थानीय तहभन्दा यो निर्णय पनि बुढीगङ्गाले फरक गरेको हो । रु एक करोड बजेट विनियोजन गरेर बुढीगङ्गाले असोजसम्म नगरबस सञ्चालन गर्ने निर्णय गरेको हो । सबै वडामा बाटो पुगिसकेकाले सर्वसाधारणको आवश्यकतालाई मध्यजनर गरेर निर्णय गरिएको वडा नं ९ का अध्यक्ष भरतबहादुर थापाको भनाइ छ ।

नगरपालिकाले ‘तपाईंको मेहनत हाम्रो लगानी’ र स्वरोजगार अनुदान घुम्तीकोषका लागि बजेट विनियोेजन गरेको छ भने नगरकै जेसिबी तथा डोजर र टिपरसमेत खरीद गर्ने निर्णय गरेको छ । नगरसभाले त्यसका लागि पनि रु एक करोड बजेट छुट्याएको छ । यसै वर्षमा वडा भवन निर्माण गर्ने, नगरपालिकाको सुविधासम्पन्न भवन निर्माणको काम अघि बढाउने र विकासका लागि बुढीगङ्गा विकास सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै दुई सय भन्दा बढी बिरुवा रोप्ने, पाँच रोपनीमा तरकारी खेती गर्ने, पाँचभन्दा बढी गाई–भैँसीपालन गर्ने लक्ष्य नगरले लिएको छ ।

विकासमा नयाँपन नआएको र विकास बजेटसमेत खर्च नगरेको आरोप लागिरहेको बेला ल्याइएको नीति तथा कार्यक्रमले केही ऊर्जा थपिएको नगरपालिकाका स्थानीयवासीले प्रतिक्रिया दिएका छन् । कृषकलाई पेन्सनको व्यवस्था नेपालमै पहिलोपटक भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले प्रतिक्रिया दिए । स्थानीयवासीसमेत रहनुभएका जैशीले किसान महासङ्घले छलफलमा ल्याए पनि कार्यान्वनका लागि बुढीगङ्गाले पहिलो निर्णय गरेको बताए । रासस। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा