शुक्रबार, ६ भदौ, २०७६ Friday, 23 August, 2019

असुरक्षित सामाजिक सञ्जालबाट कसरी सुरक्षित रहने ? यसो गर्नुस्

पछिल्लो समय फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ । जुन अहिलेसम्म कै सबैभन्दा धेरै जरिवाना हो ।

प्रविधिको चरम विकाससँगै आम मानिसको दैनिक जीवनशैलीमा पनि परिवर्तन आएको छ । सामाजिक सञ्जालहरु जस्तै फेसबुक, ट्वीटर, इन्स्टाग्रामको उच्चतम प्रयोग यसको एउटा ज्वलन्त उदाहरण हुन् । पछिल्लो समय सामाजिक सञ्जाल मानिसको अभिन्न अंग जस्तै बनिसकेको छ ।

टाढा रहेको आफ्नो आफन्तजनहरुसंग जोडिनु पर्दा होस् या दैनिक रुपमा साथीभाइसित सूचना आदान–प्रदान गर्न सामाजिक सञ्जाल नै सहज र उत्कृष्ट विकल्प रहदै आएको छ । यति मात्र नभएर कतिपय मानिसहरुको समय कटाउने राम्रो माध्यम पनि बनेको छ सामाजिक सञ्जाल । 

जति धेरै मानिसहरु सामाजिक सञ्जालमा जोडिन आउँछन त्यतिनै धेरै सामाजिक सञ्जाल कम्पनीहरुलाई फाइदा हुने गर्दछ । सामाजिक सञ्जाल विकासकर्ताहरुको प्रत्यक्ष आयआर्जनको स्रोत भनेको आफ्नो प्रयोगकर्तालाई देखाउने विज्ञापननै हो । 

सामाजिक सञ्जाललाई तथ्यांक र सूचनाको खानी भनिन्छ । त्यसैले सामाजिक सञ्जाल कम्पनिहरु सकेसम्म धेरै भन्दा धेरै प्रयोगकर्ताको जानकरी लिने गर्दछन् । जसबाट प्रयोगकर्ताको स्क्रिनमा उचित विज्ञापन देखियोस । यसलाई प्राविधिक भाषामा लक्षित वर्ग (Targeted Audience) भनिन्छ ।

यसै सिलसिलामा संसारकै सबैभन्दा ठुलो सामाजिक सञ्जाल फेसबुकले अनुसन्धानका क्रममा प्रयोगकर्ताका डाटाहरु एउटा अनलाइन क्विजमार्फत जम्मा गरेर क्याम्ब्रिज एनालिटिकालाई बिक्री गरेको पुष्टि भएको थियो । सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनाव र बेलायतको ब्रेक्जिट जनमत संग्रहको नतिजा प्रभावित पार्न पनि यस्ता डाटा प्रयोग गरिएको अभियोग लाग्दै आएको छ । यसै विवादमा फेसबुकको भूमिकालाई जिम्मेवार ठहर्याउँदै बेलायतको डाटा संरक्षण गर्ने एक सरकारी निकायले ५ लाख पाउन्ड जरिवाना तिराएको थियो ।

पछिल्लो समय फेसबुकको गोपनीयता व्यवस्थापन कमजोर भएको भन्दै अमेरिकाले फेसबुकमाथि ५ अर्ब डलर जरिवाना गर्ने निर्णय गरेको छ । जुन अहिलेसम्म कै सबैभन्दा धेरै जरिवाना हो ।

यसरि सामाजिक सञ्जालको सुरक्षा चुनौतीमाथि प्रश्न उठाउदै गर्दा प्रयोगकर्ता स्वयम् पनि सजग हुनु एकदमै जरुरि हुन्छ । प्रविधिको प्रयोगले हाम्रो जीवनमा सहजता त प्रदान गरेको छ नै तर यसको सहि तरिकाले प्रयोग गर्न जानिएन भने त्यतिकै बेफाईदा पनि छ । सामान्य भन्दा सामान्य ज्ञानको कमिको कारणले कतिपय मान्छेले ठुलो पनि मूल्य चुकाउनु परेको छ । त्यसैले सामाजिक सञ्जाल प्रयोग गर्दा निम्नलिखित कुरामा ध्यान दिनु जरुरि हुन्छ । 

१. ओरिजिनल नामबाट मात्र आइडी खोल्ने 
चाहे त्यो फेसबुक होस् या अरु प्लेटफर्म, सामाजिक सञ्जालमा खाता खोल्दा आफ्नो ओरिजिनल जानकारी राखेर मात्र खाता खोल्नु पर्छ । फेसबुकमा बढ्दो ‘फेक अकाउन्ट’ हटाउने क्रममा फेसबुकले 'ओरिजिनल ' नलाग्ने खालको खाता कुनै पनि बेला बन्द गरिदिन सक्छ ।

त्यसैले आफ्नो सत्य जानकारी राखेर मात्र सामाजिक सञ्जालमा आइडी बनाउदा सुरक्षित रहन्छ । 

२. समय समयमा आफ्नो पासवर्ड परिवर्तन गरिराख्ने 
विज्ञहरुका अनुसार आफ्नो सम्पूर्ण इन्टरनेटमा राखिएको पासवर्ड समय समयमा परिवर्तन गरि राख्नु पर्छ। यसो गर्नाले आफ्नो खाताहरु सुरक्षित रहन्छ । र परिवर्तन गरिसकेको सम्पूर्ण पासवर्डहरु कुनै सुरक्षित फाइलमा सेभ राख्ने ।

कम्तिमा तिन तिन महिनामा धेरै प्रयोग गरिने खाताहरुको पासवर्ड परिवर्तन गरि राख्ने । यतिमात्र होइन इन्टरनेटमा प्रयोग हुने प्रत्येक अकाउन्टहरुको पासवर्ड छुट्टाछुट्टै राख्नु पर्छ । 

३. शंकास्पद लिंकमा क्लिक नगर्ने 
बढ्दो सामाजिक सञ्जालको प्रयोगको फाइदा उठाउने लक्ष्यले विभिन्न ह्याकर माफियाहरुले फिसिङ्, स्प्यामिङ् मार्फत महत्वपूर्ण जानकारी चोर्छन । त्यसैले इनबक्समा वा न्युजफिडमा देखिने शंकास्पद लिंकहरुमा क्लिक गर्ने बितिकै आफ्नो महत्वपूर्ण जानकारीहरु ह्याकरसम्म पुग्छ । यस्ता लिंकहरु धेरै प्रकारको हुन्छ ।

कुनै कुनै लिंकमा क्लिक गरिसके पछि आफ्नो जानकारी सम्पूर्ण जानकारी थाहै नभई विभिन्न फर्ममा आफ्नो वालमा शेयर हुनपुग्छ । यस्ता खालका लिंक हरु इनबक्समा वा इमेलमा चिट्ठा पर्यो 'युजरनेम र पासवर्ड' हाल्नुस भन्दै पठाउने गर्छन ।  विभिन्न प्रलोभनमा परेर लग इन गर्ने वित्तिकै सम्पूर्ण जानकारी ह्याकरकोमा पुग्छ र उसले आइडी कब्जामा लिन्छ ।

त्यसैले, यस्ता किसिमका लिंकहरु मा कहिल्यै पनि क्लिक गर्नु हुदैन ।

४. थर्ड पार्टी एप्सहरु प्रयोग नगर्ने 
पछिल्लो समय फेसबुकमा इन्टिग्रेट गरिएको विभिन्न खालका थर्ड पार्टी एप्सहरुको प्रयोग बढ्दो छ । थर्ड पार्टी एप्स भन्नाले तपाइको जानकारीहरु लिएर कुनै एउटा रिजल्ट दिन्छ । जस्तै तपाईं यति प्रतिशत बुद्दिमानी, यस्तो मान्छे, भन्ने धेरै किसिमको 
Quiz Types एप्सहरु फेसबुकमा भेटिन्छन । यस्ता खालका एप्सहरु पूर्ण रुपमा पैसा कमाउने हेतुले बनाइएका हुन्छन । यस्तो एपहरु चलाए वापत आफ्नो जानकारीहरु एप विकासकर्ताले लिने गर्छ ।

यहि जानकारीको आधारमा उसले विज्ञापनमा प्रयोग गर्छ। सकेसम्म यस्ता खालका एप हरु प्रयोग नगरेकै राम्रो हुन्छ । 

५. Incognito Mode को प्रयोग गर्ने 
आफ्नो कम्प्युटरबाहेक अरुको कम्प्युटर या ल्याप्टपमा अकाउट लग इन गर्नु पर्यो भने  Incognito Mode प्रयोग गर्नु पर्छ।  यो अप्सन ब्राउजरको सेटिङ्मा हुन्छ । गुगलक्रोमा सेटिङ्मा New Incognito Window हुन्छ भने मोजिल्ला फायरफक्समा New Private Window हुन्छ । यसबाट चलाएको कुनैपनि के चलाएकाे थियाे भन्ने जानकारी (History) रहदैन ।  यसको मतलब ब्राउजर क्लोज गरिएपछि सबै क्रियाकलाप मेटिन्छ ।  

६. बलियो पासवर्ड राख्ने 
सामान्यतय धेरै जसोले एकदमै सामान्य र अन्दाज गर्न सकिने पासवर्ड राख्ने गरेको पाइन्छ । सामान्य पासवर्ड भन्नाले आफ्नो नाम र जन्मदिन, साल, नाम १२३, इत्यादी पर्दछन ।  यस्ता किसिमका पासवर्डहरु कहिलेकाही सजिलै गेस गर्न सकिने हुनाले त्यति सुरक्षित मानिदैन ।

त्यसैले, पासवर्ड राख्दा सानोरठुलो अल्फाबेट, क्यारेक्टरहरु जस्तै #, @, *, $, &, %, अनि नम्बर हरुको मिश्रण प्रयोग गर्नुपर्छ । तर, यस्ता किसिमका पासवर्डहरु भुलिने हुँदा जस्तै Password  लाई [email protected]$$word यस्तो तरिकाको राखियो भने बलियो र सम्झिन सजिलो हुन्छ । 

७. दाेहाेराे  प्रमाणिकरण सुचारू (Double Authentication Enable) गर्ने ।  

दाेहाेराे  प्रमाणिकरण भन्नाले यदि कसैले आफ्नो अकाउन्ट खोल्न खोजे आफ्नो फोनमा नोटिफिकेशन आउँछ । यसो गर्नाले कसैले चलाउन वा दुरुपयोग गर्न खोज्ने सजिलै थाहा पाइन्छ ।  यो अप्सन राख्नको लागि फेसबुकको Setting>Security and Login>Use Two Factor Authentication मा गएर Enable गर्न सकिन्छ।  यति गरि सकिएपछि प्रत्येक चोटी फेसबुक लग इन गर्दा एउटा कोड आफ्नो फोनमा आउछ त्यो कोड हलिसकेपछि मात्र लग इन हुन्छ ।  यस्तै अरु आइडीहरुमा पनि यो सेटिङ राख्नु पर्छ ।   

८. फेक अकाउन्ट देखि सावधान रहनुहोस 
पछिल्लो समय सामाजिक सञ्जालको माध्यामबाट विभिन्न व्यक्तिहरुले आर्थिक प्रलोभनमा पारेर फसाउने गरेको पाइन्छ । आफ्नो फेक आइडी बनाएर सुरुमा नजिकिने र पछि आर्थिक लाभ लिने प्रचलन बढ्दो छ । यसको एउटा मुख्य कारण भनेको फेक आइडी पहिचान गर्न नसक्नु हो।

नचिनेको व्यक्तिबाट आएको रिक्वेस्टलाई राम्रो संग चिनेर मात्र एक्सेप्ट गर्ने गर्नुपर्छ । उसले हालेको फोटो, कहिले खोलेको, अन्य सामाजिक संलग्नता, उसको पोष्टमा आउने कमेन्ट लगायतबाट वास्तविक आइडी हो या होइन भनेर पहिचान गर्न सकिन्छ ।

नचिनेको आइडी वा शंकास्पद लागेको आइडीबाट आएको रिक्वेस्टलाई सिधै डिलिट गरिदिने । 

९. गोप्य सूचनाहरु नखुलाउनुस 
आफ्नो अति गोप्य सूचनाहरु जस्तै आर्थिक जानकारी, फोन नं, घर नं जस्ता संवेदनशील जानकारीहरु सकेसम्म राख्नु हुदैन । यस्ता किसिमका जानकारीहरु राख्नाले गोपनियता भंग हुन्छ र यहीं सूचना अपराधको आधार बन्न सक्ने हुनाले सकेसम्म गोप्य नै राख्दा उचित हुन्छ । साथै, अनलाइनमा आफ्नो कमजोरीहरु पोस्ट नगर्ने । अन्तरिक र घरायसी कुराहरुलाई सकेसम्म बाहिर नल्याएकै राम्रो हुन्छ । 

१०. एप्स अपडेट गरिरहने 
सामाजिक सञ्जालहरु धेरै जस्तो मोबाइलमा चलाइने हुँदा रेगुलर रुपमा एप्स अपडेट गरिराख्नु पर्छ । प्रत्येक अपडेटमा कुनै पनि समस्या वा बगहरु समाधान गरिएको र सुरक्षाका हिसाबले मात्र नभई अन्य फिचरहरुपनि थपिने हुनाले अपडेटेड भर्सन प्रयोग गर्नु उपर्युक्त मानिन्छ । एप्सहरु Play Store > My Apps & Games>Update All मा गएर अपडेट गर्न सकिन्छ।

लेखक विकास राई सुचना, प्रविधि र डिजिटिल मार्केटिंगसम्बन्धि काममा आवद्ध हुनुहुन्छ । थप जानकारीकाे लागि  इमेल गर्न सक्नुहुनेछ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा