आइतबार, १ भदौ, २०७६ Sunday, 18 August, 2019

शक्ति अस्थायी र सत्य स्थायी हुन्छ : प्रम ओली

"यही धर्तीमा वेद र पुराणको रचना भएको थियो, कोशी र गण्डकीको किनारमा । यो भूमि सभ्यताको जन्मभूमि हो ।”
प्रधानमन्त्री केपी शर्मा ओली। फोटो: फायल फोटो । वेव

 

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शक्ति अस्थायी हुने तर सत्य स्थायी र अपराजेय हुने बताएका छन् । ग्लोबल हिन्दू फेडरेसनका अध्यक्ष प्रदीपकुमार कुक्रेजाको नेतृत्वमा आएको ३० सदस्यीय प्रतिनिधि मण्डलसँग प्रधानमन्त्री निवास बालुवाटारमा कुरा गर्दै आज उनले वैदिक सभ्यता र परम्पराका बारेमा चर्चा गरेको उनको सचिवालयले जनाएको छ । 

प्राच्य सभ्यता र मौलिक संस्कृतिको सकारात्मक पक्ष एवं गौरवमय विगतका बारेमा बताउँदै प्रधानमन्त्री ओलीले भने,“हाम्रा पूर्खा अनुसन्धाता र आविष्कारक थिए, उनीहरुले सबै बिरुवाका पात र जराको परीक्षण गरी औषधिको विकास गरे, आयुर्वेदको विकास गरे ।” 

प्रधानमन्त्री ओलीले भने,“हिन्दूवादका नाममा हामीले अन्धअनुशरण गर्नु हुँदैन, हाम्रा पूर्खाले कुनै पनि कुरा परीक्षणपश्चात मात्र विश्वास गर्नुपर्दछ भनेका छन् । आज पश्चिममा प्रयोगशालाबाट प्रमाणित गर्ने कुरा गर्दछन्, तर हाम्रा पूर्खाले उहिल्यै परीक्षण र पुष्टिको कुरा गरेका थिए ।”

प्रधानमन्त्री ओलीले दर्शन शास्त्र विश्वको यही भू–भागमा उत्पन्न भएको हाम्रा पुराणबाट पुष्टि गरिएको उल्लेख गर्दै हाम्रा पूर्खाले ब्रह्माण्ड र पृथ्वीको उत्पत्तिका सम्बन्धमा र खगोल शास्त्रका विषयमा समेत विहङ्गम अध्ययन गरेको बताए ।  

हाम्रो गौरवमय परम्परा र विज्ञानबीच अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, “यही धर्तीमा वेद र पुराणको रचना भएको थियो, कोशी र गण्डकीको किनारमा । यो भूमि सभ्यताको जन्मभूमि हो ।” हाम्रो परम्परा गौरवमय थियो भन्ने कुरा अब कामबाटै प्रमाणित गर्नुपर्ने समय आएको उनको भनाइ थियो । रासस।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा