कुखुरा पालेरै मासिक डेढ लाख कमाई

‘‘विदेशमा पसिना बगाइयो, त्यहाँ गएपछि मलाई स्वदेशमा नै काम इच्छा जाग्यो अहिले मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी गरिहेको छु ।’’
प्रतिनिधिमुलक फायल फोटो : वेब

 

भोजपुर । जिल्लामा पछिल्लो समय युवाहरुमा विदेश गएर आएपछि व्यवसायमा लाग्ने लहर बढेको छ । उनीहरुले विदेशको दुःख सम्झदै थालेको व्यवसायबाट निकै राम्रो आम्दानी पनि गरिरहेका छन् ।

यसैका उदाहरण भन्नु भएको छ भोजपुरको तिवारी भञ्याङका युवा व्यवसायी दिपक सुवेदी ।

विदेश बसेर फर्केपछि सुवेदीले करीब पाँच वर्षदेखि व्यावसायिक रुपमा खुकुरापालन गरिरहेका छन् ।सुरुमा बोइलर जातको कुखुरापालनमा लागेका उनले अहिले लेयर्स जातका कुखुरापालन गरिरहेका छन् । सुवेदी पोल्टी फर्ममा अहिले दुई हजार ७०० कुखुरा छन् भने ती कुखुराले दैनिक एक हजार १०० अण्डा उत्पादन गर्दै आएका छन् ।

जिल्लालाई अण्डामा आत्मनिर्भर बनाउने लक्ष्यका साथ काम गरिरहेको बताउने सुवेदीले मासिक रुपमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गरिहेका छन् । व्यवसायी सुवेदी भन्छन्, ‘‘विदेशमा पसिना बगाइयो, त्यहाँ गएपछि मलाई स्वदेशमा नै काम इच्छा जाग्यो अहिले मासिक डेढ लाख रुपैयाँसम्म आम्दानी गरिहेको छु ।’’

सुवेदीले अहिले पाँच जनालाई रोजगारीसमेत दिएका छन् । ‘‘पहिला आफँै रोजगारीको लागि विदेश गए, हामीमा व्यावसायिक धारणा नहुँदा दुःख पाइदो रहेछ, अहिले आफैँले पाँच जनालाई रोजगारीसमेत दिएको छु’’ उनले भने ।

उनले उत्पादन गरेका अण्डा अहिले जिल्लासँगै बाहिरी जिल्लामा समेत जाने गरेको छ । अहिलेसम्म करीब रु ५० लाख लगानी भइसकेको उनको भनाइ छ । सुरुमा खास सहयोग नपाएको भए पनि अहिले सुवेदीलाई गाउँपालिकाले ५०० चल्ला र २० बोरा चारो उपलब्ध गराएको सुवेदीको भनाइ छ ।

गाउँपालिकाले युवालाई लक्षित गरेर विभिन्न खाले सहयोग गरिएको जनाएको छ । गाउँपालिका अध्यक्ष किरण राईले भने, “पछिल्लो समय हाम्रो गाउँपालिकामा युवामा कृषिप्रतिको मोह बढेको छ ।” गाउँपालिकाले उनीहरुलाई प्राविधिक सहयोगसँगै अनुदानको पनि व्यवस्था गरिरहेको छ ।’’

स्थानीय सरकार सञ्चालनमा आएपछि जिल्लाका धेरै युवाहरुमा कृषिप्रतिको मोह बढ्दै गएको गाउँपालिको जनाएको छ । युवाहरुमा आएको व्यवसायप्रतिको धारणालाई कदर गर्दै आगामी दिनमा अझ प्रभावकारी रुपमा योजना निर्माण गरेर विदेश जाने युवाको सङ्ख्यामा कमी ल्याउने गाउँपालिकाको योजना रहेको छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा