कैलालीका महिलालाई वर्षात्मा छाउगोठ बस्न कठिन

वर्षात्को समयमा कैलालीका महिलालाई महिनावारीको समयमा समस्या हुने गरेको छ ।
फाइल फोटो / वेब

 

लम्की । वर्षात्को समयमा कैलालीका महिलालाई महिनावारीको समयमा समस्या हुने गरेको छ । महिनावारी हुँदा घरबाहिर छाउगोठमा बस्नुपर्ने बाध्यता रहेका महिलालाई पाँच दिन कटाउन कठिन हुने गरेको उनीहरुले बताएका छन् । 

टीकापुर– ८ बटनपुरकी राधा रावल वर्षात् लागेपछि छाउगोठ बस्नुपर्ने डरले सङ्गीनी सुई लगाउछन् । उनले सङ्गीनी सुई लगाउँदा आफ्नो महिनावारी रोकिने भएकाले हरेक वर्ष असार महीनामै लगाउने गरेको बताए । “वर्षात्मा सर्प, किराको डर हुन्छ, छाउगोठमा बस्दा गर्मी पनि हुन्छ”, रावलले भने, “त्यसैले एकपटक सङ्गीनी सुई लगाए तीन महीना घरभित्रै बस्न पाइन्छ । त्यसैले सुई लगाउँछु ।”

राधाका श्रीमान् कामको सिलसिलामा भारतमा बस्छन् । शुरुशुरुका केही वर्ष तीन महीनासम्म बुहारी महिनावारी नभएपछि झगडा गरेकी सासूले हाल राधाको समस्या बझेकी छन् । “वर्षात्को समयमा पानी परिरहन्छ, घरबाहिर बस्न कठिन पनि छ”, राधाकी सासू धनसरी रावलले भने, “त्यसैले बुहारीले ठिकै गरेको जस्तो लाग्छ ।”

टीकापुर–२ राजीपुरकी मनकला विकलाई पनि वर्षात्मा घरबाहिर बस्नुपर्दा जेल बसेजस्तै लाग्छ । उनी चार दिन राम्ररी निदाउदैनन् । “सानो झुप्रो, झ्यालढोका नि छैन । गर्मी श्वास निस्सासिएर मर्छु जस्तो हुन्छ”, विकले भने “गाउँका सबै महिला गोठमै बस्छन्, के गर्नु महीनामा चार दिन दोस्रो जुनी पाएजस्तै लाग्छ ।”

राजीपुरकै सरस्वती टमट्टा ज्यानभन्दा ठूलो चलन हुन्न भन्दै महिनावारीका समयमा गोठ बस्न गएनन् । सरस्वती गोठ बस्न नजाँदा छिमेकीले उनको घरमा खानपिन बन्द गरे । “छिमेकीले मनपरी गर्ने महिला भनेर कुरा काट्न थाले । मेरो घरमा लेनदेन गर्ने महिला पनि आउन छोडे”, सरस्वती भन्छन्, “समाजमा एक्लो भएर बस्नुभन्दा भनेर इच्छाविपरीत छाउप्रथा मान्न बाध्य छु ।” सरस्वती महिनावारी पाप होइन भन्ने थाहा पाएर पनि विद्रोह गर्न नसकेको बताउछन् । 

छाउपडी प्रथा बढी मान्ने यी समुदायमा किशोरी अर्थात् महिला नियमित महिनावारी नहुँदा अनेक शङ्का गर्ने गरिन्छ । स्वयंसेविका चन्द्रावती शर्माले महिलाले शङ्का नगरुन् भनेर पनि महिनावारी लुकाएर बस्न सक्दैनन् । “छिमेकीले पालो गनेर बसेका हुन्छन्, तिमी किन महिनावारी भएनौ भन्न थाल्छन्”, शर्मा भन्छन्, “महिलाले नचाहेर पनि यो गलत अभ्यास अपनाइरहेका छन् ।” 

टीकापुर नगरपालिकाको वडा नं २, ६,७, ८ र ९ का ग्रामीण भेगमा अहिले पनि छाउपडी प्रथाका नाममा महिलामाथि हिंसा भइरहेको छ । महिला अधिकारकर्मी निर्मला कडायतका अनुसार राजनीतिक दलले छाउ बार्नेलाई नेतृत्वमा नल्याउने खालको नीति बनाउन आवश्यक छ । उनी स्थानीय सरकार, सङ्घसंस्था र राजनीतिक दलले गाउँमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने बताउछन् ।

टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्ट आफूले वडा वडामा छाउगोठको तथ्याङ्क सङ्कलन गर्न लगाएको बताउछन् । “हामीले तथ्याङ्क सङ्कलन गरेर यसको न्यूनीकरणका लागि कार्यक्रम बनाउँदैछौँ”, उपप्रमुख विष्टले भने, “छाउप्रथा बार्ने परिवारलाई वडाबाट पाइने सेवा रोक्ने योजनामा छौँ । सबैभन्दा पहिले यो शुरुआत शिक्षक, कर्मचारीका घरबाट शुरु हुनेछ ।” रासस ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा