सोमबार, २७ असोज, २०७६ Monday, 14 October, 2019

सोलुखुम्बुको विकट गाउँ मुक्लिमा सिभिल ईन्जिनियरिङ कक्षा सञ्चालन हुने 

थुलुङ दुधकोशी गाउँपालिकामा सिभिल ईन्जिनियरिङ कक्षा सञ्चालन हुने भएको छ ।
भोजराज कार्की

 

सोलुखुम्बु ।  थुलुङ दुधकोशी गाउँपालिकामा सिभिल ईन्जिनियरिङ कक्षा सञ्चालन हुने भएको छ । यसै शैक्षिक सत्रबाट गाउँपालिकाले ‘डिप्लोमा इन सिभिल ईन्जिनियरिङको कक्षा सञ्चालन गर्ने भएको हो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट अनुमति लिएर गाउँपालिकाले कक्षा सञ्चालनको तयारीमा जुटेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

शिक्षा मन्त्री गीरीराजमणी पोखरेलको अध्यक्षतामा २०७६ असार २८ गते बसेको मन्त्री परिषदको बैठकले गाउँपालिकामा ४८ जनाको लागि ‘डिप्लोमा इन सिभिल ईन्जिनियरिङ’  कक्षा सञ्चालन गर्नका लागि स्वीकृत दिने निर्णय गरेको थियो । सोही निर्णयअनुसार भर्ना प्रक्रियाका लागि परीक्षा नियन्त्रण कार्यालयसँग समन्वय गरी पूर्व सम्झौता गर्न परिषदले गाउँपालिकालाई पत्र पठाएको अध्यक्ष राईले बताए ।

“परिषदका उपनिर्देशक उमेश कुमार मिश्रद्धारा हस्ताक्षरित चलानी नम्बर १८२ को पत्र आईतबार गाउँपालिकालाई प्राप्त भयो ।” अध्यक्ष राईले भने, “वर्तमान समयमा बैज्ञानिक तथा व्यवहारिक शिक्षा अनिवार्य भएको अवस्थामा हाम्रो लागि यो महत्वपुर्ण सफलता हो । ”

“विभागीय मन्त्रीसँग २० औ पटक र सयौं पटक सम्बन्धित निकायहरुमसँग नियमित सम्पर्क पछि बल्ल यो कक्षा सञ्चालन गर्ने हामीले स्वीकृति प्राप्त गर्‍यौ ।” अध्यक्ष राईले भने, “यसले दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने हाम्रो विश्वास छ ।”

गाउँपालिका केन्द्र मुक्लिमा कक्षा सञ्चालन गर्ने गरि गाउँसभाबाट चालु आर्थिक बर्षमा खर्च हुनेगरि रु.५० लाख बजेट समेत बिनियोजन गरिएको प्रमुख प्रशासकिय अधिकृत अबिलाल राईले जानकारी दिए । राईका अनुसार सोही प्रयोजनका लागि करिब पौन एक करोडको लागतमा दुई तले भवन समेत निर्माण भईसकेको छ । अध्ययनकालागि सोलुखुम्बु सहित खोटाङ, ओखलढुंगा जिल्ला लगाएतका क्षेत्रबाट विद्यार्थी आउने गाउँपालिका अध्यक्ष राईको बिश्वास छ । “इन्जिनियरिङ पढ्नकै लागि ऋण खोजेर बाहिर जानुपर्ने बाध्यता हट्ने छ ।” अध्यक्ष राईले भने, “आर्थिक रुपमा बिपन्न जेहेन्दार बिध्यार्थीहरु पनि आफ्नै ठाउमा रोटी, ढिडो खाएर इन्जिनियर बन्न पाउने सुअवसर प्राप्त हुनेछ ।” 

गाउँमै इन्जिनियरिङ पढाई हुनेभएपछि स्थानिय हर्षित 

मुक्लिमा सुरु हुन लागेको इन्जिनियरिङ कक्षा जिल्लाकै पहिलो हो । यहाँबाट एसइइ दिएपछि इन्जिनियरिङ अध्ययनकै लागि दोलखाको इटहरी, काठमान्डौ लगाएतको क्षेत्रमा लाखौ खर्च गरेर जानुपर्ने बाध्यता थियो । यो बाध्यताको अन्त्य हुनेभएपछि यहाँका स्थानीय हर्षित भएका छन् ।

काठमाडौं या इटहरी पुगेर कोर्ष सक्नका लागि करिब रु. १० लाख भन्दा बढि खर्च लाग्ने भएकाले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई गाउँपालिकामै साढे २ लाखभित्र ईन्जिनियर बनाउने लक्ष्यका साथ यो प्रयास गरिएको अध्यक्ष राईको भनाइ छ ।

मुक्लिका सरण राईले २०५९ सालमा दोलखाको जिरिबाट असिसिटेण्ट सब इन्जिनियर कोर्ष पुरा गर्नुको लागि डेढ लाख खर्च भएको सम्झदै भने, “मलाई पनि सब इन्जिनियर पढ्ने ठुलो इच्छा थियो, काठमान्डौमा इन्ट्रान्स पनि दिए, तर खर्च नभएपछि कमर्स पढे ।”

२०६९ सालमा दोलखाको असिसिटेण्ट सब इन्जिनियर कोर्ष पुरा गरेकी थुलुङदुधकोशी ६ की सुनिता गुृरुङले पनि सब इन्जिनियरिङ कोर्षको अध्ययन गर्ने इच्छा भएपनि अझै पुरा हुननसकेको बताए । गाउँमै सब इन्जिनियरिङ कोर्षको अध्ययन हुनु पुर्वीपहाडी क्षेत्रको लागि गौरवको कुरा भएको बताएका थिए ।  

गाउँका मानिसलाई इन्ट्रास समेत कहिले हुन्छ सम्मको जानकारी नहुँदा इच्छा हुँदाहुदै पनि अध्ययन गर्न नसकेको यहाँका नागरिकको भनाई छ । सोताङका सागर कार्कीले सामाजिक सञ्जाल फेसबुक पेजमा समेत दुर्गम पहाडी क्षेत्रको लागि खुसीको कुरा भएको भन्दै गाउँपालिका र पहल गर्ने अध्यक्षलाई धन्यवाद दिएका छन् । दक्ष जनशक्ति उत्पादन हुने भन्दै सोलुबासी यस खबरले हर्षित बनेका छन् । छिमेकी जिल्लामा समेत यस किसिमको पढाई नभईरहेको अवस्थामा सोलुखुम्बुको पनि बिकट गाउँमा कक्षा सञ्चालन हुने भएपछि यस क्षेत्रका नागरिकले व्यवहारीक शिक्षामा फड्को मार्ने आशा गरेका छन् ।  
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा