कश्मीर मामिलामा संयमित हुन भारत–पाकिस्तानलाई राष्ट्रसंघको आग्रह

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेसले एउटा विज्ञप्ति जारी गर्दै सो क्षेत्रमा संयुक्त राष्ट्रसंघको स्थिति संयुक्त राष्ट्रसङ्घको बडापत्र र सुरक्षा परिषद्का प्रस्तावबाट निर्देशित हुने बताएका छन्।

 

संयुक्त राष्ट्रसङ्घ । जम्मू-कश्मीरको विषयमा भारत र पाकिस्तानबीच तनाव चर्किएको बेला संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै देशलाई अधिकतम रूपमा संयमित हुन आग्रह गरेका छन्।

उनले भारत र पाकिस्तानले सन् १९७२ मा कश्मीर विवाद समाधान गर्न गरेको शिमला सहमतिको स्मरण गराएका छन्। भारत पनि जम्मू-कश्मीरबारे विद्यमान विवाद 'शिमला सहमति' अनुसार नै गर्न इच्छुक भएको बताइन्छ।

दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदी नेतृत्वको सरकारले यही हप्ता जम्मू-कश्मीर राज्यलाई दिएको विशेष संवैधानिक मान्यता अन्त्य गरिदिएको थियो।

त्यसप्रति पाकिस्तानले गम्भीर आपत्ति व्यक्त गर्दै भारतसँगको कूटनीतिक सम्बन्ध घटुवा गर्ने र द्विपक्षीय व्यापार निलम्बन् गर्ने घोषणा गर्‍यो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको कदमविरुद्ध संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्‌मा तथा अन्य अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउने घोषणा गरिसकेका छन्।

तर, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार राष्ट्रलाई सम्बोधन गर्दै आफ्नो सरकारको निर्णयको प्रतिरक्षा गरेका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसले एउटा विज्ञप्ति जारी गर्दै सो क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको स्थिति संयुक्त राष्ट्रसङ्घको बडापत्र र सुरक्षा परिषद्का प्रस्तावबाट निर्देशित हुने बताएका छन्।

उक्त विज्ञप्तिमा सन् १९७२ मा गरिएको सहमतिको प्रसङ्ग उल्लेख भएको छ । भारतकी प्रधानमन्त्री इन्दिरा गान्धी र पाकिस्तानका राष्ट्रपति जुल्फिकर अली भुट्टोले सन् १९७२ जुलाई २ मा गरेको सहमतिमा जम्मू-कश्मीरबारे 'अन्तिम स्थितिको निर्धारण संयुक्त राष्ट्रको बडापत्रलाई विचार गरेर शान्तिपूर्ण तरिकाले गरिनेछ' उल्लेख गरिएको छ।

तर भारतले अहिले कश्मीरबारे चालिएको कदम आफ्नो आन्तरिक विषय भएको तर्क गरेको छ। 

बीबीसी नेपाली सेवाले तयार पारेको जम्मू-कश्मीरबारे ऐतिहासिक घटनाको समयरेखा

समयरेखा

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा