मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

रवि लामिछानेको रिहाईको माग गर्दै चितवनमा प्रदर्शन

लामिछानेको समर्थनमा बाक्लो संख्यामा समर्थकहरु उपस्थित भएका छन् । उनीहरुले रवि लामिछानेको रिहाईको माग गरिरहेका छन् ।


चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले उनको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । 

टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि प्रहरीले बिहीबार टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेसहित तीन जनालाई पक्राउ गरेपछि उनका समर्थकले प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारी नाराबाजीसहित प्रदर्शनमा उत्रिएका छन् । लामिछानेको समर्थनमा बाक्लो संख्यामा समर्थकहरु उपस्थित भएका छन् । उनीहरुले रवि लामिछानेको रिहाईको माग गरिरहेका छन् ।

गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा टेलिभिजन पत्रकार शालिकराम पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गरेको भनिएको भिडियोमा रवि लामिछाने लगायतकाले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका छन् ।

भिडियोकै आधारमा अनुसन्धान अगाडी बढाएको चितवन प्रहरीले बिहीबार साँझ काठमाडौंबाट लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई पक्राउ गरी चितवन लगेको छ । चितवनमा उनीहरुको भरतपुर अस्पतालमा स्वास्थ्य जाँच गरिएको थियो ।

पक्राउ परेका तीनै जनालाई आजै जिल्ला अदालतबाट म्याद थप गरी ल्याएपछि अनुसन्धान सुरु गरिने जिप्रका चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिएका छन् । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा