मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

महाकाली सन्धि : २४ वर्षसम्म दोधारा चाँदनीले पानी पाएन

साविक दोधारा र चादँनी गाविसलाई तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइका लागि पानी पुर्‍याउनुपर्ने भए पनि भारतीय पक्षको बेवास्ताले सन्धि कार्यान्वयन हुन सकेको छैन ।

 

भीमदत्तनगर । नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि सन्धिअनुसार दोधारा चाँदनीलाई सिँचाइका लागि दिनुपर्ने पानी दिन भारतले आनाकानी गर्दै आएको छ ।

सन्धिअनुसार १५ किलोमिटर मूल नहर निर्माण गरी महाकाली नगरपालिका (साविक दोधारा र चादँनी गाविस) लाई तीन हजार ५०० हेक्टर क्षेत्रफलमा सिँचाइका लागि पानी पुर्‍याउनुपर्ने भए पनि भारतीय पक्षको बेवास्ताले सन्धि कार्यान्वयन हुन सकेको छैन ।

महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक लोकबहादुर थापाले महाकाली सन्धिअनुसार दोधारा चादँनीमा बनाउनुपर्ने १५ किलोमिटर मूल नहर निर्माणमा ढिलाइ भइरहेको बताए । उनका अनुसार सन्धिअनुसार बनबासा पुल नजिकको शारदा नहरबाट भारतले ३५३ क्युसेक पानी दोधारा चाँदनीलाई दिनुपर्ने उल्लेख छ ।

उनले भने, “महाकाली सिँचाइलाई वैदेशिक सहयोग लगानी गर्ने सरकारको निर्णयबमोजिम भारतबाट नै ऋण लिएर बनाउनुपर्ने हो ।” उनले सम्झौता भएको लामो समय बितिसक्दा पनि भारतीय पक्षबाट पानी र नहर निर्माणका लागि ऋण दिन आनाकानी भइरहेको बताए । नेपाली पक्षले केही वर्षअघि दोधारा चाँदनीमा मूलनहर निर्माणका लागि लागत अनुमानसहित विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरेर भारतलाई बुझाएको उनले जानकारी दिए ।

‘भारतीको दिल्लीमा जलस्रोत विज्ञसहित दुवै देशका सचिवस्तरको संयुक्त बैठकले शारदा नहरबाट पानी दिने विषय छ महीनाभित्र सहमतिबाट टुङ्गो लगाउने निर्णय गरेका थिए”, थापाले भने, “तोकिएको समयावधि आगामी भदौ मसान्तमा सकिँदै छ ।” स्थानीय र प्रतिनिधिसभाको निर्वाचनका बेला पनि दोधारा चाँदनीलाई सिँचाइका लागि पानी दिलाउने विषय दलीय एजेण्डा बनेको थियो ।

शारदा नहरदेखि नेपाल–भारत सिमानासम्म करीब एक किलोमिटर नहर भारतले बनाइदिनुपर्ने सन्धिमा रहेको निर्देशक थापाको भनाइ छ । “अहिले आएर भारतीय पक्षबाट पञ्चेश्वर परियोजना बनेपछि मात्रै ३५० क्युसेक पानी दिने भन्ने बखेडा झिकेको सुनिन्छ”, थापाले भने ।

महाकाली नगरपालिकाका प्रमुख वीरबहादुर सुनारले दोधारा चाँदनीले सिँचाइका लागि पानी पाउनुपर्ने विषयमा लामो समयदेखि माग गर्दै आएको भए पनि सुनुवाइ नभएको बताए ।

एक हजार २०० मिटर नहर निर्माण असोजपछि
महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत कञ्चनपुरको भीमदत्तनगरपालिका–९ देखि मूल नहर निर्माण एक दशकअघि शुरु भयो । झण्डै १३ किलोमिटर मूल नहर निर्माणपछि सिँचाइले थप १५ किलोमिटर मूल नहर निर्माण गरिरहेको छ । तर, सन्धिअनुसार भारतीय पक्षले मूल नहरको ए हजार २०० मिटर निर्माण गर्न लामो समय आनाकानी गर्‍यो ।

महाकाली सन्धिको धारा ९२० को उपधारा २ ‘क’मा भारतले टनकपुर बाँधको बायाँतर्फ ‘अण्डरस्लुइस’ नजिकै हेड रेगुलेटर तथा नेपाल–भारत सीमासम्म नहर निर्माण गर्नुपर्ने उल्लेख छ । भारतले टनकपुर ब्यारेजदेखि नेपाल–भारत सीमा भीमदत्त–९ मटेनासम्म एक हजार २०० मिटर नहर निर्माण गर्नुपर्नेछ ।

सो निर्माणका लागि केही समयअघि भारतीय पक्षले ठेक्का दिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका निर्देशक थापाले बताए । “१२ सय मिटर मूल नहर निर्माणका लागि भारतले ठेक्का दिएपछि निर्माण कम्पनीले निर्माणस्थलमा पर्ने रुख कटानी गरिरहेको खबर आएको छ”, उनले भने, “ढिलै भए पनि नहर निर्माण हुनु सुखद कुरो हो ।”

थापाले भारतीय पक्षले आगामी असोजदेखि नहर निर्माण शुरु गर्ने तयारी गरेको जानकारी प्राप्त भएको बताए । भारतले टनकपुर बाँधबाट सुक्खायाममा महाकालीको ३०० क्युसेक तथा वर्षा याममा एक हजार क्युसेक पानी उपलब्ध गराउने सन्धिमा उल्लेख छ ।

आयोजनाको तेस्रो चरणअन्तर्गत मटेनादेखि कैलालीको मालाखेतीसम्म मूल नहरको लम्बाइ १५१ किलोमिटर छ । उक्त नहर सन् २०२२ सम्म पूरा गर्ने लक्ष्य रहे पनि कामको गति भने सुस्त छ । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा