मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

पुडासैनी मृत्यु प्रकरण: पोस्टमार्टम, फरेन्सिक ल्याब रिपोर्ट र भिडियो प्रमाणित 

मोबाइलमा विभिन्न पाँचवटा लामा र छोटा भिडियो क्लिप रहेकोले आवाज फरक सुनिनुका साथै हाउभाउ पनि फरक देखिएको बताइएको छ ।
फायल फाेटाे : वेब

 

चितवन । पत्रकार शालिकराम पुडासैनीको मृत्यु झुन्डिएकै कारण भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले मंगलबार (आज) दिएको जानकारीअनुसार पोस्टमार्टम रिपोर्टमा पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले पोस्टमार्टम रिपोर्ट आएको बताए । उनले भने, ‘हामीले पहिले जे आशंका गरेका थियौँ, त्यही नै भएको रिपोर्टमा उल्लेख छ ।’

प्रहरीका अनुसार पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा रहेको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भएको छ । फरेन्सिक ल्याबको रिर्पोटअनुसार मृतकको मोबाइलमा रहेको सबै डाटा रिकभर गरिएको छ । मोबाइलमा विभिन्न पाँचवटा लामा र छोटा भिडियो क्लिप रहेकोले आवाज फरक सुनिनुका साथै हाउभाउ पनि फरक देखिएको बताइएको छ ।

पाँचवटा लामा र छोटा भिडियो क्लिपका कारण बाहिरिएको भिडियोमा सिरानी रहेको र अर्को अवस्थामा सिरानी नरहेकोजस्तो फरक दृश्य देखिएको अनुसन्धानले पुष्टि गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अभियुक्तमध्ये पत्रकार युवराज कँडेलसँग लिखित र रुकु भनिने अस्मिता कार्कीसँग भिडियो बयान लिइएको छ । रवि लामिछानेसँग पनि आजै प्रारम्भिक बयान लिइने बताइएको छ । प्रहरीले तीनैजनाको पाँच दिनको अनुसन्धान र प्रारम्भिक बयानपछि छैठौ दिन आज म्याद थपको लागि अदालत उपस्थित गराइएको छ । 

गत साउन २२ मा चितवनको नारायणगढ, बसपार्कमा रहेको कंगारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा भेटिएका थिए । आत्महत्या गर्नुपूर्व पुडासैनीले मोबाइलमा रेकर्ड गरेको भिडियोमा रवि लामिछाने लगायतकाले आफूलाई आत्महत्या गर्न बाध्य बनाएको आरोप लगाएका थिए ।

आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले गत बिहीबार तीनै जनालाई नियन्त्रणमा लिएको थियो ।

जिल्ला प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षकको नेतृत्वमा अनुसन्धान टोली खटाएको छ भने काठमाडौंबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबि)को विशेष अनुुसन्धान टोली पनि खटिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा