मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

हराउँदै हरेलो

स्थानीयवासीले यसलाई हरेलो पर्वका रुपमा लिन्थे, सँगसँगै हरेलो गरिसके पछि धान रोप्न हुँदैन भन्ने जनविश्वास पनि कायम थियो ।

 

पोखरा  । भदौ महीनाको पहिलो मङ्गलबार । विगतमा यो दिन कास्की र आसपासका जिल्लामा धान रोपिएका खेतका ठाउँठाउँमा विभिन्न अन्न राखी बाँधिएका मकैका खोस्टाको पोकालाई सिमली, गिँदरी वा पातीको हाँगोमा झुण्ड्याएर गाडिन्थ्यो ।

स्थानीयवासीले यसलाई हरेलो पर्वका रुपमा लिन्थे, सँगसँगै हरेलो गरिसके पछि धान रोप्न हुँदैन भन्ने जनविश्वास पनि कायम थियो । सामान्यतः भदौको पहिलो मङ्गलबारसम्म अधिकांश खेत रोपिसक्ने भए पनि कुनै कारणवश रोप्न बाँकी भएमा हरेलो सार्ने प्रचलनसमेत रहेको पोखरा महानगरपालिका–२९ पटनेरीका कृषक हर्कबहादुर नेपालीले जानकारी दिए ।

प्राचीन कृषि प्रणालीअन्तर्गतको हरेलो संस्कृति पछिल्ला वर्षमा भने लगभग लोप भइसकेको छ । यस दिन खेतमा विभिन्न अन्न मास, चामल, गहुँ, फापर, तोरी, जाँतो र ढिकीमा प्रयोग गरिएको खुर्किएको काठको टुक्रासमेत राखेर मकैको खोस्टामा बाँधेर पोको पारी लट्ठीमा भुण्ड्याएर खेतमा गाडिदिएमा वर्षायाममा रोपेको धानमा कटाहा (मुसा) नलाग्ने, अन्न राम्रो उत्पादन हुने आदि जनविश्वास रहेको उनले बताए ।

उनका अनुसार घर वरपर लगाइने लहरे तरकारीलाई पनि मुसाले नकाटोस् भन्ने कामना गर्दै अन्नसहितको मकैको खोस्टामा बाँधिएको पोका झुण्ड्याउने प्रचलनसमेत छ । कतिपय युवा पुस्तामा यस संस्कृतिको जानकारी नहुनाका साथै कृषिप्रतिको बढ्दो अनिच्छा तथा विदेश पलायन लगायतका कारणबाट यो संस्कृति पछिल्ला वर्षमा लगभग हराइसकेको छ । 

हरेलो गरेमा धानमा मुसाले क्षति नपुर्‍याउने विश्वासका साथै यस संस्कृतिलाई धानको न्वारनका रूपमा समेत लिने गरिएको बूढापाकाहरू बताउँछन् । हरेलो गरेपछि धानको न्वारन कर्म पूरा हुने र त्यसपछि मात्रै यो धान पूजाआजामा प्रयोग हुने प्राचीन जनविश्वास कायमै रहेको अर्का कृषक हरिकृष्ण सुवेदीले जानकारी दिए ।

“पहिले पहिले हरेलो गरिसकेपछि परिवारमा खुशियालीसहित सेलरोटी, फुरौला, माछा मासुसहित दाल, भात, तरकारी, अचार जस्ता विभिन्न परिकार खाने र जोत्ने हलीलाई खुवाउने प्रचलन थियो”, उनले भने, “पछिल्लो पुस्ताका लागि भने यो संस्कृति एकादेशको कथा जस्तै बन्दै गएको छ ।”

कृषिको व्यावसायिकीकरण बढिरहेका अवस्थामा टारी खेतमा कुनै कुनै ठाउँमा अहिले पनि काठे हलोले जोत्ने गरिए पनि अधिकांश स्थानमा काठे हलो विस्थापित भई ट्र्याक्टरबाट जोत्न थालिएको उनले बताए ।

कृषिको व्यावसायिकीकरण एवम् आधुनिकीकरणले पनि परम्परागत कृषिमा आधारित संस्कृति पछिल्ला समयमा लोप हुँदै गएको उनको भनाइ छ । यस क्षेत्रमा प्राचीनकालदेखि नै असार १५ मा रोपाइँ गरी हिलो खेल्ने तथा दही चिउरा खाने, साउन १५ मा खिर खाने, भदौको पहिलो मङ्गलबार हरेलो गर्ने, मङ्सिर १ गते धान थन्क्याउनका लागि खलो पुज्ने, नयाँ धान भिर्त्याएपछि न्वागी खाने जस्ता कृषिमा आधारित विभिन्न संस्कृति कायम छन् । 

अघिल्लो पुस्ताबाट पछिल्ला पुस्तामा प्राचीन संस्कार एवम् संस्कृति हस्तान्तरण हुन नसक्दा विभिन्न संस्कृति लोप हुँदै गएको बताउँदै सुवेदीले यिनीहरूको जगेर्नाका लागि सामाजिक रूपमा नै पहल थालिनुपर्ने आवश्यकता औँल्याए । रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा