मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

चारदशक पुगी सक्दा पनि पीडितले पाएनन् लालपुर्जा

तत्कालीन समयमा सरकारले भगवतीटार (माझठाना)का बाढीपीडितमध्येका २३२ परिवाररलाई कास्कीकै साबिक छिनेडाँडा गाउँ पञ्चायतको वडा नं २, ४ र ९ मा पुनर्वास गराएको थियो ।
कास्कीको भगवतीटार (माझठाना)मा विसं २०३३ जेठ २२ गते गएको पहिरोका कारण पीडित बनेका ९२ वर्षीय धनराज गुरुङ आफ्ना कागजात देखाउँदै । तत्कालिन समयमा सरकारले हालको पोखरा महानगरपालिका वडा नं १४ र १५ छिनेडाँडामा पुनर्वास गराइएकामध्ये गुरुङसहित अझै ३० परिवारले भोगचल

 

पोखरा । झण्डै चार दशक अघि गएको पहिरो सम्झदा  ९२ वर्षिय धनराज गुरुङको मन अझै पनि चसक्क हुन्छ ।

विसं २०३३ जेठ २२ गते कास्कीको भगवतीटार (माझठाना)मा बिहान ६ बजेतिर गएको पहिरोपछि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नपाउँदा उनलाई उक्त घट्नाले अझै पिरोलीरहेको छ ।  

तत्कालीन समयमा सरकारले भगवतीटार (माझठाना)का बाढीपीडितमध्येका २३२ परिवाररलाई कास्कीकै साबिक छिनेडाँडा गाउँ पञ्चायतको वडा नं २, ४ र ९ मा पुनर्वास गराएको थियो । वडा नं २ र ४ अहिलेको पोखरा महानगरपालिका–१४ मा पर्दछन् । वडा नं ९ महानगरको १५ नं वडामा पर्दछ ।

पुनर्वास गराइएकामध्ये केही समयपछि ७२ परिवारलाई कैलाली लगिएको र तीमध्ये १९ परिवार पुनः यही ठाउँमा आएको गुरुङले जानकारी दिए । “पहिरोका कारण आफ्नो थातथलो छोडेर हिँड्नु परेको पीडा त छँदैछ, सरकारले तत्कालीन अवस्थामा पुनर्वास गराएपनि भोगचलन गर्दै आएको जमीनको लालपुर्जा अहिलेसम्म पनि पाउन सकेका छैनौँ”, दुःखेसो व्यक्त गर्दै गुरुङले भने ।

तत्कालीन समयमा मन्त्रिपरिषद्बाटै निर्णय गरी सरकारले पुनर्वास गराउँदा प्रति घरधुरी घरवासका लागि १२ आना र खेतीबालीका लागि सात रोपनी चार आना गरी आठ रोपनी जग्गा उपलब्ध गराएको उनले जानकारी दिए । त्यसपछि केही व्यक्तिले जेनतेन लालपुर्जा लिए पनि अझै आफूजस्ता ३० घरपरिवार लालपुर्जाकै खोजीमा भौँतारिनुपरेको उनले गुनासो पोखे ।

चार नाति र एक नातिनीका हजुरबुबा गुरुङ यतिखेर परिवारका सदस्य र अन्य आफूजस्तै पीडितले सरकारबाट उपलब्ध गराइएको जग्गाको पुर्जा पाएको हेर्ने इच्छा रहेको बताउछन् ।

गुरुङका अनुसार सरकारले तत्कालीन समयमा घरवास निर्माणका लागि प्रतिपरिवार एक÷एक हजार उपलब्ध गराएको थियो । त्यस समयमा एक हजार रुपैयाँले यही ठाउँमा पुर्जासहितको झण्डै १५ रोपनीसम्म जग्गा किन्न पनि पाइन्थ्यो । 

भोगचलन गर्न पाए पनि पुर्जा नभएकै कारण केही काम गरौँ भने पनि बैंकबाट ऋण निकाल्न नसकिनु जस्ता धेरै समस्याले आफूहरुलाई पिरोलेको अर्का पीडित क्षेत्रबहादुर गुरुङले बताए । पहिरो जाँदाकै भोलिपल्ट जन्मिएका क्षेत्रबहादुर अहिले ४३ वर्ष पुगे । सरकारले भोगचलन गर्न दिएकै जग्गामा हुर्के बढेका उनी आफू जान्ने बुझ्ने भएदेखि लालपुर्जाकै खोजीमा भौँतारिँदै आएका छन् । रासस ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा