मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

सोलुमा मृत भेटिएकी महिलाको हत्या भएको भन्दै आफन्तले शव बुझ्न मानेनन्

मृतक घतानीले प्रयोग गरेको साम्सुङ मोबाइल र कानमा लगाएको रिङसमेत हराएको छ भने नाकमा लगाएको फुली र गलामा लगाएको तिलहरी साथमै रहेको तर अन्य केही पनि सामग्री फेला नपरेको प्रहरीले जनाएको छ ।
प्रतिनिधिमुलक फायल फोटो: वेव

 

सोलुखुम्बु।  धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्दै एक महिलाको परिवारले शव नबुझ्ने अडान लिएको छ । 

हत्यारा पत्ता नलागेसम्म शव जिम्मा नलिने ती महिलाको परिवारले अडान लिएको हो । जिल्लाको सोलुदूधकुण्ड नगरपालिका– ५ शेर्गाखोपमा ४७ वर्षीया मुगामाया घतानी दुवै हातको नाडीमा करीब दुई इञ्च काटिएको अवस्थामा मृत भेटिएकी थिइन् । 
    
मृतक घतानी शनिबार साँझ मूल घरमा सासूससुरासँगै खाजा खाएर आफ्नै घर गएको ससुरा रत्नबहादुर घतानीले जानकारी दिए । उनका अनुसार आइतबार बिहान ११ बजेसम्म बुहारीको चहलपहल नभएपछि सासूले छिमेकीसहित घरमा गएर हेर्दा ढोकामा ताल्चा लगाएको तर भित्र खाटमा सिरक ओडेर घोप्टो परेको बुहारीलाई मृत अवस्थामा भेटिएको थियो । प्रत्यक्षदर्शीका अनुसार त्यहाँ रगतको भल बगेको थियो । 
    
उनीहरुले घटनाका बारेमा तत्काल प्रहरीलाई खबर गरेका थिए । सदरमुकाम नजिकै भएकाले सोही समयमा प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले जानकारी दिए । 
    
मृतक घतानीले प्रयोग गरेको साम्सुङ मोबाइल र कानमा लगाएको रिङसमेत हराएको छ भने नाकमा लगाएको फुली र गलामा लगाएको तिलहरी साथमै रहेको तर अन्य केही पनि सामग्री फेला नपरेको प्रहरीले जनाएको छ । दुवै हातमा गहिरो चोट भए पनि प्रयोग गरिएको कुनै हतियार नभेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार घटना घटाइएको शङ्का गर्न सकिने भए पनि अनुसन्धानका क्रममा रहेको छ । हातको नशासमेत काटिएपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीको छ । झट्ट हेर्दा चक्कु या ब्लेट प्रयोग गरेको हुनसक्ने भए पनि घटनास्थलमा कुनै सामग्री नभेटिनु र बाहिरबाट ताल्चा लगाउनुले घटना थप रहस्यमय बनेको छ । 


तत्काल शव नबुझ्ने आफन्तको भनाइ 

आज बिहान जिल्ला अस्पताल फाप्लुमा शव परीक्षण गरिएको भए पनि परिवारले शव बुझेको छैन । मृतकका भाइ गोपाल घिमिरेले आफ्नी दिदीको हत्या भएको दाबी गर्दै तत्काल हत्यारा पत्ता लगाई कारवाहीको दायरामा ल्याउन माग गरे । उनले हत्यारा पत्ता नलागेसम्म शव जिम्मा नलिने बताए । प्रहरीप्रति विश्वास भए पनि घात नहोस् भन्ने हेतुले तत्काल शव नबुझ्ने उनको भनाइ छ । 
    
मृतक महिलाका श्रीमान् अमर घतानी विगत दुई वर्षदेखि वैदेशिक रोजगारीका क्रममा साउदीमा छन् भने छोरीको विवाह भइसकेको र दुई छोरा काठमाडौमा रहेको आफन्तले बताएका छन् । घरमा मुगामाया एक्लै बस्दै आएकी थिइन् । रासस 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा