आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

शरीरमा २० वर्षदेखि १० गोली बोकेका 'प्लाटन कमान्डर'सँग औषधि किन्ने पैसासमेत छैन्

१६ वर्षको उमेरबाट राजनीति यात्रा शुरु गरेका बुढाले विद्यार्थी सङ्गठनमा पनि काम गरेका थिए।  त्यसपछि गुल्मीमा जनमुक्ति सेनाको प्लाटन कमान्डर भई काम गरेका थिए ।
प्रतिनिधिमुलक फायल फोटो । वेव

 

रुकुमपूर्व। एक्लै हिँड्न उनलाई समस्या पर्छ । कारण उनको शरीरमा बेलाबेलामा (दिनमा दुई तीन पटक) करेन्टको झट्का लाग्ने गर्दछ । त्यही करेन्टको झट्का लाग्ने बेलामा लडेर घाइते हुने वा चोटपटक लाग्ने सम्भावना बढी हुने गर्दछ । आफूलाई सुरक्षित राख्न एकजना साथी अनिवार्य साथमा राखेर बाहिर हिँडडुल गर्ने गर्छन् । यो सब उनी बिरामी भएर होइन, युद्धका क्रममा लागेको गोलीले हो । युद्धको बेलामा सेनाले हानेका गोली शरीरभित्र अझै अड्किएका छन् । 

त्यसैको असरले उनको शरीरमा समस्या भएको हो । उनको शरीरमा अहिले पनि १० वटा गोली छन् । युद्धका बेलामा एक पटक जीवन पाएका पात्र हुन् उनी । बीस वर्षदेखि शरीरभरि गोली बोकेर हिँडेका सिस्ने गाउँपालिका–८ लम्पाकोटका ३६ वर्षीय डम्मरबहादुर बुढा अहिले भने राजनीति क्षेत्रबाट अली टाढा छन् । 

उनको दाहिने हातको पाखुरामा एक, देब्रे खुट्टामा एक, दाहिने खुट्टामा दुई, घाँटीमा दुई वटा गोली छन् । त्यसैगरी पेटमा एक, गालामा एक र कम्मरमा एक गोली छन् ।  शरीरभरि छर्रा रहेको पनि उनले जानकारी दिए । जनयुद्धका बेला विसं २०५५ चैत ७ गते म्याग्दीको बेनी बेसक्याम्पबाट सैनिक ब्यारेक कब्जा गर्ने क्रममा गोली चल्दा शरीरमा १५ वटा गोली लागेका थिए । बुढालाई गोली लागेपछि सबै भाग्न सफल भएका थिए । उनको शरीर रगताम्मे भएको थियो । घाइते अवस्थामा पुगेका बुढालाई भित्रकै स्वास्थ्य विभागको टोलीले उपचार गरेको थियो । 

घटनाको आठ वर्षपछि भारतको मुम्बईको एक अस्पतालमा शल्यक्रिया गरेर पाँच गोली निकालियो । दुई हातको पाखुरा, दुई खुट्टा र एक वटा गालाबाट गोली निकालिएको थियो । त्यो गोली चाँहि नसा र हड्डीको छेउछाउमा भएका कारण स्वास्थ्य अवस्थामा समस्या पर्ने र अपाङ्गतासमेत हुनसक्ने भन्दै बाँकी १० गोली निकाल्न नमिल्ने चिकित्सकले सुझाव दिएका थिए । अहिले ती गोली शरीरभित्र त्यत्तिकै बसेका छन् । शरीरमा गोलीका दाग प्रष्टै देख्न सकिन्छ ।

बुढाको उपचार जङ्गलमै गरिएको थियो । युद्धभूमिकै उपचारले उनको ज्यान बचेको थियो । अहिले उनको दुवै खुट्टा, हात, घाँटी र ढाडमा लागेको गोलीको निसान बाहिरबाटै प्रष्ट देख्न सकिन्छ । गोली भएको ठाउँमा दुख्ने, चिलाउने, झमझमाउने र करेन्ट लागेको जसरी बेलाबेलामा झट्का लाग्ने गरेको उनले बताए । आर्थिक अवस्था कमजोर भएका कारण औषधि पनि प्रयोग गर्न नसकेको उनले सुनाए । 

विसं २०५७ मा १६ वर्षको उमेरबाट राजनीति यात्रा शुरु गरेका बुढाले विद्यार्थी सङ्गठनमा पनि काम गरेका थिए।  त्यसपछि गुल्मीमा जनमुक्ति सेनाको प्लाटन कमान्डर भई काम गरेका थिए । परिवार नै राजनीतिमा लागेका कारण परिवारकोप्रेरणाबाट जनयुद्धमा होमिएको उनले बताए । लगातार रुपमा विसं २०५५ देखि २०६० सम्म युद्धमा होमिएका बुढा त्यसपश्चात भने भारतमै बसेका थिए । 

एक वर्ष अघि मात्र नेपाल फर्कनुभएका बुढाले लम्पाकोटमा खेती किसानी गरिरहेका छन् । सामान्य काम गर्न सक्ने तर शरीरलाई भार पर्ने खालका काम गर्न नसक्ने उनकी पत्नी जगतकुमारी बुढाले बताए । अहिले उनले सामान्य जीवनयापन गरिरहेका छन् । गोलीकै कारण बुढाले धेरै काम गर्न नसक्ने साथै एक्लै र चिसोमा हिँड्न गर्नसमेत सक्दैनन्। रासस 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा