युएई विरुद्व नेपालको रवाफिलो जित, एसिया कपको सुखद अन्त्य !

विशाल लक्ष्य पछ्याएको युएईले ३४.४ ओभरमा सबै विकेट गुमाएर जम्मा १ सय २५ रन मात्र जोड्यो र नेपालसँग १ सय ६० रनको फराकिलो अन्तरले पराजित भयो।
फोटो: एसिसी 

 

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले युएई विरुद्व एक सय ६० रनको प्रभावशाली जित हासिल गरेको छ। 

टस हारेर ब्याटिंग गरेको नेपालले निर्धारित ५० ओभरमा युएईलाई २ सय ८६ उच्च रनको चुनौती पेश गरेको थियो। प्रतिष्ठाको खेलको रुपमा लिइएको खेलमा नेपालले बाजी मार्यो ।

श्रीलंकाको मारियन्स क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती निक्कै खराब गरेको थियो। नेपालले आफ्नो खातामा ८ रन जोड्दा दुई विकेट गुमाएको थियो । तर त्यसपछि नेपालले सम्हालिएर खेल्दै विशाल लक्ष्य प्रस्तुत गरेको थियो ।

 

फोटो: एसिसी

 

नेपालको इनिङ्ग सम्हाल्न कप्तान रोहित कुमार पौडेलले कप्तानी पारी खेले । उनले तेस्रो विकेटका लागि आशिफ शेखसँग ७१ रनको राम्रो साझेदारी गरेका थिए। 

रोहितकुमार व्यक्तिगत ६७ रनमा आउट भए । आशिफले ४५ र सन्दीपले ४८ रन बनाए । भीम सार्की भने एक रनमा आउट भए । कुशल मल्लले २२ रन जोडे । उनी सातौं विकेटमा आउट हुँदा नेपालको स्कोर २०६ रन थियो । रासिद खान र कमल सिंह ऐरीले ७० रनको उत्कृष्ट साझेदारी गरे । राशिद ४४ रनमा आउट भए । आक्रामक पारी खेलेका कलमसिंहले २५ बलमा ४१ रन बनाए । 

 

फोटो: एसिसी

 

विशाल लक्ष्य पछ्याएको युएईले ३४.४ ओभरमा सबै विकेट गुमाएर जम्मा एक सय २५ रन मात्र जोड्यो र नेपालसँग १ सय ६० रनको फराकिलो अन्तरले पराजित भयो। नेपालको लागि सर्बाधिक सागर ढकालले ३ विकेट लिए। त्यस्तै पवन सर्राफ, राशिद खान, सूर्य तामाङले दुई-दुई विकेट चट्काए। कमलसिंह ऐरीको नाममा एक विकेट रह्यो।

युएईका लागि सचित शर्मा र आकाश ताहिरले नेपालको तीन-तीन विकेट लिएका थिए। 

दुवै टिम समुह चरणमा बंगलादेश र श्रीलंकासँग हार्दै प्रतियोगिताबाट बाहिरी सकेका टोली हुन्। आजको खेल भने दुवै टोलीलाई आफ्नो क्षमता जाँच्ने अवसर समेत बनेको थियो ।

नेपालले पहिलो खेलमा श्रीलंकासँग ५ विकेट र दोस्रो खेलमा बंगलादेशसंग ६ विकेटले गुमाएको थियो । यस समुहबाट श्रीलंका र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका छ । 

 

फोटो: एसिसी

 

आजको नेपाली टाेली: रोहितकुमार पौडेल(कप्तान),  भिम सार्की, कुशल मल्ल,  सागर ढकाल, मोहमद आसिफ शेख, कमलसिंह ऐरी, रित गौतम, पवन सर्राफ, राशिद खान, सूर्य तामाङ, सन्दीप जोरा, 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा