आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

पराम्परागत खेती बाली छाडेर, किवीमा किसानको जाँगर

वर्ष दिन लगाएर खेती गर्दा पनि पराम्परागत खेती बालीले लागत आम्दानी नदिएपछि तारामणिले वाक्क भएर खेतीको विकल्प खोजेका हुन् ।
फाइल फोटो / वेब


इलाम । केही वर्ष अघिदेखि सन्दकपुर गाउँपालिकास्थित सुलुबुङका तारामणि खतिवडाको बारीमा मकै र कोदो खेती घटेको छ । वर्ष दिन लगाएर खेती गर्दा पनि पराम्परागत खेती बालीले लागत आम्दानी नदिएपछि तारामणिले वाक्क भएर खेतीको विकल्प खोजेका हुन् ।

लेकको बारी भएकाले पराम्परागत खेती चट्ट छाड्न पनि उनलाई गार्‍हो छ । “उहिल्यैदेखि लगाइआएको खेती बिगारेर किवी खेती गरेर के फाइदा ?” भन्ने कुरा पनि धेरै सुन्नुपर्‍यो उनले । तर, पनि मकै र आलु खेतीले वाक्क भएका तारामणिको नयाँ बाली लगाउने सोच भने परिवर्तन भएन ।

उनले केही वर्षयतादेखि बारीमा किवी खेती गरेका छन् । शुरुका वर्षमा राम्रो आम्दानी नदिए पनि अहिले भने किवीले उल्लेखनीय आम्दानी दिइरहेको छ उनलाई । कम समय र कम खर्चमा राम्रो आम्दानी हुने बुझेपछि उनले आफ्नो बारीको धेरै क्षेत्रमा यही खेती गरेका छन् । “केही वर्षसम्म धान, मकै र कोदोको मात्र उत्पादन हुन्थ्यो, त्यति आम्दानीले बचत त के खान समेत राम्ररी पुग्दैनथ्यो,” खतिवडाले भने – “तर, अहिले किवीका कारण खान मात्रै होइन, आम्दानी पनि भएको छ । छोराछोरी पढाउन पनि सहज भएको छ ।”

इलाममा सबैभन्दा पहिले किवीको खेती गर्ने व्यक्ति नै उनी  छन् । आज भन्दा छ वर्ष अघि मात्र तारामणिले काठमाडौंबाट बिरुवा ल्याएर किवीको खेती गर्न शुरु गरेका थिए । त्यही किवी नै अहिले जिल्लाभर फैलिएको छ भने धेरैको कमाइ खाने भाँडो पनि किवी नै बनेको छ ।

गाउँको नाम नै किवी बस्ती

अहिले त तारामणिले मात्र होइन गाउँभर किवीकै खेती गरिन्छ । तारामणिकै खेती शैली अपनाएका छिमेकीका कारण अहिले सबैको घरमा किवी खेती हुने गरेको छ । रोचक कुरा त के छ भने सुलुबुङको यो ताल गाउँको नाम समेत फेरिएको छ । गाउँको नाम नै अहिले ‘किवी बस्ती’ भइसकेको छ ।

तारामणिका अनुसार किवी बस्तीका मात्रै ६० परिवारले अहिले व्यावसायिक किवी खेती गर्दैआएका छन् । “हाम्रो यो क्षेत्रबाट मात्रै वार्षिक २५ देखि ३० हजार किलो किवी उत्पादन हुन्छ,” तारामणिले भने – “अबको दुईदेखि तीन वर्षमा यहाँ तेब्बरले किवी उत्पादन बढ्छ ।”

यस्तै, किवी बस्तीकै अर्का किसान गोपाल खतिवडाका अनुसार पाखो र रुखो क्षेत्रमा पनि किवीको खेती गर्न सकिने भएकाले अधिकतर किसान किवीतर्फ आकर्षित भएका छन् । “किवी भएका ठाउँमा त अन्य खेती पनि गर्न सकिन्छ,” गोपालले भने – “हामी किवी लगाएका ठाउँको बीच–बीचमा अलैँची, अदुवाको समेत खेती गरेका छौं ।”

उनका अनुसार दैनिक ४०० जति बिक्रेता किवी किन्न घरमै पुग्न थालेका छन् । उनले भने – “बजारको कुनै समस्या छैन, जति पनि बिक्न सक्छ । हाम्रो क्षेत्रको किवी त अत्यन्तै स्वादिलो र भिटामिन पनि हुने भएकाले हारालुछ हुन्छ ।” गोपालले घर वरपरको १० रोपनी जग्गामा किवी खेती गरेका छन् । यस वर्ष मात्रै उनले पाँच हजार केजी किवी उत्पादन गरेका छन् । 

किवी जोन घोषणा

अहिले प्रायः किसानले किवी खेती गर्न थालेपछि सन्दकपुर गाउँपालिका र इलाम नगरपालिका (केही वडा)लाई मिलाएर किवी जोन समेत घोषणा गरिएको छ । सरकारले यस क्षेत्रलाई जोन घोषणा गरेसँगै यहाँका किवी किसानमा पनि किवी खेतीप्रति उत्साह बढेको पाइएको छ । जोन स्थापना भएपछि किवीका प्रविधिज्ञ, बीउविजन र तालीमको समेत व्यवस्था हुने बुझेपछि यहाँका किसान खेती बढाउन लागिपरेका छन् ।

जोन स्थापना भएसँगै किवी खेतीको बजार अझै बढ्ने र खेतीमा समस्या नहुने विश्वास भएकाले खेती थप गर्दै लगेको सन्दकपुर गाउँपालिकास्थित माइमझुवाका किवी किसान पुरण गुरुङ बताउछन् । निजी क्षेत्रको मात्र नभई सरकारी क्षेत्रको समेत किवीमा चासो बढेको उनको भनाइ छ ।

उनले भने – “अहिले किवीमा समस्या भनेको खेती गर्ने प्रविधि, मलजलको जानकारी नहुनु र कोल्डस्टोरको समस्या नहुनु हो । यो समस्या पनि जोन निर्माण पछि हल हुन्छ होला ।” जोन कार्यक्रमले कृषि व्यवसाय प्रवर्द्धन, स्रोत केन्द्रको विकास, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, प्रविधि तथा प्राविधिक सहयोग, कृषि यान्त्रीकरण र साना सिँचाइमा सहयोग गर्दैछ । किवीकै लागि १० वर्षे परियोजना यहाँ शुरु भएको हो । “किवीको प्राविधिक सीप, दक्षता, किवीको गुणस्तर अभिवृद्धि, खेती विस्तारलगायतमा जोनको कार्यक्रम केन्द्रित छ,” किवी जोनका इलामका अध्यक्ष देउकुमार राईले भने – “किवीको बजारीकरण र स्थानीयस्तरमै प्रशोधन गर्ने, प्रशोधन सिक्ने पनि परियोजनाको कार्यक्रम छ ।” 

किवीको पकेट क्षेत्रका लागि १०, किवी ब्लकलाई १००, किवी जोनलाई ५०० र किवीको सुपर जोन घोषणा गर्न एक हजार हेक्टर क्षेत्र निर्धारण गरिएको छ । किवीलाई पनि अलैँची, अदुवा, अम्लिसो, अकबरे र चियाजस्तै व्यावसायिक बनाउन परियोजना सञ्चालन गरिएको हो । 

किवी जोनअन्तर्गत किवीका बिरुवामा ५० प्रतिशत, प्रयोगशाला सेवामा ८५ प्रतिशत, कृषि औजार तथा उपकरणमा ५० प्रतिशत, साना सिँचाइ पूर्वाधारमा ८५ प्रतिशत, कृषि व्यवसाय सेवा पूर्वाधारमा ८५ प्रतिशत र शतप्रतिशत प्राविधिक सेवामा किसानलाई अनुदान उपलब्ध गराइने कृषि प्राविधिक सहायक केशर मग्रातीको भनाइ छ । इलाममा प्रतिहेक्टर एक दशमलव ५३ मेट्रिक टन किवीको उत्पादकत्व रहेको छ ।

भाउ घटेर समस्या    

केही वर्ष अघि किलोको ५०० रुपैयाँसम्म रहेको किवीको मूल्य अहिले सरदर २०० रुपैयाँ झरेपछि किसान केही त्रसित भएका छन् । उत्पादन बढ्दै जाँदा मूल्य कम भएर लागत नै नउठ्ने पो हो कि भन्ने त्रास किसानमा फैलिएको हो ।

“राम्रो भाउ पाइन्छ भनेर खेती गरियो तर, अहिले भने निकै घटेको छ,” सन्दकपुर गाउँपालिकास्थित माइमझुवाका किवी किसान सनतकुमार खतिवडाले भने – “तर, अहिलेसम्म त ठिकै छ । अरू खेतीको भन्दा राम्रो मूल्य हो ।” यता, किवीका अगुवा किसान तारामणि खतिवडा भने उत्पादन नभएको बेला धेरै भाउ आए पनि अहिले भने उचित मूल्य आएको बताउछन् । उनले अब किवीको भाउ नघट्ने र घट्दा पनि त्यस्तो असर पर्ने किसिम नघट्ने जिकिर गरे । “सबै किसानले राम्ररी किवी खेती गर्दा हुन्छ, हाम्रो क्षेत्रको अर्गा्निक किवीको भाउ खासै घट्दैन,” उनले भने – “हाम्रो किवीको गुणस्तर राम्रो छ । त्यसैले पनि अन्तर्रा्ष्ट्रिय स्तरमा राम्रो भाउ पाउन सकिन्छ ।”

जिल्लाका १५ हजार जति किसान किवी खेतीमा संलग्न रहेको तथ्याङ्क छ । समुद्री सतहबाट एक हजार २०० देखि तीन हजार मिटरसम्मको उचाइमा खेती हुने किवी इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, तेह्रथुम, काठमाडौं, भोजपुर, सिन्धुपाल्चोकलगायत जिल्लामा उत्पादन भइरहेको छ । – किरण पौड्याल/रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा