आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

यूकेमा अब अन्तर्राष्ट्रिय विद्यार्थीले काम गर्न पाउने

प्रतिनिधिमुलक फायल फोटो : एजेन्सी

 

बीबीसी । अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो अध्ययन पूरा गरेपछि रोजगारीका लागि दुई वर्ष युकेमा बस्न पाउने नयाँ प्रस्ताव ब्रिटेनको गृहमन्त्रालयले गरेको छ ।

यो कदमले सन् २०१२ मा तत्कालीन गृहमन्त्री टरिजा मेले अन्तर्राष्ट्रिय विद्यार्थीले आफ्नो अध्ययन पूरा गरेको ४ महिनाभित्रै देश छाडिसक्नुपर्ने नियमलाई उल्ट्याएको छ ।

प्रधानमन्त्री बोरिस जोन्सनले अहिलेको परिवर्तनले विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने मौका पाउने र युकेमा नै आफ्नो करियरको सुरूवात गर्न सक्ने बताएका छन् ।

तर, अभियानकर्ताहरूको समूह माईग्रेशन वाचले यसलाई 'पश्चगामी' कदम भनेको छ ।

अहिलेको परिवर्तन अर्को वर्षदेखि युकेमा स्नातक तह वा त्योभन्दा माथिको तहमा अध्ययन सुरू गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हकमा लागु हुनेछ । अघिल्लो वर्ष त्यस्ता विद्यार्थीहरूको सङ्ख्या झण्डै ४ लाख ५० हजार रहेको थियो ।

त्यसका लागि विद्यार्थीहरूले नियमित रूपमा आप्रवासन जाँच गराउने ट्रयाक रेकर्ड भएका शिक्षण संस्थामा अध्ययन भने गर्नुपर्नेछ।अहिलेको प्रस्तावमा विद्यार्थीहरूले गर्न पाउने कामको प्रकृतिमा कुनै नियमन गरिएको छैन र अधिकतम सङ्ख्याको सीमा पनि तोकिएको छैन ।

बीबीसीका गृह मामिला सम्पादक मार्क इस्टन भन्छन्, "यदी सरकारभित्र आप्रवासनबारेको नयाँ सोच कस्तो छ भन्ने प्रमाण कसैलाई चाहिएको भए, सबै विदेशी विद्यार्थीहरूलाई अध्ययन पूरा गरेको दुई वर्षसम्म बस्न दिने भनेर आज गरिएको घोषणाले त्यसलाई प्रस्ट पार्छ ।"

"टरिजा मेले आप्रवासनको नियमसँग सम्बन्धित, उनकै शब्दमा, जोखिमपूर्ण वातावरणलाई देखाउँदै नेट माइग्रेसन भनिने आउने र फर्कने दरमा रहेको दशौँ हजारको भिन्नता नियन्त्रण गर्ने महत्त्वाकांक्षा सहित त्यो प्रावधान ल्याएकी थिइन् । बोरिस जोन्सनले त्यो लक्ष्यलाई खारेज गर्ने घोषणा गर्दै उत्कृष्ट र जेहेन्दार विद्यार्थीहरूलाई ब्रिटेनमा आउन, बस्न र काम गर्न प्रोत्साहन गर्ने वाचा गरेका छन् ।"

चान्सलर साजिद जाविदले ट्वीट गर्दै उक्त कदम समयानुकुल भएको भन्दै सरकारले वर्षौँ अघि उक्त 'मूर्खतापूर्ण नीति" खारेज गर्नुपर्ने थियो भनेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा