आइतबार, ५ असोज, २०७६ Sunday, 22 September, 2019

गोरखा दरबारको पुनः निर्माणले गति लिँदै

करीब चार सय वर्ष पुरानो यो दरबार क्षतिग्रस्त भएका कारण जगदेखि नै पुनःनिर्माण कार्य अघि बढाइएको हो ।
फाइल फोटो / वेब

 

गोरखा । गोरखा भूकम्प र त्यसपछिका पराकम्पनका कारण क्षतिग्रस्त गोरखा दरबारको पुनः निर्माणले गति लिएको छ ।

गोरखाका तत्कालीन राजा राम शाहको पालामा विसं १६८६ मा बनेको ऐतिहासिक गोरखा दरबार भूकम्पले ध्वस्त भएको थियो । करीब चार सय वर्ष पुरानो यो दरबार क्षतिग्रस्त भएका कारण जगदेखि नै पुनःनिर्माण कार्य अघि बढाइएको हो ।

विसं १९९० को भूकम्पले समेत खासै क्षति नपुगेको यो दरबारमा गोरखाको बारपाक केन्द्र भई  २०७२ वैशाख १२ मा गएको भूकम्पले ठूलो क्षति पुर्‍याएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुषालले जानकारी दिए । पुरातात्विक महत्वको दरबारको इतिहास, गरिमा र महत्वलाई दृष्टिगत गरी यसको प्राचीनस्वरुप र आकर्षणलाई कायम राख्दै पुरानै स्वरुपमा पुनः निर्माण गर्न लागिएको उनले बताएका थिए ।

कूल रु चार करोड ३७ लाखको लागतमा पचली सिभा जेभीले दरबार पुनःनिर्माणको ठेक्का पाएको छ । दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलका अनुसार विसं २०७२ को भूकम्पले दरबारको पूर्वी भागमा सबै भन्दा बढी क्षति पुर्‍याएको थियो । त्यस्तै ९० सालको भूकम्पमा पनि पूर्वी भागमा नै केही क्षति भएका कारण यो भागको भूगोल अन्य भन्दा कमजोर रहेको अनुमान गरिएको उनले बताए । यस बीचमा दरबार क्षेत्रस्थित गोरखानाथ मन्दिर, श्रीविद्या मन्दिर, चौघेरा दरबार, दमाइँ पाटीलगायतका स्थान मर्मत भइसकेको कट्टेलले जानकारी दिएका थिए ।

सम्झौता अनुसार आगामी मङ्सिरको अन्तिम सातासम्म दरबारको पुनःनिर्माण सकिसक्नुपर्ने छ । निर्माण सामग्री राख्ने स्थान अभाव आदिका कारण दरबारसँगै रहेको कालिका मन्दिरको पुनःनिर्माण शुरु हुन नसकेको जानकारी दिँदै उनले दरबारको पुनःनिर्माण सम्पन्न भएसँगै मन्दिरको पुनःनिर्माण कार्यले गति लिने बताए ।

अड्डा प्रमुख भुषालका अनुसार कालिका मन्दिरलाई पूरै भत्काएर भन्दा ‘रेट्रोफिटिङ’का माध्यमबाट सवलीकरण गर्न सकिने वा नसकिने सम्बन्धमा पनि अध्ययन भइरहेको छ । भूकम्पले क्षतिग्रस्त भएपनि मन्दिरमा दर्शनार्थी आउने क्रममा भने कुनै कमी नआएको मन्दिरका पुरेत हरिबाबु अर्यालले जानकारी दिएका थिए ।

उनका अनुसार कालिका मन्दिरको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन् । मन्दिरको नियमित पूजाआजाका लागि पाँच जना पूरोहित र १३ जना सुसारे रहनुपर्ने व्यवस्था छ । हाल तीन पूरोहित र सात सुसारे कार्यरत छन् । बिहान १०.०० बाट दिउँसो ३.०० बजेसम्म पूजाआजा हुने यस मन्दिरमा विशेष गरी बडादशैं र चैते दशैंमा विशेष पूजा हुने गर्दछ ।

पुरातत्व विभाग अन्तर्गत नै पूजारी तथा कर्मचारी राखिने र मन्दिरमा चढाइने दान तथा भेटी सङ्कलन गरी आम्दानी बाँध्ने गरिएको छ । दर्शनार्थीले चढाएको दान तथा भेटिबाट वार्षिक लगभग रु छ लाखसम्म आम्दानी हुने गरेको अर्का पूरेत लीलाबहादुर बोहोराले जानकारी दिए । मन्दिरमा भक्तजन भाकलका साथै सामान्य पूजाका लागि देशका विभिन्न स्थानबाट आउने गर्छन् । 

राजा राम शाहदेखि पृथ्वीनारायण शाहसम्मका राजाले यही दरबारमा राज्य गरेका कारण यसलाई नेपाली इतिहासको जीवन्त साक्षीसमेत मानिन्छ ।

भूकम्पले यहाँस्थित पशुपति मन्दिर,गुहेश्वरी मन्दिर, विद्या मन्दिर, पृथ्वीपति शाहको पालामा बनेको चौघेरा दरबार, शीतलपाटी, गोरखनाथका नगर्रचिल नगरा बजाउने दमाइँपाटी, बडादसैँमा पुरोहितलाई बरणी ‘निम्ता’ दिने पण्डितपाटीलगायतका संरचनामा क्षति पुर्‍याएका कारण केहीको निर्माण गरिसकिएको छ भने केही निर्माणका क्रममा छन् ।

झण्डै पाँच सय भन्दा बढी हेक्टर क्षेत्रफलमा फैलिएको गोरखा दरबार क्षेत्रमा रहेका सांस्कृतिक एवं ऐतिहासिक संरचना भूकम्पका कारण क्षतिग्रस्त भएका कारण यिनीहरूको पुनःनिर्माण कार्य क्रमिकरुपमा बढिरहेको प्रमुख भुषालले जानकारी दिएका थिए ।

पुरातात्विक महत्वका यस्ता सम्पदा इतिहासको साक्षी भएको र यी स्थलले पर्यटकीय रुपमा समेत अत्यन्त महत्व राख्ने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलिया बताउछन् ।

ऐतिहासिक एवं सांस्कृतिकस्थल आफैंमा महत्वपूर्ण पर्यटकीय गन्तव्य भएकाले यिनीहरूको संरक्षण र प्रवर्द्धनका माध्यमबाट पर्यटकको बसाइँ लम्ब्याउन सकिने उनले बताए ।  रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा