मंगलबार, ७ असोज, २०७६ Tuesday, 24 September, 2019

दक्षिण झर्नेको प्राथमिकतामा ‘स्याउ र ओखर’

“दैनिक तल झर्ने सयाैँ नागरिकहरुले आफूलाई खाने वा कोसेलीका रुपमा अरुलाई दिन स्याउ र ओखर साथमा लिएर झर्ने गरेका छन्”, देवकोटाले भने, “यसको वास्तविक अभिलेख असोजसम्म तयार गर्छौँ।”
फाइल फोटो / वेब

 

सुर्खेत । स्याउ भन्नेबित्तिकै जुम्ला नसम्झने शायद थोरै मान्छे मात्र होलान् ।

यतिबेला जुम्ला पुग्नेहरु रातो लटरम्म स्याउको बिरुवा देखेर निकै मोहित छन् । धेरैको सेल्फीको प्रमुख आधार स्याउ बनेको छ । स्याउको रुखमा पुगेर होस् या सिङ्गो बगैंँचामा, पाहुनाहरु स्याउ खानेभन्दा बढी तस्वीर खिंच्ने मोह राख्छन् । 

यस याममा नेपाल सरकारका उच्च अधिकारीदेखि विभिन्न निकायका प्रमुखसहित मुलुकका अन्य जिल्लाका नागरिकको जुम्ला पुग्ने लर्को छ । जुम्लामा यही भदौ १९–२९ गतेसम्मका लागि सञ्चालित ‘प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सव २०७६’ पनि आन्तरिक तथा बाह्य पर्यटकलाई त्यहाँ पुग्ने मुख्य अवसर भएको छ ।

मूलतः पातारासी, छुमचौर तथा राराताल भ्रमणका क्रममा जुम्ला पुगेकी तेह्रथुम जिल्ला निवासी पार्वता गौतमले जुम्ला हिमाली जिल्लाको सुगम उपत्यका भएको प्रतिक्रिया दिए । “सुनेको भन्दा स्वयम् पुगेर देखेको जुम्ला आकाश र धर्ती जस्तो फरक भेटे”, उनले भने, “यहाँ उत्पादन हुने सबै चीज प्राङ्गारिक रहेछन् । हरेकले एक पटक जुम्ला पुग्नैपर्ने ठाउँ रहेछ । यहाँ पुगेपछि मैले ध्यानपूर्वक सोचेँ कि कर्णालीको नाम सुनेर आतङ्कित भइहाल्नेहरु जुम्ला पुग्दा सुन्नुभन्दा भोग्नु धेरै ठूलो कुरा हो भन्ने बुझ्छन् होला । यहाँ पुग्नुपूर्व मैले पनि त्यही सोचेकी थिएँ ।” 

जुम्ला पुग्दा यहाँको बसाइँ, खानपान प्राङ्गारिक र मौलिक आतिथ्यता पाउँदा नेपाल थाहा पाउन कर्णाली आउनै पर्दोरहेछ भन्ने महसुस भएको गौतमले बताए । 

नेपालको पहिलो प्राङ्गारिक जिल्ला घोषित जुम्ला पछिल्ला वर्षमा साँच्चिकै स्याउ क्षेत्रमा रुपमा विकास हुँदै गएको छ । जुम्ला पुग्ने कोही जुम्ली स्याउ किन्न मात्र पाउँदा पनि हर्षले गद्गद् हुने गर्छन् । नेपालका अन्य बजारमा तेब्बर मूल्यमा खरीदबिक्री हुने जुम्ली स्याउ जुम्लामा पुग्नेहरु रु ५० मै प्राप्त गर्छन् । 

अहिले स्याउ किसानलाई स्याउ सङ्कलन गर्न भ्याई नभ्याई छ भने व्यापारीलाई स्याउ निर्यातको चटारो बढ्दै गएको छ । स्याउ व्यापारी छाडेर दक्षिण झर्ने जोसुकै २० केजीमाथि तीन/चार केजी परिमाणमा स्याउ लिएर मात्र तलतिर झर्ने गर्दै आएका छन् ।   

ओखरप्रति पनि हरेकको आकर्षण बढेको छ । प्रोटिनको मात्रा अत्यधिक पाईने जुम्लाको ओखरको चर्चा सबैले गर्न थालेका छन् । मष्तिष्क वृद्धिमा सघाउने ओखरको महत्व बुझ्नेहरुले जुम्लामा प्रतिदाना रु पाँचदेखि सात हालेर खरीद गर्ने गरेका छन् । हरेक दिन एक दाना ओखर खाने ध्येयले एक हजार दानाको रु पाँच हजारमा खरी गरी साथमा लिएर तल झरेको बाँके जिल्ला निवासी पैगुम्बर मल्लिकले जानकारी दिएका थिए ।

जुम्ला पुगेर फर्कने सबैले स्याउ र ओखरलाई प्राथमिकतामा राखेर लिने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटालेजानकारी दिए । “दैनिक तल झर्ने सयाैँ नागरिकहरुले आफूलाई खाने वा कोसेलीका रुपमा अरुलाई दिन स्याउ र ओखर साथमा लिएर झर्ने गरेका छन्”, देवकोटाले भने, “यसको वास्तविक अभिलेख असोजसम्म तयार गर्छौँ।”

उनले भने, “तीन हजार ४५० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ एक हजार हेक्टरमा मात्र फल्दा छ हजार १०० मेट्रिक टन स्याउ उत्पादन भएको छ । हाल दुई हजार मेट्रिक टन स्याउ निर्यात भएर रु १० करोड बराबरको आम्दानी जुम्ली स्याउ किसानले लिएका छन् ।” उनका अनुसार ओखर १५० हेक्टरमा लगाउँदा १५ मेट्रिक फलेको छ । त्यसबाट पनि यहाँका किसानले आर्थिक लाभ लिने भएका छन् ।

जुम्लामा हाल रेड, रोयल र गोल्डेन डेलिसियस जातका स्याउ उत्पादन हुँदै आएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । चालु आवमा जुम्लाले अनुमानित रु ३० करोड ५० लाख बराबरको स्याउ उत्पादन गरेको छ । 

स्याउसँगै ओखरको महत्व बढ्न थालेपछि स्याउ किसानलाई यस वर्षदेखि ओखरको खेतीतर्फ समेत उत्साहित गराएको छ । यसले आगामी वर्षमा ओखर खेती बढ्ने देखिएको छ । जुम्लामा उत्पादित रैथाने प्राङ्गारिक बाली तथा फलफूलले उचित बजार पाएमा यसले कर्णाली प्रदेश सरकारले लिएको प्राङ्गारिक प्रदेश निर्माणको सोच, नीति र आत्मनिर्भरताको लक्ष्य सफल हुने प्रदेश सरकारका पदाधिकारी बताउँछन् । रासस  

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा