अमेरिकी जासुसी संस्था ‘सिआए’को शीतयुद्धकालीन जासुस–परेवा, काग र डल्फिन

सीआईएले ती जनावरहरूले मानिसलाई गाह्रो हुने कतिपय जासुसी कामहरू गर्न सक्ने विश्वास गरेको देखिएको छ।

 

बीबीसी । अमेरिकी जासुसी संस्था सीआईएले शीतयुद्धमा कसरी उसले गोप्यरूपमा परेवा, कौवा र डल्फिनलाई जासुसी काममा प्रयोग गर्‍यो भन्ने बारेको दस्तावेज सार्वजनिक गरेको छ।

ती दस्तावेजहरूमा परेवालाई कसरी सोभियत सङ्घको सामरिक महत्त्वका स्थानहरूको तस्बिर खिच्न प्रयोग गरियो भन्ने बारे विवरण छ । साथै, कागलाई कसरी झ्यालमा जासुसी यन्त्रहरू खसाल्न र डल्फिनलाई पानीमुनिको जासुसी कार्यका लागि प्रयोग गरियो भन्ने बारेमा पनि जानकारी छ।

सीआईएले ती जनावरहरूले मानिसलाई गाह्रो हुने कतिपय जासुसी कामहरू गर्न सक्ने विश्वास गरेको देखिएको छ। सीआईएको मुख्यालयमा सर्वसाधारणहरूलाई नखोलिने एउटा सङ्ग्राहलय छ जसमा क्यामरा बाँधिएको परेवाको मूर्ति पनि छ।

सन् १९७० ताका तकाना नाम दिइएको जासुसी कार्यक्रम अन्तर्गत आफैँ तस्बिर खिच्ने सानो क्यामरा बाँधिएका परेवाहरूलाई कसरी प्रयोग गर्न सकिन्छ भनेर अध्ययन गरिएको थियो।

जहाँ छोडे पनि सयौँ किलोमिटर टाढा रहेको बासस्थानसम्म आइपुग्ने विशेष गुणले परेवालाई यो कामका लागि योग्य मानिएको थियो । परेवालाई सञ्चारका लागि प्रयोग गर्ने चलन हजारौँ वर्ष पुरानो भए पनि पहिलो विश्वयुद्धदेखि यसलाई जासुसी कार्यमा प्रयोग गर्न थालिएको मानिन्छ।

द्वितीय विश्वयुद्धमा ब्रिटेनले हजारौँ परेवाहरूलाई अधिनस्त युरोपका विभिन्न भागमा प्रश्नावलीसहित खसालेको र एक हजारभन्दा बढी परेवाहरू जर्मनीका हतियारको अवस्थाका बारेमा महत्त्वपूर्ण जानकारी लिएर फर्किएको मानिन्छ।

जर्मनविरोधी एउटा समूहको १२ पाना लामो प्रतिवेदन तत्कालीन ब्रिटिश प्रधानमन्त्री चर्चिललाई पठाइएको थियो । शीतयुद्धमा पनि ब्रिटेनमा परेवाको प्रयोगसम्बन्धी चर्चा भएको तर त्यो कार्यक्रम बन्द भएपछि सीआईएले त्यस्तो काम थालेको थियो।

अमेरिकाले भने अन्य जनावरहरूलाई पनि तालिम दिएको थियो। दस्तावेजका अनुसार कौवालाई ४० ग्रामसम्मका वस्तु ओसार्न प्रयोग गरिएको थियो । कागलाई ठूला भवनहरूको झ्यालमा जासुसी यन्त्रहरू राख्न र ल्याउन प्रयोग गरिएको थियो ।

रातो लेजर प्रकाशको सहायताले कौवालाई सञ्चालन गरिन्थ्यो । सीआईएले बिरालोमा पनि टाढासम्म सुन्न सकिने यन्त्र जडान गरेको थियो । सन् १९६० ताका नै सीआईएले डल्फिनलाई रुसी समुन्द्री किनारसम्म पुगेर जासुसी गर्न तालिम दिएको थियो । तर, यसको समस्या भनेको डल्फिनलाई तालिमकर्ताको हातबाट जासुसको हातमा सुम्पनुमा थियो । सीआईएको एउटा टोलीले डल्फिनलाई प्रयोग गरेर पानीमुनिबाट शत्रु जहाजलाई आक्रमण गर्न प्रयास गरेको थियो ।

डल्फिनलाई सोभियत सङ्घका पारमाणविक पनडुब्बी पत्ता लगाउने वा रेडियोधर्मी विकिरण पत्ता लगाउन परीक्षण गरिएको थियो । सीआईएले डल्फिनलाई पानीजहाजहरूमा सामान पुर्‍याउने कार्यमा पनि परीक्षण गरेका थिए ।

सन् १९६७ मा सीआईएले छ लाख डलरभन्दा बढी डल्फिन, चराहरू र कुकर एवम् बिरालोलाई जासुसी कार्यमा प्रयोग गर्ने प्रयासमा खर्च गरेको दस्तावेजमा देखिन्छ । तर, परेवा नै सबैभन्दा उपयोगी ठहरिएको र सन् १९७० देखि सीआईएले परेवाको प्रयोग शुरू गरेको थियो ।

परेवामा बाँध्ने क्यामरा ३५ ग्रामको, यसको डोरी पाँच ग्रामको रहेको र क्यामराको खर्च प्रतिक्यामरा दुई हजार डलर रहेको दस्तावेजमा उल्लेख छ । ती क्यामराले खिच्ने १४० वटा तस्बिरहरूमध्ये आधाजस्तो कामलाग्ने हुने देखिएको थियो ।

सन् १९७६ को एउटा दस्तावेजमा परेवालाई लेनिनग्रामा रहेको सोभियत पनडुब्बी निर्माणस्थलमा उडाउन तयारी गरिएको विवरण छ । तर, त्यसपछिका दस्तावेज सार्वजनिक भएको छैन।

जासुस परेवाले सोभियत सङ्घविरुद्ध कतिवटा जासुसी काम गरे र उनीहरूले के सामग्री सङ्कलन गरे? यो कुरा अझै गोप्य नै रहेको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा