सोमबार, २७ असोज, २०७६ Monday, 14 October, 2019

इलामको चिया मजदुरलाई न शनिबार, न सार्वजनिक बिदा ! सधैँ 'ज्यालामा ज्यादती'

सरकारी चिया बगान सङ्घाइ ग्रुपले लिजमा लिएको छ । ५० वर्षका लागि लिजमा लिएको सो ग्रुपले नै मजदूरलाई काम लगाइरहेको छ । 
फायल फाेटाे : वेब

–टीका खतिवडा (रासस),

इलाम । राधा दर्जीले चियाको बोट सुम्सुम्याएकी ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत टिन् । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन् ।

पिठ्यूँमा डोको र थाप्लोमा डोको अड्याउन प्रयोग भएको नाम्लो भिरेकी दर्जीका हात चियाका मुन्टा टिप्नमा नै व्यस्त हुन्छन् । पर्यटक आउँछन् र केही सोध्छन् । आँखा पर्यटकतिर गए पनि हातले काम बिसाउने फुर्सद हुँदैन दर्जीमा । २०४१ सालबाट चिया बगानमा कार्यरत दर्जीलाई न शनिबार लाग्छ न सार्वजनिक बिदाले छुन्छ । “के गर्नु बाँच्नका लागि केही त गर्नै पर्दो रहेछ”, दर्जीले भनिन् ।

बिहानको झिसमिसेबाट चिया कमानमा आउने दर्जी बेलुका आँखाले भ्याएसम्म कन्याम चिया बगानमा नै चिया टिप्न व्यस्त हुन्छिन् । सँगै काम गर्ने खिना बस्नेतको पनि दैनिकी उसै गरी बित्छ । बस्नेतले चिया बगानमा काम गरेको पाँच वर्ष बित्यो । बिहान उठेदेखि घरको सामान्य काम गरेर बगानमा आउनु हुने उनीहरु अबेलासम्म नै काम गर्छन् ।

खिना र राधाजस्ता ६१ जना कन्याम चिया बगानमा काम गर्ने मजदूरको दैनिकी प्रायः उस्तै गरी बित्छ । चिया टिप्ने, टिपेको चिया कारखानासम्म पुर्‍याउने र चिया टिप्ने मजदूरलाई निरीक्षण गर्नेसम्मका काम पर्छन्, उनीहरुको । मजदूरको हाजिरी उठाउने, उठाएको हाजिरी र टिपेको चियाको विवरण बडाहाकिमसम्म पुर्‍याउने काम बगानमा कार्यरत मजदूर स्वयंले नै गर्ने गर्छन् । ती सबै काम फरक फरक मजदूरलाई गर्नुपर्दछ । अर्थात् सबै मजदूरको आ–आफ्नै जिम्मेवारी छ चियाबगानभित्र ।

खान लाउन र छोराछोरी पढाउन यसै कमाइले मात्र सम्भव नभएको मजदूर बस्नेतले बताइन् । उनका अनुसार परिवारका अन्य सदस्यले अन्य काम गर्छन् । मजदूरले चिया टिप्ने र उनीहरुकोे निगरानी गर्ने जिम्मा मजदूरभित्रकै नाइकेलाई दिइएको छ । नाइकेले चिया टिप्नु पर्दैन, उनको संवाद सोझै कारखानाका छोटा हाकिमदेखि बडाहाकिमसम्म हुन्छ ।

उनीहरु बिहानैदेखि बेलुका अबेरसम्म चिया बगानमा नै भेट्टिन्छन् । बिहान चाँडैदेखि बेलुका अबेरसम्म चिया बगानमा काम गर्नुको कारण दैनिक १८ किलो चिया टिप्नुपर्ने बाध्यता हो । मजदूरले दैनिक १८ किलो हरियो चिया नटिपे कारवाही हुन्छ । बढी टिपे पुरस्कारको व्यवस्था छ । दैनिक १८ किलो चिया टिप्ने मजदूरले दैनिक रु ३८५ पाउने प्रावधान छ । यदि १८ किलोभन्दा माथि चिया टिपे प्रतिकिलो रु आठका दरले पारिश्रमिक बढ्छ तर दैनिक १८ किलो चिया नपिटे दैनिक ज्यालामा उसैगरी दैनिक नै प्रतिकिलो रु आठका दरले घट्दै जान्छ ।

यो ज्याला कन्याम चिया बगानमा कार्यरत मजदूरको मात्र नभएर इलाम र झापाका सरकारी सात वटा चिया बगानमा कार्यरत मजदूरको हो । काममा नआए दैनिक हाजिरी नहुने र ज्याला नपाउने गरेको मजदूरको भनाइ छ ।

निजी चिया बगानमा भने फरक–फरक मूल्य छ । निजी चिया बगानका मजदूरसँग सम्झौता गरेर आफुखुशी मूल्य निर्धारण गरिएको छ । तर, सूयोदय नगरपालिकाभित्रका चिया बगानले भने मूल्य सामूहिकरुपमा नै निर्धारण गरेका छन् । सूर्याेदय नगरपालिकाभित्रका निजी चिया कारखानाको छाता संगठन सूर्योदय टि एशोसिएशन प्रालिमा दर्ता भएका ५३ वटा चिया कारखानाले सरकारले तोकेकै रेटमा मजदूरलाई भुक्तानी दिइरहेका छन् । तर, जिल्लाका अन्य कारखाना तथा चिया बगानका मालिकले मजदूरलाई चित्त बुझाएर काम लगाएका छन् ।

चिया बगानअनुसार घटी र बढी चिया टिप्न सकिन्छ । बढी चिया पलाउने ठाउँमा हँसिया र कैँचीले पनि चिया टिप्ने गरिन्छ । हँसिया र कैचीले चिया टिपे पुनः ज्याला घट्ने गरेको छ । अर्थात् हाँसिया र कैचीको प्रयोग गरे दैनिक १० किलो बढी चिया टिपे मात्र न्यूनतम रु ३८५ ज्याला कायम हुने गरेको छ । हँसिया र कैचीको प्रयोग गरेर चिया टिपे दैनिक २८ किलो चिया टिप्नुपर्ने हुन्छ ।

सरकारी चिया बगानका मजदूरको ज्याला उनीहरुको आन्दोलनका कारण बढेको हो । मजदूरले यसै सिजनको शुरुमा ५० दिन आन्दोलन गरेर यो ज्याला कायम गराउनुभएको हो । त्यसअघि उनीहरुले दैनिक रु २६५ मा काम गर्दै आएका थिए । हाल ज्यालामा सन्तुष्ट मजदूरले आन्दोलन गरेर नै यो उपलब्धि हात पारेको बताएका छन् ।

पटक–पटक भएको सम्झौता भने कार्यान्वयन नहुने गरेको भन्दै चिन्ता भने छ, उनीहरुमा । हाल उनीहरुले बढेकै ज्याला पाउन थालेका छन् तर आन्दोलन पछि भएको सम्झौतामा भने गएको वर्षअर्थात् ०७४ साल साउन सुरुबाट नै हाल कायम भएको ज्याला लिने÷दिने सम्झौता भएको छ तर गएको वर्षको ज्याला कारखानाबाट तीन किस्ता गरेर दिने सम्झौतापत्रमा उल्लेख छ ।

मजदूरले सो बेला पाउने दैनिक रु २६५ भने पाएका छन् तर सोभन्दा माथि दैनिक रु ३८५ भएपछि बढेको पैसा भने कारखानाबाट लिन बाँकी रहेको मजदूरको भनाइ छ । बढेको ज्याला कार्यान्वयन हुन्छ या हुँदैन भन्ने चिन्ता भने उनीहरुमा अझै पनि छ । “तीन किस्ता गरेर दिने भनेको ज्याला अझै पाइएको छैन, दशैँ आउनै लाग्यो”, चिया मजदूर खिना बस्नेतले भनिन् ।

चियाको टिपाइ चैत अन्तिमदेखि कात्तिक अन्तिमसम्म हुने गरेको छ । यहाँ कार्यरत मजदूरले भने १२ महीनानै काम गर्नुपर्दछ । चिया पलाउन छोडेपछि चिया छाँटकाँट गर्ने, चिया गोडमेल गर्ने, मल लगाउने, काटिएका चियाका झिक्रा पन्छाउनेलगायतका काम यही कार्यरत मजदूरले हिउँदका समयमा गर्नुपर्ने हुन्छ । उनीहरुले सो बेला निश्चित ज्याला (३८५) मा काम गर्नुपर्ने हुन्छ । सो बेला थप काम गर्नु नपर्ने भएकाले थप रकमसमेत नपाइने गरेको मजदूरको भनाइ छ ।

सरकारी चिया बगान सङ्घाइ ग्रुपले लिजमा लिएको छ । ५० वर्षका लागि लिजमा लिएको सो ग्रुपले नै मजदूरलाई काम लगाइरहेको छ । २०५१ सालबाट कन्याम चिया बगानमा नै कार्यरत मजदूर भेषकुमारी राईले दुई वर्ष पछिदेखि नाइकेको जिम्मेवारी पाउनुभएको छ । नाइके राईका अनुसार चिया बगानमा कार्यरत मजदूरले मुख्य सिजनमा दैनिक ३५ किलोदेखि १०० किलोसम्म चिया टिप्ने गरेका छन् ।

उनका अनुसार मजदूरले हाल पनि २० देखि ५० किलोसम्म दैनिक चिया टिपिरहेका छन् । हाल कन्याम चिया बगानमा ६१ मजदूरले काम गरिरहेका छन् । इलाममा कन्याम, इलाम, चिलिमकोट र सोक्तिम चिया बगान सरकारी हुन् । झापाका बाह्दशी, टोक्ला र बर्ने चिया कमान गरेर नेपालमा सातवटा सरकारी चिया बगान छन् ।  रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा