सोमबार, ४ कार्तिक, २०७६ Monday, 21 October, 2019

जितियाका व्रतार्थीद्वारा नहाय खाय र तेलखरी विधि गरिँदै

मैथिल र थारू समुदायका महिलाको महान् लोकपर्व जितियाको अवसरमा व्रतार्थीले आज नहाय खाय र तेलखरी विधि गरिरहेका छन् ।
फाइल फोटो / वेब


    
जनकपुरधाम । मैथिल र थारू समुदायका महिलाको महान् लोकपर्व जितियाको अवसरमा व्रतार्थीले आज नहाय खाय र तेलखरी विधि गरिरहेका छन् ।

सो विधिअन्तर्गत व्रतार्थीहरू जलाशय स्नानादी गरी घिरौलाको पातमा तोरी वा सस्र्यूको तेल र पिना (खरी) चढाएर जिमूतवाहन देवताको पूजा गर्दछन्, जसलाई तेलखरी भनिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् ।

आजकै दिन सधवाले कोदो (मरूवा) रोटी र माछा खाने गर्दछन् , जसलाई माछमरूवा भनिन्छ । शाहाकारी हुनेले गम्हरी (कोसा भित्रै फल्ने धान) को खीर वा भात पनि खने चलन छ । 

नहाय खाय र तेलखरि विधिमा घिरौलाको पातमा नैवेद्य चढाइने गरिन्छ । नैवेद्यमा गहुँको पिठो र गुड (सक्कर) मिसाएर पकाइएको पकवान, चामल, दाल, दही, च्यूरा, खीर, रोटी, दूध, चीनीजस्ता वस्तुहरू कुलवंश, रीति र परम्पराअनुसार चढाइने गरिन्छ । नैवेद्यमा पान, सुपारी, काँक्रो, केराउ (अँकुरी) र अक्षता (चामल) पनि चढाइने गरिन्छ । यसमा चिल र स्यालका भागहरू राखिन्छन् । यसका साथै दिवङ्गता महिला पितृ वर्गका लागि नैवेद्यका भागहरू राखिने चलन छ ।

सोही तिथिको रातिको अन्तिम पहरमा व्रतार्थी दही, च्यूरा, फल, मिष्ठान आदि खाने गर्दछन्, जसलाई ‘ओठङ्न’ भनिन्छ ।

यसरी खाइसकेपछि व्रतार्थी जलपात्रमा जल लिई घरको ढोकाको दैलोको छेउमा भित्तामा अडेस लगाएर पानी पिउने गर्दछन् । जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार बसिन्छ ।

नवमी तिथिमा स्नानादी गरी पवित्र भई पूर्ववत् जिमूतवाहनलाई नैवेद्य अपर्ण गरी प्रसाद ग्रहण गरिन्छ । यसरी व्रतको पारण गरिन्छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा पनि लिइन्छ ।

पण्डित गणेश झाका अनुसार असोज ३ गते शुकबार तेलखरी, पितराइन र रातिको अन्तिम पहरमा (४ बजेदखि ५ः३० बजेभित्र) ओठङ्न विधि र सूर्योदय भएपछि अष्टमी तिथिमा (शनिबार) व्रत शुरू भई आइतबार दिउँसो ३ देखि ४ बजेपछि पारण गरिने योग रहेको छ ।

मिथिला पचाङ्गअनुसार जितियामा प्रदोष व्यापनी अष्टमीको प्रधानता रहेका कारण यो व्रत यसपटक षष्ठी उपरान्त सप्तमीका दिन (शुक्रबार) रातिको अन्तिम पहरमा गरिने विधि ओठङ्न रहेको छ । पहाडी समुदायका महिलाले दर खाने झैँ मैथिल महिलाले ओठङ्न विधि गर्दछन् ।

जितिया पर्व मैथिल संस्कृततिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई जिमूतवाहन व्रत पनि भनिन्छ । सन्तानको सुख, शान्ति र चिरायुका लागि यो पर्व मनाउने चलन छ । जितिया पर्व यसकारणले पनि प्रसिद्ध छ कि यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको छ । 

 जिमूतवाहनको पूजा

अष्टमीका दिन बर्तालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अर्घ अपर्ण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्याह्नतिर टोलभरिका महिलाले एक ठाउँमा भेला भएर जिमूतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ, जिमूतवाहन देउताका बारेमा एउटी बर्तालु महिलाले कथावाचन गर्छन् र सबैले कथा श्रवण गरेपछि आ–आफ्ना घर फर्किन्छन् । साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । 

त्यो पोखरीको डिलमा पाकडी रुखको सानो हाँगा गाँड्नुका साथै हाँगामा माटोकोे चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाउँछन् । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमूतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमूतवाहनको बर्तालु महिलाले पूजापाठ गर्छन् । 

जिमूतवाहन को हुन् ?

भविष्य पुराणमा वर्णन गरेअनुसार शालिवाहन राजाका पुत्र जिमूतवाहन थिए । उनीमाथि महादेवको सीमकृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवान्बाट प्राप्त गरेका थिए ।

चिल र स्यालको पनि पूजा

हिन्दूधर्मको विभिन्न पर्वमा कतिपय चरा र जनावरलाई विशेष महत्व दिएर पूजा गरेर सम्मान दिने परम्परा रहेको छ । सोहीअनुरुप गाई, परेवा, काग, कुकुर, हाँस, बाघ, मुसोलगायतका जनावरको पूजा गरिन्छ भने जितिया पर्वमा चिल र स्यालको पूजा गर्नुपर्ने हुन्छ । – हिमांशु चौधरी /रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा