मंगलबार, २८ असोज, २०७६ Tuesday, 15 October, 2019

विद्यालयमा महिनावारी हुने छात्राका पीडा 

गाउँकै जनजागृति आधारभूत विद्यालयमा पढ्ने मुगालाई महिनावारी भएको अवस्थामा विद्यालयको मूलढोका भन्दा अगाडि जानसक्ने आँट आउदैन । 
सांकेतिक फाइल फोटो / वेब

 

जुम्ला । तातोपानी गाउँपालिका–८ बाँरागाउँकी १८ वर्षीया मुगा रावत कक्षा ७ मा पढ्छिन् । गाउँकै जनजागृति आधारभूत विद्यालयमा पढ्ने मुगालाई महिनावारी भएको अवस्थामा विद्यालयको मूलढोका भन्दा अगाडि जानसक्ने आँट आउदैन ।  

उक्त विद्यालयमा अध्ययनरत मुगालगायत छात्रा विद्यालयको मूलढोका नजिकको कुनामा बसेर अध्ययन गर्ने गर्दछन् । कक्षा कोठाभित्र नगएर बाहिरै प्रचण्ड गर्मीमा बसेर अध्ययन गर्ने गर्दछन् भने पानी परेपछि आधा पढेरै घर जानुपर्ने बाध्यता छ । “महिनावारी भएकी छु, कक्षाभित्र जाँदिन, देउता रिसाउँछन्, विद्या हराउँछ, बिरामी हुन्छु,  त्यसैले स्कुलको मूलढोका भन्दा अगाडि कक्षाकोठा भित्र जान्नँ”, उनले भनिन् । महिनावारी भएको कम्तीमा पाँच दिन कक्षाभित्र नजाने गरेको उनले बताइन् । 

मुगासँगै खुल्ला चौरको घाममा बसिरहेका हाँसकुरा रावत, अनिसा रावत र अञ्जली रावतले पनि आफूहरु महिनावारी भएको अवस्थामा विद्यालय नआउने र आए पनि कक्षाकोठा भित्र नजाने गरेको बताए । हाँसकुराका अनुसार कतिपटक त बाहिर बसेको बेला पानी परेर बीचमै पढाइ छोडी घर जानुपरेको छ । “हप्ता दिनभित्र कुनै न कुनै एकजना छात्रा महिनावारी हुन्छन्, महिनावारी भएर विद्यालय आएपछि मूलढोका भन्दा अगाडि जाँदैनौँ, साथी एक्लै बाहिर बसेको देख्दा सबै विद्यार्थी चौरमै बसेर अध्ययन गर्छौँ”, उनले भनिन् ।  

विद्यालय परिसरमै विभिन्न देवीदेउताका मन्दिर छन् । दुई वर्षअघि पहिला महिनावारी भएर विद्यालय आउने छात्राहरु रेश्मा रावत, पद्मकली रावत र रिसिमा रावत बिरामी हुँदा धामी झाँक्रीले विद्यालयमा महिनावारी हुँदा छोइछिटो भई देवता रिसाएको भनेपछि त्यहाँका किशोरीहरु मानसिकरूपमै छाउपडी प्रथाको सिकार भइरहेका छन् । 

जनजागृति आधारभूत विद्यालय परिसरभित्र देउतै देउताका मन्दिर छन् । विद्यालय स्थापना गर्नु पहिले नै त्यहाँ देवीदेवता मन्दिर भएको ठाउँ हो । विसं २०५१ पछि उक्त ठाउँमा विद्यालय स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष शेरबहादुर रावतले बताए । उनी महादेउका झाँक्री पनि छन् । उनका अनुसार अन्य ठाउँमा विद्यालय स्थापनाका लागि जग्गा नपाएपछि यही ठाउँमा विद्यालय निर्माण गरिएको हो । महिनावारी भएका छात्रा र शिक्षिका देवताको मन्दिर भएको ठाउँमा र कक्षाकोठा भित्र जाँदा बिरामी हुने समस्या बढिरहेको उनले बताए । उनले भने, “यस्ता कुरालाई विश्वास गर्ने कि नगर्ने भन्ने विषयमा द्विविधा भएको छ ।”

शिक्षिका पनि कक्षा कोठामा जाँदैनन्

‘छुईप्रथा एक अन्धविश्वास होे । गोठमा बस्नु हुँदैन, महिनावारी भए पनि विद्यालय छुटाउनु हुँदैन, सरसफाइमा ध्यान दिए देउता रिसाउँदैनन्’ भनेर दैनिक कक्षामा पढाउने शिक्षिका नै महिनावारी हुँदा कक्षाकोठा भित्र जाने गरेका छैनन् । यस्तो घटना सुन्दा जो सुकैलाई अचम्म लाग्न सक्छ । तर यो जुम्लाको बारागाउँको वास्तविकता हो । 

विद्यालयमा चार शिक्षिकाले अध्यापन गराउँदै आएका छन् । निमित्त प्रधानाध्यापकसमेत रहेकी ज्ञानकुमारी शाही महिनावारी हुँदा कक्षा कोठाभित्र जादैनन् । एकपटक बिरामी हुँदा उनलाई पनि धामीझाँक्रीले ‘महिनावारी हुँदा विद्यालयमै गएकाले देउता रिसाएका हुन् । अब त्यसो नगर्नु’ भनेका रहेछन् । त्यसै दिनदेखि उनीलगायत त्यस विद्यालय पढाउने तिरुवा चलाउने, गरिमा चलाउने र दीपा रावत पनि महिनावारी हुँदा कक्षा कोठाभित्र नजाने र विद्यार्थीलाई विद्यालयको मूलढोकाको छेउमा राखेर पढाउने गर्छन् ।  

“शिक्षिका नै देवताको त्रासले कक्षामा जाँदैनन् भने किशोरीहरु कसरी जाउन् ?”, निमित्त प्रअ शाहीले भने, “कसैले महिनावारी हुँदा कक्षा कोठाभित्र जाने र छुइछिटो गरेपछि तत्काल खुट्टा नचल्ने, बोली नआउने, पैतला फर्किने, हातगोडा खुम्चने समस्या प्रत्यक्ष देखेका छौँ ।” महिनावारी भएको बेला पढाउन निकै समस्या भएको उनको भनाइ छ । वर्षमा २२० दिन खुल्ने विद्यालयमा महिनावारीका बेला करीब सबै शिक्षिका र किशोरीहरु विद्यालय बाहिरै बस्छन् भने कतिपय विद्यालय नै आउँदैनन् । 

पाँच दिनपछि मात्र कक्षा कोठाभित्र जाने 

किशोरीहरू पहिला महिनावारी हुँदा सात दिनसम्म गोठमै बस्थे । गोठमा बस्दा रोग सङ्क्रमणको खतरामा महिलाहरु पर्ने गरेका थिए । पछिल्लो समय चेतनाको विकास हुँदै गएको पाइन्छ भने सरकारी तथा गैरसरकारी निकायले पनि छाउपडी न्यूनीकरण गर्न करोडौँ बजेट खर्च गरेका छन् । तर जनजागृति विद्यालयमा पढ्ने किशोरी र पढाउने शिक्षिकाहरुको मानसिकता बदल्न कुनै कार्यक्रमले नसक्दा विद्यालयमै पाँच दिनसम्म महिनावारी बार्ने चलन छ । 

विद्यालयमा छाउपडी प्रथा कायम हुँदा घरमा बस्न सजिलो तर विद्यालय आउन निकै असहज भएको छ । घरमा दुई÷तीन दिनभित्र छिर्ने शिक्षिका तथा किशोरीहरु विद्यालयको कक्षा कोठामा भने पाँच दिन नभएसम्म छिर्दैनन् । निमित्त प्रअ शाहीले भने, “जति गरे पनि देउताकै त्रास छ । विद्यालयभन्दा घर सजिलो हुन थालेको छ ।” सबै मिलेर विद्यालय सार्नुको विकल्प नरहेको उनको भनाइ छ । 

विद्यालयका प्रत्येक कक्षा कोठाभित्र देउताका तस्वीर राखेर पूजा गरिन्छ । विद्या दिउन् र विद्यार्थी बिरामी नहुन् भन्ने उद्देश्यले विद्यार्थीले कक्षा कोठभित्र देउताको तस्वीर राखी दैनिक पूजा गर्ने गरेका हुन् । 

विद्यालय सार्नुको विकल्प छैन

विसं २०५१ मा स्थापना भएको सो विद्यालयमा छाउपडी प्रथाको अवस्था विकराल हुँदै गएपछि त्यहाँका स्थानीयवासी मन्दिरभन्दा विद्यालय सार्नुको विकल्प नरहेको बताउँछन् । “मन्दिर सारेको खण्डमा गाउँलाई नै अनिष्ट हुन्छ, धेरै बिग्रिसकेका छन् ।” महादेव देवताका मूलझाँक्री तथा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रावतले भने, “मन्दिर कुनै हालतमा सर्दैन, विद्यालय सार्नुपर्छ ।” 

महिनावारी भई बिरामी भएका सबै शिक्षिका तथा किशोरीलाई उनै मूलझाँक्री रावतले झारफुक गर्छन् । झाँक्री रावतले नै सबै बिरामीहरुलाई विद्यालयमा छोइछिटो हुँदा देउता रिसाएको भन्दै बिरामी ठीक पारेको पनि शिक्षकहरुले  बताउने गरेका छन् । तर २१ औँ शताब्दीमा पनि छाउपडी प्रथाको विषयलाई बुझ्न नसकी शिक्षण संस्थामै छुइप्रथाको विकराल रूप फैलिएको केही स्थानीयवासीले बताएका छन् ।  

“लाखौँमा निर्माण गरिएका संरचना भत्काएर अन्त सार्न सम्भव छैन, नसारौँ दैनिक विद्यार्थी विद्यालय नआउने समस्या छ”, तातोपानीका प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरीले भने, “अन्धविश्वासलाई आत्मसात गर्दै पढाइमा बाधा पुर्‍याउनु गलत हो ।” समुदायस्तरमा अझै चेतनाको अभाव रहेछ भन्ने स्पष्ट भएको उनको भनाइ छ । 

जुम्लाका १७ गाउँबस्ती छुइगोठ मुक्त गाउँ घोषणा भइसकेका छन् । “महिनावारी हुँदा गोठ बस्नु हुँदैन, स्वास्थ्य जोखिममा पर्छ भन्ने सबैलाई अवगत छ”, गिरीले भने, “सामाजिक अन्धविश्वासको जालोलाई विद्यालयमै कायम रहेको देख्दा परिवर्तन हेर्न शताब्दी कुर्नुपर्ने आभास भएको छ ।” रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा