मंगलबार, २८ असोज, २०७६ Tuesday, 15 October, 2019

गोरखा दरबारबाट हनुमानढोकाका लागि फूलपाती पठाइयो

 फूलपातीको डोली बा २० च ४३९४ नम्बरको निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिएका छन्  ।
फायल फोटो : वेव

 

गोरखा  । दरबारस्थित दशैँघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।

विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहानको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन् । फूलपातीको डोली बा २० च ४३९४ नम्बरको निजी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिएका छन्  ।

गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पुर्‍याइएपछि आज साँझ हर्षबढाइका साथ हनुमान ढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन छ । गोरखा दरबारको दशैँ घरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ ।  

तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारबाट राजकाज शुरु गरेदेखि वर्षेनी बडादशैँको सातौँ दिन गोरखा दरबारको दशैँघरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पुर्‍याएर भित्र्याउने प्रचलन रहँदै आएको छ ।

गोरखा दरबारको दशैँ घरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेले बोकेर ल्याई त्यहाँबाट हनुमान ढोका दरबार पठाइएको हो । गोरखा दरबार हेरचाह अड्डाले गोरखा नगरपालिकाको सहयोग र सतिपिपलको एकता युथ क्लबको संयोजनमा फूलपातीको डोली हनुमानढोका दरबार पठाएको हो ।

दरबारस्थित दशैँ घरबाट बाजागाजा सतिपिपल चौतारासम्म र्‍याली निकाली गोरखाबाट फूलपातीको बढाइँ गरिएको उनले बताएका छन् । यस्तै युनिटी अफ गोरखा, गोरखा धिमे पुच (नेवार समूह) का युवाले दरबारबाट सतिपिपलसम्म बाजागाजासहित नृत्य प्रस्तुत गरेका थिए ।

सतिपिपलबाट युवाले मोटसाइकल र्‍यालीसहित फूलपातीको डोली बोकेको गाडीलाई स्कर्टिङ गरी हनुमान ढोकामा फूलपाती पठाएका हुन् ।

फूलपातीबाट काठमाडौं पठाउनुपूर्व सतिपिपलको फूलपाती चौतारामा आयोजित कार्यक्रममा नगर प्रमुख राजनराज पन्त, वडा नं ६ का अध्यक्ष नारायण अर्याललगायतले हनुमान ढोकामा फूलपाती पठाउने प्रचलनको चर्चा गरेका थिए । रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा