नेपालले हङकङलाई ४ विकेटले हरायो, विनोदले अर्ध-शतक हान्दा करणले ४ विकेट लिए

विनोद भण्डारीले ४८ बलमा ३ छक्का र ४ चौकाको मद्दतमा अविजित ५८ रनको पारि खेले।
विनोद भण्डारी फोटो : इएसपिएन

 

काठमाडौं। पाँच राष्ट्र सम्मिलित 'पेन्टागुलर' टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत आफ्नो पहिलो खेलमा  नेपालले हङकङलाई चार विकेटले पराजित गरेको छ। 

हङकङले दिएको १२६ रनको सामान्य लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। नेपालका लागि विनोद भण्डारीले ४८ बलमा ३ छक्का र ४ चौकाको मद्दतमा अविजित ५८ रनको पारि खेले। नेपालका लागि आरिफ शेफले २१ रन, सोमपाल कामीले १३ र पवन सराफले १० रन बनाए भने अन्य कुनै ब्याट्सम्यानले दोहोरो अङ्क बटुल्न सकेनन्। 

टस जितेर फिल्डिंग गर्ने निर्णय गरेको नेपालको लागि करण केसीले एकै ओभरमा तीन विकेटसहित जम्मा ४ विकेट लिएका छन् । के.सी.ले खेलको पाँचौँ ओभरको तेस्रो, पाँचौ र अन्तिम बलमा विकेट लिँदै  आक्रामक सुरुवात गरेको हङकङको इनिङ्ग कमजोर बनाएका छन्। 

ओमानकाे अल अम्रेट क्रिकेट मैदानमा भएको खेलमा हङकङका लागि वार्कस बार्कतले ३७ रन, किनचित शाहले ३१ रन र निजाकत खानले २३ रन बनाउनु बाहेक अरु ब्याट्सम्यानले उल्लेख्य योगदान गर्न सकेनन्। 

नेपाली टोली सिंगापुरमा त्रिकोणात्मक टि-ट्वान्टी सिरिज खेलेर  ओमान पुगेको हो । सिंगापुरमा नेपालले जिम्बावेसँगको दुवै खेल गुमाएको थियो । नेपालले सिंगापुरलाई पहिलो खेलमा हराएको थियो । अर्को खेल भने वर्षाका कारण रद्द भएको थियो । 

विश्व कप छनोटको तयारीमा रहेको हङकङ र १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाल बिचको प्रतिस्पर्धा रोमान्चक हुने पक्का छ  । तर बाबर हायातलगायत केहि अनुभवी खेलाडी हङकङ टोलीमा नरहेका कारण युवा खेलाडीहरु सम्मिलित नेपालका लागि केहि सहज हुने अनुमान गरिएको छ ।

नेपालले अर्को खेल नेदरल्याण्डसँग सोमबार खेल्नेछ । ओमान क्रिकेटले आयोजना गरेको सिरिजमा नेपाल, आयोजक ओमान, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।

 


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा