मंगलबार, २८ असोज, २०७६ Tuesday, 15 October, 2019

महाअष्टमीमा विशेष पूजा

दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिनका रुपमा बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिएको छ ।
फाइल फोटो / वेब


काठमाडौं । दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिनका रुपमा बडादशैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिएको छ ।    

आश्विन शुक्ल अष्टमीको दिनलाई महाअष्टमी भनिन्छ । नेपालीहरुले बडादशैँका रुपमा आजैदेखि विशेषरुपमा दुर्गा भवानीको पूजा–आराधना गर्छन् । आश्विन शुक्ल प्रतिपदा अर्थात् घटस्थापनाका दिनदेखि शुरु हुने दशैँमा केहीले त्यसै दिनदेखि विशेष पूजा–आराधना शुरु गर्छन् ।

कतिले आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका दिनदेखि दुर्गा देवीको विशेष पूजा आराधना शुरु गर्छन् । फूलपातीका दिनसमेत विशेष पूजा आराधना नगर्नेले भने आजैदेखि शुरु गर्छन् । कृषि कर्म गर्ने धेरै नेपालीले आजदेखि विशेष रुपमा दुर्गा देवीको उपासना गर्छन् ।   

आजको दिन शास्त्रसम्मत रुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजाआजा गरिएको छ । दुर्गा स्थापना गरिएको घरघरको पूजा कोठा एवं दशैँ घरमा दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवमन्दिर र यज्ञयज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताए ।

“सात्विक, राजस र तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ, सात्विक जल, चन्दन, अक्षतालगायत षोडशोपचारले गरिने पूजा हो,  सात्विक र पशु बलिसहितको पूजालाई राजस पूजा भनिन्छ, राजसका साथै मदिरा पनि चढाएर गरिने पूजालाई तामस पूजा भनी शास्त्रमा परिभाषित गरिएकाले पशुबलि पनि शास्त्रीय हो”, उनले भने । 

ब्राह्मणका लागि भने पशुबलि वर्जित गरिएको पनि अध्यक्ष गौतमले बताए । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशुबलिको महत्व रहेको धर्मशास्त्रविद्हरुको भनाइ छ । 

दुर्गा सप्तशती चण्डीको आठौँ अध्यायमा पनि यससम्बन्धी चर्चा भएकाले पशुबलिलाई अशास्त्रीय भन्न नमिल्ने नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख डा देवमणि भट्टराई बताउछन् । 

“राज्य सञ्चालकले त प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशुबलि विधिपूर्वक दिनैपर्छ भन्ने शास्त्रीय वचन छ”, उनले भने । यी तीन वटा शक्ति दुर्गा भवानीबाट मात्र प्राप्त गर्न सकिने ‘निर्णयसिन्धु’ लगायत ग्रन्थमा उल्लेख गरिएको छ । यसै कारण आजको दिन विधिपूर्वक पशुबलि दिइने गरिएको हो ।

प्रभु शक्तिले राज्यकोषको सुदृढीकरण, मन्त्र शक्तिले राज्य सञ्चालनको नीति निर्धारण र उत्साह शक्तिले सेना एवं प्रहरीलाई उत्साहित बनाउने भएकाले राज्यकै तर्फबाट महाअष्टमीमा विशेष आराधना गर्नुपर्ने शास्त्रीय मान्यता छ । यी तीनवटै शक्ति वृद्धिका लागि राज्यले आज राति कालरात्रि पूजा गर्नैपर्ने शास्त्रीय वचन रहेको पनि धर्मशास्त्रविद् गौतमले सुनाए ।

आजैका दिन राति कालरात्रिका रुपमा पशुबलिको विधि र पूजाआजासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्व छ । ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान छ ।

आजका दिन उपत्यकाभित्रका शक्तिपीठहरु गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, वज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाईलगायत मन्दिरहरुमा पनि बलिसहित पूजाआजा गर्नेहरुको बिहानैदेखि भीड लाग्ने गर्दछ ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती लगायतका शक्तिपीठहरुमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको घुँइचो लाग्दछ । 

आजको दिन कलपुर्जा, हातहतियार र सवारी साधनलाई विशेषरुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशुबलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो । 

देवीका शस्त्रअस्त्रसहित चतुरङ्गीणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबलि नचढाउनेहरुले भने आज पूजा कोठामा आ–आफ्नो कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्ने गर्दछन् ।

आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ । उपत्यकामा दशैँको मुख्य दिन आएसँगै चहलपहल कम छ । सडकमा कमै सवारी गुडेका छन् । करीब २५ लाख मानिस दशैँ मनाउन आ–आफ्नो थातथलो फर्किएकाले राजधानी सुनसान बनेको हो । रासस 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा