सोमबार, २७ असोज, २०७६ Monday, 14 October, 2019

निवर्तमान सभामुख महरालाई प्रहरीद्वारा सभामुख निवासबाटै पक्राउ

नयाँ मुलुकी फौजदारी संहिता अनुसार कसैलाई पक्राउ गर्नुपूर्व अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्छ।
निवर्तमान सभामुख कृष्णबहादुर महरा। फोटो : अल जजिरा

 

काठमाडौं। संसद्‌की महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ गरेको छ।

महिला कर्मचारी शाहीले हिजो महरा विरुद्व महानगरीय प्रहरी वृत्त, बानेश्वरमा जबरजस्ती करणी उद्योगमा उजुरी दिएकी थिइन्। जाहेरी परेपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न आज मात्रै अनुमति दिएको थियो । 

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर प्रहरी महरालाई पक्रन उनकै निवास पुगेको थियो।अदालतको आदेशसँगै महरालाई हिरासतमा लिएर सो घटनामाथि थप छानबिन गर्न प्रहरीलाई बाटो खुलेको थियो। नयाँ मुलुकी फौजदारी संहिता अनुसार कसैलाई पक्राउ गर्नुपूर्व अनिवार्य रूपमा अदालतको अनुमति लिनुपर्छ।

गत सोमबार शाहीले आफूमाथि महराले यौन दुर्व्यवहार गरेको दाबी गर्दै विभिन्न सञ्चारमाध्यममा बयान दिएकी थिइन् । उनले गत आइतबार राति पानै ९ बजे सुविधानगरस्थित आफ्नो कोठामा भएको भनिएको घटनापछि प्रहरी समेत उनको घरमा पुगेको थियो ।

तर महराको राजीनामा आएसँगै शाहीले बयान फेर्दै महरा आफ्नो कोठामा नआएको र रिसको झोकमा परेको बताएकी थिइन्। त्यस्तै श्रीमानसँग छलफलपछि मात्र के गर्ने निष्कर्षमा पुग्ने बताएकी उनले स्वास्थ्य परीक्षण गर्न पनि मानेकी थिइनन् ।

यसअघि शाही र उनका श्रीमानले अगल–अलग बस्ने भन्दै सम्बन्ध विच्छेदको प्रक्रिया सुरु गरेको समेत बताएका थिए। तर आज भने शाही र उनका श्रीमान् दुवै आएर बिहीबार महरा विरुद्ध किटानी जाहेरी दिएका छन्।

बलात्कार आरोप लागेपछि महराले गत सोमबार नै सभामुख पदबाट राजीनामा दिएका थिए। महराले आफू शाहीको कोठामा नगएको दाबी गर्दै आएका छन्। प्रहरीले घटनास्थलबाट रक्सीको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तलुवा बरामद गरेको थियो। 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

सम्बन्धित समाचार
धेरै पढिएको
ट्वीटरमा